माधवको राजनीति र सन्न्यासको विकल्प

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको निवासमा भएको बैठकमा उपस्थिति जनाएछन् । लगत्तै त्यसै दलका सम्मानित नेता झलनाथ खनाल दगुरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष यस कुराको जानकारी गराउँदै आफ्नो दल बृहत् वामपन्थी एकताको पक्षमा रहेको र सरकारमा दिइराखेको समर्थनलाई निरन्तरता दिनेगरी शपथ खाएछन् । माधवलाई असहज भयो । उनले तुरुन्त प्रधानमन्त्री प्रचण्डलाई भेटेर उनलाई आफ्नो दलको समर्थन यथावत रहेको विश्वास दिलाएछन् । प्रमुख प्रतिपक्षी दलका नेता देउवासमक्ष उनले के कुराको अभिव्यक्ति दिए ? किन सत्ताधारी गठबन्धनमा संलग्न भएका दलका नेता प्रतिपक्षहरूको बैठकमा उपस्थिति दिए ? यो स्पष्ट छँदै छ ।

माधवलाई वर्तमान समयमा राजनीतिमा आफ्नो हैसियत कायम राख्न अत्यन्त कठिनाइ पर्दै गएको छ । यसका केही कारणहरू छन् । पहिलो हो, उनको दलले राष्ट्रिय दलका रूपमा मान्यता प्राप्त गर्न सकेको छैन । १० सिट मात्र प्रतिनिधिसभामा रहेका उनका दलका सांसदहरू सबैको हैसियत स्वतन्त्र छ । स्वतन्त्र हैसियतमा रहेका यी अवसरवादी नेताहरू जो कोहीले जतिखेर पनि आफ्नो क्याम्प र दल परिवर्तन गर्नसक्ने सम्भावना उत्तिकै प्रबल छ । यसले गर्दा माधव कतिखेर कसले आफूलाई धोका दिँदै अर्को दलमा जाने हुन् ? र, आफूलाई एक्लो बनाउने हुन् भन्ने सोचले चिन्ताग्रस्त भएका छन् । सम्मानित नेतासँग पनि उनको अत्यन्त सुमधुर सम्बन्ध देखिँदैन ।

सधैं सरकारमा जान मात्र लालायित भएकाहरू उनको दलमा सांसद बनेर आएका छन् । मन्त्री पद पाएमा जतिखेर पनि जुनसुकै दलमा आबद्ध भई अथवा स्वतन्त्र हैसियतमा पनि मन्त्री बन्न सक्छन् । यस अवसरको प्रतीक्षा गरिराखेका सांसदहरूको बलमा माधवलाई आफ्नो राजनीति बचाइराख्न अत्यन्त कठिन भएको छ । दोस्रो हो, उनी अत्यन्त ज्यादा कुण्ठा पालेर राजनीति गर्छन् । केपी शर्मा ओलीसँग पार्टी अध्यक्षमा प्रतिस्पर्धा गरे र पराजित भएपश्चात उनको एकल सोच ओलीलाई सरकारबाट गिराउने मात्र रह्यो । यसैको फाइदा कमरेड प्रचण्डले लिँदै गठबन्धन परिवर्तन गर्दै नेपाली कांग्रेससँग मिलेर तीनजना प्रधानमन्त्रीहरू क्रमशः बन्दै जाने समझदारी बनाएका थिए । सो समझदारीनुसार अब माधवको पालो प्रधानमन्त्री बन्ने आइराखेको थियो । यही अवस्थामा कमरेड प्रचण्डले अचानक माधवलाई सल्लाह नगरी गठबन्धन परिवर्तन गरी रास्वपा र एमालेको समर्थनमा प्रधानमन्त्री बने ।

