‘कांग्रेस, कम्युनिस्ट समाजवादको चर्को नारा लगाएर भ्रम फैलाउने पार्टी’

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को एकता महाधिवेशन सोमबारदेखि मधेस प्रदेशको राजधानी जनकपुरधाममा सुरु भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पानसमा बत्ती बालेर महाधिवेशनको शुभारम्भ गरेका छन् ।

जसपा नेपाल अशोक राईको नेतृत्वमा विभाजन भएपछि हुन लागेको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुनेछ । हालै राईले जसपा नेपाल विभाजन गरी आफ्नो नेतृत्वमा जसपा गठन गरेका छन् । स्थापना कालदेखी पटकपटक विभाजनसँगै एकता गर्दै अघि बढेका उपेन्द्र यादव विगत तीन दशकदेखि पार्टी अध्यक्ष छन् । एकता महाधिवेशनबाट यादव नै पुनः अध्यक्ष चुनिँदै छन् ।

जसपा नेपालको एकता महाधिवेशन

महाधिवेशनमा पेस गर्न यादवले तयार गरेको राजनीतिक प्रतिवेदनमा समाजवादको स्थापना आफ्नै पार्टीको नेतृत्वमा हुने दाबी गर्दै अन्य प्रमुख दललाई समाजवादको चर्को नारा लगाएर भ्रमको खेती गरिरहेको आरोप लगाएका छन् ।

यादवले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको प्रतिवेदनमा उल्लेख गरेका छन् । दोस्रो ठूलो दल नेकपा (एमाले) आउँदा केही वर्षभित्र फेरि उठ्न नसक्नेगरी पतनको दिशामा अभिमुख भएको निष्कर्ष निकालेका छन् । सरकारको नेतृत्व गरिरहेको तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र)का नेता भ्रष्टाचार, कमिसनतन्त्र र जग्गा दलालीमा लिप्त भएको निष्कर्ष यादवको छ ।

कांग्रेस, कम्युनिस्टजस्ता पार्टीले विकास, सुशासन, समृद्धि, सामाजिक न्याय र समाजवादको चर्को नारा लगाएपछि त्यो भ्रम फैलाउनुबाहेक अरू हुन नसक्ने टिप्पणी यादवले गरेका छन् । कांग्रेस र कम्युनिस्टको सोच, संस्कार र सिद्धान्तको सीमाले ती कार्यभार उनीहरूबाट पूरा हुने सम्भावना नभएको जसपा, नेपालको ठहर छ ।

‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा जतिसुकै रटे पनि व्यवहारतः त्यो ‘दरित्र नेपाल र दुःखी नेपाली’ नै हुनेछ । वैचारिक तथा संस्थागत संरचनात्मक दोषले गर्दा चाहेर भए पनि उनीहरूले समृद्धीकरण युगको नेतृत्व लिन सक्ने सम्भावना रहन्नँ । उपरोक्त कार्य हाम्रो पार्टी जनता समाजवादी पार्टी, नेपालले मात्र पूरा गर्न सक्दछ’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

नेपालमा समाजवादी लोकतन्त्रको कार्यभार, समाजवादी मार्गचित्र तथा समाजवादी राज्य जसपा नेपाल पार्टीबाट नै स्थापित हुने दाबी गरिएको छ । ‘समाजवादी लोकतन्त्रको कार्यभार, समाजवादी मार्गचित्र तथा समाजवादी राज्य न पुँजीवादबाट न कम्युनिस्टबाट न कांग्रेसबाट न त साम्यवादीबाट स्थापित हुन सक्छ । यो स्वाभावैले जसपा, नेपालको नेतृत्वमा मात्र सम्भव छ’ यादवको निष्कर्ष रहेको छ ।

यादवले कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको टिप्पणी गरेका छन् । कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्नेगरी थंथिलो भएको टिप्पणी गर्दै उनले सुशासनको सवालमा कांग्रेस प्रतिबद्धता व्यवहारमा नदेखिएको उल्लेख गरेका छन् ।

उपेन्द्रको नजरमा
– कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ
– एमाले आउँदा केही वर्षभित्र फेरि उठ्न नसक्नेगरी पतनको दिशामा अभिमुख छ
– माओवादीका नेता भ्रष्टाचार, कमिसनतन्त्र र जग्गा दलालीमा लिप्त छन् । उनीहरूमा ढुलमुले, अवसरवादी चरित्र नै हाबी छ

‘आज कांग्रेस आफ्निै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ । प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्नेगरी थंथिलो भएको छ’ प्रतिवेदनमा भनिएको छ । त्यस्तै, कांग्रेसको शासनकालमा लाउडा, घमीजा, सुडान जस्ता ठुल्ठुला भ्रष्टाचार काण्ड भए तर कहिल्यै विश्वसनीय छानबिन नभएको उनले उल्लेख गरेका छन् । उपेन्द्रले कांग्रेसमा देशभरि फैलिएको संगठन र परम्परागत जनमत रहेको उल्लेख गरेका छन् ।

वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र कम्युनिस्टलाई भोट दिन नचाहने जनमतले कांग्रेसलाई भोट दिँदै आएको प्रतिवेदनमा उल्लेख छ । कांग्रेसमाथि जसपा नेपालले उल्लेखनीय हस्तक्षेप गर्नुपर्ने उपेन्द्रको निष्कर्ष छ । यद्यपि, कांग्रेस उदारवादी लोकतान्त्रिक शक्ति भएकाले लोकतन्त्र, राष्ट्रियता र विकासको सवालमा जसपा नेपालले सहकार्य गर्न सक्ने प्रतिवेदनमा उल्लेख छ ।

यादवले एमाले आउँदा केही वर्षभित्रैमा पतन हुने टिप्पणी गरेका छन् । ‘नेपालको कम्युनिस्ट आन्दोलन वैचारिक रूपले अँध्यारो सुरुङभित्रको यात्रा गरिरहेको छ । हामीले यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने दार्शनिक, वैचारिक रूपमा अन्योलग्रत र नैतिक रूपमा स्खलित भइसकेका पार्टी संगठनात्मक रूपमा मात्र लामो समय बलियो भइरहन सक्दैन । आउँदा केही वर्ष वा दशकभित्र कम्युनिस्ट पार्टीहरू भविष्यमा फेरि उठ्न नसक्नेगरी पतनको दिशामा अभिमुख छ । एमालेको राजनीतिक व्यवहार र सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दछ । कम्युनिस्ट पार्टीका ठूलाठूला नेताहरू भ्रष्टाचार, कमिसनतन्त्र तथा नैतिक पतनको घटनामा लज्जास्पद ढंगले उदागिँदै छन्’ प्रतिवेदनमा भनिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र पार्टीप्रति जनताको आशा र विश्वास नरहेको निष्कर्ष यादवको छ । माओवादीले आफूलाई सर्वहारा वर्गको पार्टी भने पनि वास्तवमा पार्टीको आशा र विश्वास नदेखिएको दाबी उनको छ ।

‘कम्युनिस्ट–माओवादी नामको खोलभित्र रहेको विकृति निम्न पुँजीवादी चरित्र बोकेको पार्टी हो । चिन्तन र व्यवहारमा माक्र्सवादी–लेनिनवादी माओवादी नभई ढुलमुले, अवसरवादी चरित्र नै हाबी रहेको छ । यस पार्टीका नेता तथा कार्यकर्ता ठूलाठूला भ्रष्टाचार, कमिसनतन्त्र र जग्गा दलालीमा लिप्त छन् । पछिल्लो कालखण्डमा नेकपा (माओवादी केन्द्र) विकृति र विसंगतिको केन्द्रका रूपमा स्थापित हुँदै गइरहेको छ । यो पार्टीले सैद्धान्तिक रूपमा आफूलाई कम्युनिस्ट भने तापनि राजनीतिक रूपमा एमालेभन्दा खासै भिन्नता देखिँदैन,’ प्रतिवेदनमा उल्लेख गरिएको छ ।

महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि सहभागी भए । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका उपसभापति धनराज गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष डा.स्वर्णिम वाग्ले, राप्रपाका बुद्धिमान तामाङ, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)लगायतका नेताको उपस्थिति रहेको थियो ।

महाधिवेशनमा करिब २ हजार प्रतिनिधिको सहभागिता छ । महाधिवेशनले अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ सहित २ सय १ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य चयन गर्दै सम्पन्न हुने नेता मनिष सुमनले जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रचण्ड–ओली दूरी बढ्दै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा उम्मेदवारी दर्तापछि स्थापितले भने- गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु