टेन्सन फ्री लाइफ

उदास, निरश र फुस्रो अनुहार । गहिरिँदै गएका चमकहीन आँखा । र, कलेटी परेका ओठ । बानेश्वरका श्यामले दबेको आवाजमा आफ्नो समस्या यसरी बताए डा. साब, निन्द्रा लाग्दैन, भोक पनि लाग्दैन । टाउको भारी हुन्छ । हुँदाहुँदा अहिले त मान्छे देख्दा पनि डर लाग्न थालेको छ । घरबाहिर निस्किन पनि गाह्रो हुन थाल्यो ।

श्यामको पारिवारिक, आर्थिक तथा पेसागत पृष्ठभूमिबाट उनी व्यावहारिक कारणले गर्दा निरन्तर तनावमा फसेको देखियो । समयैमा नै तनाव व्यवस्थापन गर्न नसक्दा उनी मानसिक रोगको चरणमा पुगिसकेका थिए । हुन पनि जग्गा कारोबार गर्दै आएका श्याम चर्को आर्थिक ऋणमा फसेका रहेछन् । बैंकको कुरै छाडौं, उनले पैसा सापटी लिन कुनै आफन्त पनि बाँकी राखेका रहेनछन् । ऋणीहरूको दबाबका कारण सबैसँग भाग्दै–लुक्दै हिँडेका श्याम महिनौंसम्म एक्लै कोठा लिएर बसेका रहेछन् । एक्लै बस्दा र निरन्तर चिन्ता गर्दा उनको आत्मबल ध्वस्त हुँदै गयो र समस्या देखियो ।

श्याम मात्र होइन, हिजोआज तनावले हरेक मानिस कुनै न कुनै रूपमा पीडित छन् । वास्तवमा जताततै तनाव नै तनाव छ । सहर बजारमा मात्र होइन, गाउँघरतिर पनि तनाव छ । बालबालिकादेखि वृद्धवृद्धा सबैलाई तनाव नै तनाव । विद्यार्थीलाई पढाइ लेखाइको तनाव । युवालाई रोजगार, अघि बढ्ने प्रतिस्पर्धा र प्रेम सम्बन्धको तनाव । गृहणीलाई घरायसी कामकाजको तनाव । पेसाकर्मीलाई पेसाको तनाव । व्यापारीलाई कारोबारको तनाव । परिवारमा आफसी सम्बन्धको तनाव । वास्तवमा तनावले हिजोआज हरेक समाज, हरेक संस्कृति, हरेक विग र लिंगलाई आक्रान्त पारेको छ ।

तनाव के हो ?
चिकित्सकीय भाषामा तनाव मानसिक रोग होइन तर यो नै रोगको कारक भने हुन सक्छ । आफ्नो क्षमता र हैसियतभन्दा जटिल चुनौतीको परिस्थिति तयार भयो भने मान्छेमा तनाव सिर्जना हुन्छ । आफ्नो स्रोत र साधनले समाधान गर्न नसकिने यस्तो अवस्थामा स्वाभाविक रूपमा मान्छे चिन्तानुभूतिमा पर्छ । मन, मस्तिष्क र शरीरसापेक्ष भएकाले तनावको प्रभाव मान्छेको बोली, व्यवहार र सोचमा समेत पर्न सक्छ । जब मान्छे मानसिक तनावमा हुन्छ, त्यतिबेला शरीरमा अनावश्यक हर्मोन तथा रासायनिक पदार्थ निस्किन्छन् । जस्तोः एडरेनल ग्लान्डबाट कर्टिसोल नामको हर्मोन र एडरेनलिन नामक पदार्थ निस्किन्छन् भने पाचन थैलीबाट ग्यास्ट्रिक एसिड निस्कन्छ । यी पदार्थका कारण मुटुको धड्कन बढ्छ र छातीमा असजिलो अनुभव हुन्छ, रक्तचाप बढ्छ । तनावकै बेला रगतमा चिनीको मात्रा बढ्छ र पेटमा ग्यास्ट्रिक एसिड बढेकाले पेट पोल्न थाल्छ ।

तनावका बेला रगतमा चिनीको मात्रा बढ्छ र पेटमा ग्यास्ट्रिक एसिड बढ्न जाँदा पेट पोल्न थाल्छ

शरीरमा यस्ता परिवर्तन हुँदा डर लागेको अनुभव हुने, शरीरमा असजिलोपना हुने र छटपटी लाग्ने हुन्छ । लामो समयसम्म मानसिक तनाव भइरहेमा रोगसँग शरीरको लड्ने क्षमतामा पनि ह्रास आउँछ । त्यसैले सधैं तनावमा रहनुभनेको शरीरमा विभिन्न किसिमका इन्फेक्सन र रोग निम्त्याउनु हो । खासमा मानसिक तनाव तीन प्रकारका हुन्छन् सामान्य तनाव (बेसिक स्ट्रेस), लगातारको तनाव (क्युमुलेटिभ स्ट्रेस) र घातक तनाव (ट्रमाटिक स्ट्रेस) ।

तनावको कारण
तनाव आधुनिक जीवनशैलीको उपहार हो । व्यक्तिगत सम्बन्ध, आर्थिक र पेसागत व्यवहारमा देखिने उतारचढावका कारण नै मानिस तनावको सिकार हुने गर्छन् । हिजोआज मानिसको जीवन दिनप्रतिदिन महँगो र चर्को हुँदै गइरहेको छ । व्यक्तिगत आय नबढ्ने र खर्च बढ्ने असन्तुलित अवस्थाका कारण मध्यम र निम्न वर्गका परिवार निरन्तर तनावमा फसेका छन् । नेपालजस्तो गरिब देशको सहरीया जीवन तनावको त पर्याय नै हो भन्दा अत्युक्ति हुँदैन ।

घरमा बत्ती छैन, धारामा पानी छैन, ट्राफिक जामको समस्या छ, सार्वजनिक यातायातको अवस्था राम्रो छैन, इन्धन र ग्यासको अभाव झेलिरहनुपर्छ । जब सामान्य तनावमा अलि जटिल प्रकारका तनाव थपिन थाल्छन् र त्यसको शृंखला तयार हुन्छ, त्यस्तो अवस्थालाई लगातारको मानसिक तनाव भनिन्छ । लगातारको तनावले काम गर्ने क्षमता, निर्णय लिने क्षमता, नयाँ कुराहरू गर्ने क्षमता ह्रास भइरहेको हुन्छ । त्यसैले मानिसमा ससाना कुरामा झिँझिने, रिसाउने, आवेगमा आउने, निद्रा नलाग्ने समस्या देखिएका हुन् । त्यसो त मानसिक तनावले उमेर, समूह र वर्ग भन्दैन । मानिस भावनात्मक रूपमा आफैंमा जटिल र संवेदनशील प्रकृतिको हुनाले फरकफरक व्यक्तिको फरकफरक स्वभाव हुन्छ ।

तनाव सहन सक्ने क्षमता पनि फरकफरक हुन सक्छ । खुसी सिर्जना गर्ने र आफूलाई सन्तुलित गराइरहने परिस्थिति पनि सबैको एउटै नहुन सक्छ । तनाव गहिरिँदै जाँदा पनि धेरै व्यक्तिले आफूलाई बलियो छु, मलाई यस्ता समस्याले धेरै तनाव दिन सक्दैनन् भन्ने विश्वासमा त हुन्छन् तर लगातारको तनावले भित्रभित्र असर पारिरहेको हुन्छ । यस्तो स्थितिमा शरीर र मन दुवैले हार मानिसकेका हुन्छन् । कुनै गाडी वा मेसिन चल्दा चल्दा धेरै तातेर बन्द भएजस्तै शरीर र मनले पनि अति भइसकेपछि जवाफ दिन्छन् र यसैका कारण विभिन्न लक्षण देखिन सुरु गर्छन् । त्यसैले खानपान, जीवनशैली र व्यवहारको साइनो तनावसँग सघन हुन्छ ।

तनाव र ठूल्ठुला दबाबलाई सजिलै किनारा लगाउन सक्ने व्यक्ति नै जीवनको दौडमा अगाडि हुन्छन्