यस गठबन्धनका साथै माधव प्रधानमन्त्री बन्ने अवस्थामा तुषारापात भयो । यसबाट तिलमिलाएका माधव हात धोएर प्रधानमन्त्री बन्ने कसरतमा लागेका छन् । त्यही क्रममा उनी प्रमुख प्रतिपक्षी दलका नेता देउवासमक्ष पुगेका हुन् । यसमा कुनै सन्देह रहँदैन । तेस्रो हो, उनी अवसरवादी नेताका रूपमा आफ्नो पहिचान बनाउन सफल छन् । माधवले बोलेका विषयहरूमा विश्वस्त हुनसक्ने अवस्था अत्यन्त कम छ । जतिखेर जे जस्ता कुराहरू गर्दा क्षणिक फाइदा हुन्छ, त्यसैमा माधव अभ्यस्त हुँदै आएका छन् । उदाहरणका लागि उनी अब्बल दर्जाका गणतन्त्रवादी प्रमाणित भएका छन् । यसको एउटा घटनालाई उजागर गर्दा पर्याप्त हुनेछ । राजाको कृपामा प्रधानमन्त्री बन्ने दिवास्वप्न उनले धेरैपटक पाले । राजा ज्ञानेन्द्रलाई अत्यन्त मनोरञ्जन दिने आसनबाट मोहर चढाई अब्बल दर्जाको गणतन्त्रवादी प्रमाणित गरेर देखाएकै हुन् । आफूलाई जन्म दिने आमाको क्रियाकर्मसमेत नगरी दरबारबाट प्रधानमन्त्री हुन बोलावट आउनेमा विश्वस्त भइरहँदा अरू भाइहरूले क्रियाकर्म सबै सक्दा पनि दरबारबाट बोलावट नआइ निराश बनेका नेता हुन् । सायद यस वर्गको गणतन्त्रवादी नेता हालका राजनीतिमा देखिएका छैनन् ।

१० सिट मात्र प्रतिनिधिसभामा रहेका एकीकृत समाजवादीका सबै सांसदहरूको हैसियत स्वतन्त्र छ

हालको गठबन्धन बनेपश्चात माधवको सौदाबाजी गर्ने शक्ति कमजोर बनेको छ । किनकि, उनीसँग भएका १० सिटको समर्थन सरकारले नपाउँदा पनि सरकार गिर्दैन । रास्वपा र एमालेको समर्थनमा निरन्तरता दिनसक्ने अवस्था छ । यस परिस्थितिमा माधवको अत्यन्त ठूलो सौदाबाजीलाई ओली र प्रचण्डले सधैं सम्मान र स्वीकार गर्नुपर्ने अवस्था देखिँदैन । यसबाट पनि माधव अत्यन्त विक्षिप्त भएका छन् । किनकि, उनको पटकपटकको अभिव्यक्ति आफूले सम्मान नपाएको विषयमा केन्द्रित हुने गर्छ ।

माधवलाई सरकारलाई समर्थन गर्नैपर्ने नैतिक बन्धन भन्दा पनि बाध्यता छ । किनकि, यदि उनले विपक्षीहरूसँग रिमझिम बढाएमा सरकारबाट बाहिरिनुपर्ने परिस्थिति निर्माण हुन्छ । यसले गर्दा अवसर पाइरहेका केही सांसदहरूसमेत माधवका विरुद्धमा लाग्ने नै छन् । यसको नेतृत्व झलनाथले गरिराखेकै छन् र गर्ने पनि छन् । यो अवस्था माधवलाई राम्ररी अवगत छ । यस अर्थमा उनी सम्मान नपाए पनि उनका मानिसलाई सार्वजनिक जिम्मेवारीमा नदिए पनि अर्को सरकार बन्ने स्पष्ट तथ्यांक अगाडि नआएसम्म माधवको समर्थन वर्तमान सरकारलाई भइ नै रहन्छ । यसको विकल्पमा जान माधवलाई असहज छ । किनकि कांग्रेससँग गठबन्धन गरी सरकारमा जाँदा प्रधानमन्त्री हुन पाइने झिनो सम्भावना देखिन्छ । वर्तमान गठबन्धनमा माधव प्रधानमन्त्री हुने सम्भावना प्रायः शून्य छ । माधवलाई प्रधानमन्त्री हुनु नै छ ।

यस अर्थमा पनि उनी बहुव्यक्तित्वशाली बन्दै आएको स्थिति हो । माधवको यही रबैयाका कारण उनले सस्तो मनोरञ्जन प्रतिपक्षी दलदेखि सत्ताधारी दलसम्मका नेताहरूका लागि प्रदान गरेका छन् । कसैले पनि माधवलाई विश्वास गर्नसक्ने अवस्था छैन । यो अवगुण नै माधवको राजनीतिक यात्रामा पूर्णविराम लाग्ने अत्यन्त ठूलो बाधक बन्ने स्थिति छ । माधवको कार्यशैली र विश्वसनीयतालाई नजिकबाट पहिचान गरेकै कारण ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन गरेर निरन्तरता दिन आनाकानी गरिराखेको अवस्था छ । यसलाई ओलीले गरेको अत्यन्त ठूलो अपमानका रूपमा माधवले लिइराखेको स्थिति छ ।

उपेन्द्र यादवको जसपा नेपाल विभाजन भएको छ । यो विभाजन हुनुपूर्व उपेन्द्र, माधव र देउवाका बीच गठबन्धन गर्दै वर्तमान गठबन्धनलाई अल्पमतमा पारी देउवाको नेतृत्वमा सरकार गठन गर्ने चाजोपाजो मिलाइराखेको समाचार सम्प्रेषण भइराखेको थियो । उपेन्द्र विदेश भएकै अवस्थामा उनको दल विभाजित भयो । १२ सांसद भएको उपेन्द्रको दलमा पाँच सांसद मात्रै उनका पक्षमा देखिए । यस घटनाबाट माधव थप आतंकित बनेका छन् । कहीँ कतै जसपा नेपालकै हालत आफ्नो दलको बनेर आफ्नो दुरावस्था बन्ने त होइन ? यस सम्भावनाले माधवलाई धेरै चिन्ताग्रस्त बनाएको छ । त्यसैले पनि माधवलाई सबै क्याम्पमा पुगी शपथ लिई राख्नुपर्ने बाध्यता छ ।

उनको प्रधानमन्त्री हुने सम्भावना कुनै पनि क्याम्पमा देखिँदैन । तर, राजनीति सधैं सिधा रेखामा हिँड्दैन । नेपालको राजनीति अत्यन्त ज्यादा वक्ररेखामा अघि बढिराखेको छ । माधवको ढुलमुल प्रवृत्ति देख्ने बित्तिकै उपेन्द्रको पार्टी फुट्यो । उपेन्द्रको पार्टी फुट्ने बित्तिकै जनमत पार्टी सरकारको पक्षमा देखियो । यसका पछाडि पक्षमा रहनु र विपक्षमा रहनुको कुनै सैद्धान्तिक आधार देखिएन, छैन ।

अब माधवका शासनमा रहँदाका कार्यशैली र व्यवहारका ’boutमा विश्लेषण गरौं । माधवमा अत्यन्त ठूला कमी कमजोरीहरू छन् । आफ्ना परिवारजन र इष्टमित्रहरूलाई मात्र योग्य देख्ने गलत प्रवृत्ति उनमा हावी छ । बेलाबखत यही अभिव्यक्ति माधवले निर्लज्ज भएर दिने गरेका छन् । आफ्ना भाइलाई कूटनीतिक जिम्मेवारीमा पु¥याउन नियमावलीमै रातारात संशोधन गर्न पनि माधव पछि परेनन् । यसले गर्दा कानुनतः आफ्ना अयोग्य भाइलाई महावाणिज्य दूत बनाउन उनी सफल भए । यसैगरी, अन्य कूटनीतिक पदहरूमा पनि आफ्ना इष्टमित्रहरू नातेदारहरूलाई पु¥याउन उनी पछि परेका छैनन् ।

उनको सच्चरित्रताका ’boutमा विश्लेषण गर्दा पनि माधवले नैतिकवान् व्यक्तिका रूपमा आफूलाई उभ्याउन सकेको देखिँदैन । यसको ज्वलन्त उदाहरण ललिता निवासको जग्गा प्रकरण हो । सञ्चारमाध्यमहरूबाट सम्प्रेषित समाचारनुसार आफैं प्रधानमन्त्री भएको समयमा आफ्नै कम्पाउन्डभित्र रहेको जग्गा व्यक्तिका नाममा स्थानान्तर गर्नसक्ने दुस्साहसी व्यक्ति माधव हुन् ।

लेखक स्थानीय विकास मन्त्रालयको सचिवको हैसियतमा कार्यरत रहँदा प्रधानमन्त्रीको हैसियतमा रहेका माधवले दुईवटा निर्देशनहरू केही समयको अन्तरालमा गरेका थिए । पहिलो हो, कुण्डलिनीनजिक रहेको एक अपार्टमेन्ट निर्माण गर्ने ठेकेदारसँग उनको मनमुटाव रहेछ । मलाई डाकेर सो अपार्टमेन्ट शीघ्र भत्काउने निर्देशन दिए । मैले उनको निर्देशनलाई सहर्ष स्वीकार गरेको थिएँ । अपार्टमेन्ट भत्काउनुपूर्व केही कानुनी प्रक्रियाहरू अवलम्बन गर्नुपर्ने हुन्छ । मैले शीघ्र सो अपार्टमेन्ट भत्काउने प्रतिबद्धता प्रधानमन्त्रीसमक्ष किन पनि जाहेर गरें भन्दा उनको त्यो निर्देशन दुई दिनसम्म पनि निरन्तरता पाउने अवस्था थिएन । तेस्रो दिन बैठक राख्ने काम भयो । तत्कालीन सम्मानीय प्रधानमन्त्री माधवले सो बैठकको संयोजन गरेका थिए । सो बैठकमा उनले पुनः केही दिन यो भत्काउने कार्य रोक्ने निर्देशन दिए ।

पाठकहरूले अब आफैं यसको असलीयत र यथार्थता अवगत गर्न सक्नेछन् । मुलुकको प्रधानमन्त्री तीन दिन अगाडि सचिवलाई सो भवन भत्काउन निर्देशन दिँदै तीन दिनपछि यू–टर्न भएका थिए । यद्यपि, त्यो अपार्टमेन्टलगायत धेरैतिर सार्वजनिक जमिनहरू अतिक्रमणमा परेका थिए, जुन काठमाडौंका वर्तमान नगरप्रमुख बालेन्द्र शाह (बालेन)ले संरक्षण गर्दै आएका छन् ।

दोस्रो घटना अत्यन्त चाखलाग्दो छ । लेखकलाई २१ असार आफ्नो कार्यकक्षमा बोलाई ८० करोड रुपैयाँ सांसदहरू सबैलाई दामासाहीका हिसाबले पेस्कीस्वरूप उपलब्ध गराई यही महिनामा फस्र्योटसहित गरिसक्ने उनको स्पष्ट निर्देशन थियो । जनसहभागिताका आधारमा विकास निर्माणमा खर्च गरिने सो रकमका ’boutमा लामो कानुनी प्रक्रिया पूरा गरेर मात्र खर्च गर्न सकिने अवस्था थियो । यो निर्देशन लेखकले विनम्रतापूर्वक अवज्ञा गरेको थियो । यसमा तत्कालीन प्रधानमन्त्री माधव मसँग धेरै रुष्ट भएका थिए र शीघ्र मेरो अन्यत्र सरुवासमेत गरिदिएका थिए ।

माधव नेपालले विश्राम लिनु नै उनको व्यक्तिगत तथा राष्ट्रको हितमा हुने चर्चा राजनीतिमा चासो राख्नेहरूका बीचमा हुन थालेको छ

माधव आफ्नै दलमा अटाउन सकेनन् । मुलुकभरका आफ्नै कार्यकर्ताले विजय बनाउन इन्कार गर्ने बित्तिकै उनमा ओलीप्रतिको कुण्ठा अत्यन्तै ज्यादा देखियो । ओलीको नेतृत्वमा रहेको करिबकरिब दुई तिहाइको सरकार माधव र प्रचण्डको मिलीभगतमा गिराउने काम भयो । यसबाट एमालेका इमानदार कार्यकर्ता माधवसँग रुष्ट हुने नै भए । एमालेबाट सानो टुकडी लिएर एउटा दल बनाएकामा सो दलले पनि राष्ट्रिय दलको हैसियत प्राप्त गर्न सकेन । राजनीतिक बजारमा एउटा सानो खुद्रा पसलका रूपमा माधवले उनको पार्टीलाई स्थापित गराएका छन् । ओलीको प्रतिशोध माधवमाथि हुने नै भयो । यस अर्थमा एमालेमा रहुन्जेलसम्म माधव यस क्याम्पमा अपमानित मात्रै हुने हुन् । उनले गरेका सौदाबाजीनुसार कुनै पनि प्रतिफल प्राप्त गर्न सक्नेछैनन् । किनकि, उनको दलले समर्थन नगर्दा सरकार गिर्दैन ।

माधव धेरैपटक प्रधानमन्त्री हुन कोसिस गरेका राजनीतिक पात्र हुन् । पटकपटक निर्वाचन जितेका पनि हुन्, तर प्रधानमन्त्री हुन सफल भएनन् । जब उनी दुई निर्वाचन क्षेत्रहरूबाट आमनिर्वाचनमा पराजित बने, त्यही अवधिमा मुलुकको प्रधानमन्त्री बन्न सफल भएका हुन् । त्यसैले, माधवलाई प्रधानमन्त्री बन्न निर्वाचनमा हार्नुपर्ने बाध्यता छ भन्दै प्रहसन गर्नेहरू पनि नेपालको राजनीतिक बजारमा प्रशस्त भेटिएका छन् ।

यतिखेर माधव निर्वाचित सांसद हुन् । अर्को अर्थमा माधव भाग्यमानी पात्र पनि हुन् । किनकि, कामचलाउ सरकारका रूपमा ११ महिनासम्म प्रधानमन्त्री बन्ने पात्र पनि माधव नै हुन् । तर, समयले कोल्टे फेरेको छ । माधवप्रति आफ्नै दलमा असन्तुष्टि बढ्दै गएको अवस्था छ । एमालेमा धेरै कार्यकर्ताहरू माधवपति कुण्ठा पालेर बसेका छन् । उनको देशव्यापी ठूलो राजनीतिक सञ्जालसमेत देखिँदैन । भएका नेता तथा कार्यकर्ताहरूलाई यथावत आफ्नो दलमा कायम राख्न पनि कठिन भएको छ । उनमा नेतृत्व गर्ने शैली पनि प्रभावकारी देखिँदैन । जुनसुकै समय माधवको दल फुट्न सक्छ, अन्यत्र जान सक्छन् । यस अवस्थामा माधव आफ्नै दलभित्र एक्लो बन्ने सम्भावना प्रबल छ ।

मुलुकको प्रधानमन्त्री भइसकेका छन् । लामो समय मुलुकको ठूलो पार्टीको शीर्षस्थ नेतृत्व गरिसकेका छन् । अब माधवको यही रबैयाको राजनीतिले निरन्तरता पाउँदै जाने हो भने उनको राजनीतिक भविष्य अन्धकार छ । तसर्थ, नेपालको राजनीतिबाट माधवले विश्राम लिनु नै उनको व्यक्तिगत र राष्ट्रको हितमा हुने चर्चा परिचर्चा राजनीतिमा चासो राख्नेहरूका बीच हुन थालेको छ । तर, सरकारमा सामेल नभइरहँदाको अवस्थामा माधव ललिता निवास जग्गा प्रकरणलगायत उनका पालामा भएका घोटालाहरूको विषयलाई लिएर दण्डित हुनसक्ने सम्भावना पनि प्रबल छ ।

तपाइको प्रतिक्रिया
(Visited 349 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
प्रमुख/अध्यक्षमा कांग्रेसभन्दा एमालेको बढी उम्मेदवार