तनावबाट मुक्ति
पीडित आफैंले तनावको स्रोत र समस्या समाधानको उपाय पहिल्याउन सके भने तनावको दुष्चक्रबाट बाहिर आउन सजिलो हुन्छ । समस्या’bout सकारात्मक रूपमा अरूसँग सल्लाह गर्ने, धैर्य गर्ने, सुझबुझ देखाउने र गलत कुरा मनमा नखेलाउने गर्ने हो भने तनावले थप क्षति गर्दैन । मानसिक तनावको बेला सास छिटो–छिटो चल्छ । श्वास फेर्दा लिएको अक्सिजनको ठीकसँग उपयोग हुँदैन । त्यसैले यस्तो बेलामा नाकबाट विस्तारै लामो सास लिने र छोड्ने गर्दा फोक्सोको तलको भागमा समेत अक्सिजन पुग्छ र शरीरले अक्सिजनको उपयोग राम्ररी गर्न पाउँछ । फलस्वरूप मन शान्त पार्न सहयोग गर्छ । वास्तवमा तनाव व्यवस्थापनमा राम्रोसँग श्वास लिनु र छोड्नु ज्यादै महत्वपूर्ण छ । यसैगरी दैनिक १५, २० मिनेट जति छिटोछिटो हिँड्ने, दौडिँने या साइकल चढ्ने गर्दा तनाव कम गर्न सहयोग मिल्छ ।

ब्याडमिन्टन, टेनिस, बास्केटबल, भलिबल आदिमध्ये कुनै खेल खेल्ने, फूलबारी वा बगैंचामा घुम्ने या केही समय काम गर्ने, मनपर्ने गीत, भजन आदि सुनेर आनन्द लिने वा आफूलाई मन पर्ने किताब पढ्ने गर्दा पनि तनाव कम हुन्छ । स्वस्थकर जीवनका लागि हामी कस्तो खाना खान्छौं, के खान्छौं, कति खान्छौं आदि कुराले धेरै महत्व राख्छ । फलफूल, सागपात, चिल्लो कम भएको दूध, दही आदि खानु राम्रो हुन्छ । चिनी तथा नुन सकभर कम खाएको बेस । बोसो बढी भएको मासु, रातो मासु, तारेका खाने कुरा, क्रिम, चिज र चकलेट, आइसक्रिम आदि नखानु वा सकभर कम खानु राम्रो हुनेछ ।

त्यस्तै, रक्सी तथा चुरोटसुर्ती आदिले स्वास्थ्यलाई नराम्रो असर पार्ने हुनाले प्रयोग गर्नुहुँदैन । त्यसैगरी आफूखुसी हुने ससाना रुचिका कुरामा मन बहलाउने, साथीभाइसँग भेटघाट गर्ने, योग, ध्यान तथा प्रणायाम गर्ने र दुःखका बेला पनि आफैंले आफूलाई सम्हाल्न केही आदर्श भनाइप्रति विश्वास राख्यो भने मन सधैं काबुमा भइरहन सक्छ । आफूले आफैंलाई सम्हाल्न नसक्ने अवस्था भयो भने त्यो रोगको अवस्था हो । रोगकै अवस्थामा भने ध्यान, साथीभाइ र खुसी हुन गरिने कुनै पनि अभ्यासले काम गर्दैन, तुरुन्त चिकित्सककहाँ पुग्नुपर्छ ।

पुछारमा
दैनिक जीवनमा हरेक मानिसले सानाठूला तनाव झेल्नुपरेकै हुन्छ । तर, कुनै मानसिक तनाव र समस्याले होइन, त्यसप्रति प्रतिक्रिया गर्ने व्यक्तिको दृष्टिकोणले पीडित भइरहेको हुन्छ । त्यसैले सकारात्मक दृष्टिकोण राख्ने मानिस तनावबाट कमै पीडित हुने गर्छन् । यस्ता मानिसले ठूल्ठुला दबाबलाई पनि सजिलै किनारा लगाउन सक्छन् । त्यसैले त उनीहरू जीवनको दौडमा अगाडि बढ्छन् । हुन पनि हो, डरको अगाडि जित छ । तनावको अगाडि जित छ ।

तपाइको प्रतिक्रिया
(Visited 44 times, 3 visits today)

Ads Space Available

epaper

भर्खरै

संसद्का कर्मचारीको आन्दोलनवारे अर्थमन्त्रीसँग भएको छलफल निष्कर्षविहीन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण