हामी कोरोना भाइरस ‘कोभिड–१९’को त्रासबीच विक्रम संवत्को नयाँ वर्ष २०७७ मा प्रवेश गरेका छौं । चीनको वुहानमा डिसेम्बर ३१ मा पहिलोपटक देखिएको यस भाइरसको संक्रमणले सम्पूर्ण विश्वलाई आफ्नो चपेटामा लिएको छ । विश्वभर झन्डै १ लाख २० हजारको मृत्यु भएको यस अवधिमा झन्डै २० लाख संक्रमित भएका छन् भने निको हुनेको संख्या झन्डै ५ लाख पुगेको छ । सर्वाधिक प्रभावित युरोपमा मात्रै ९ लाख बढी प्रभावित भएका र ७५ हजार बढीको मृत्यु भएको छ । अप्रिलको अन्त्यसम्म विश्वभरमा संक्रमितको संख्या ३० लाख पुग्ने अनुमान छ । स्मरणीय छ, नेपालमा ९ जना संक्रमित भेटिएकामा वीरगन्जमा तीन भारतीयमा संक्रमण पुष्टि भएपछि यो संख्या १२ पुगेको छ ।
यस संक्रमणबाट सबैभन्दा बढी मानवीय क्षति संयुक्त राज्य अमेरिकामा भएको छ । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार नाघिसकेको छ भने संक्रमित हुनेको संख्या झन्डै ६ लाख पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी इटालीमा झन्डै २० हजारको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या डेढ लाख बढी रहेको छ, जसमध्ये ३२ हजार निको भएका बताइन्छ । अर्को युरोपेली मुलुक स्पेनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार बढी रहेको छ भने डेढ लाख बढी संक्रमितमा निको हुनेको संख्या करिब ६० हजार रहेको बताइएको छ । अर्को अति प्रभावित मुलुक फ्रान्समा झन्डै १४ हजारको मृत्यु भएको छ भने संक्रमित झन्डै डेढ लाखमध्ये झन्डै ३० हजार निको भएको तथ्यांक सार्वजनिक भइसकेको छ । बेलायतमा १० हजार बढीको मृत्यु भएको छ । यसपछि इरान, बेल्जियम, चीन, जर्मनी, नेदरल्यान्ड्स, टर्की, ब्राजिल, स्विट्जरल्यान्ड आदि मुलुकमा पनि हजारौंको संख्यामा मानिसहरूको मृत्यु भएको छ ।
आगामी दिनमा बुद्धिमानीपूर्वक अघि बढ्न सकेमा मात्र समस्त मानवजातिको कल्याण हुने देखिन्छ
कोरोना भाइरसको प्रकोप अहिले पनि बढ्दो छ । युरोपमा बढी प्रभाव पारेका मुलुकहरू स्पेन, इटाली र फ्रान्समा यसमा बिस्तारै कमी आउन थालेको भए पनि अमेरिकामा यसको प्रकोप बढ्दो छ । अमेरिकामा पनि न्युयोर्क सबैभन्दा प्रभावित भयो । न्युयोर्क अमेरिकाको आर्थिक राजधानी हो । यो अमेरिकाकै घना बस्ती भएको ठूलो संख्यामा पर्यटकको आवागमन हुने सहर पनि हो । प्रारम्भमा चीनबाटै अमेरिकामा भित्रिएको भनिए पनि अमेरिकामा कोरोना भाइरस युरोपबाट पुगेको बताइन्छ ।
उपचार पत्ता लागि नसकेको यस भाइरसको रोकथामका लागि सामाजिक दूरीलाई नै विश्वले प्रमुख उपायका रूपमा अपनाएको छ । विश्वका अधिकांश मुलुकका सबै किसिमका गतिविधि ठप्प छन् । ‘लकडाउन’ घोषणा गरिएका कारण हामी पनि विगत तीन सातादेखि आआफ्ना घरभित्रै बस्न बाध्य भएका छौं । उता छिमेकी भारतले विगत तीन सातादेखि ‘लकडाउन’मा छ र दुवै मुलुकमा पुनः ‘लकडाउन’ थपिने निश्चित प्रायः छ । स्मरणीय छ, विश्व स्वास्थ्य संगठनका प्रमुखले लकडाउन खोल्न हतार नगर्न सुझाएका छन् । कोरोनाको प्रकोप अझै बढ्दो क्रममा नै भएकाले लकडाउन खोल्न हतार गर्नु आफंैमाथि जोखिम निम्त्याउनु हुने चेतावनी दिँदै उनले यसको निरन्तरताको लागि सुझाएका हुन् ।
नेपालमा तेस्रो चरणको ‘लकडाउन’ जारी छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख दिन नभई जनताको जीवनरक्षाका लागि सरकार ‘लकडाउन’ गर्र्न बाध्य भएको बताएका छन् । शनिबार भिडियो कन्फरेन्समार्फत सातै प्रदेशका मुख्यमन्त्रीलाई सम्बोधन गर्दै उनले ‘सस्तो लोकप्रियताका निम्ति लकडाउन उल्लंघन गर्न नहुने धारणा राखेका थिए । सो क्रममा उनले लकडाउन छिटै अन्त्य नहुने संकेत गर्दे सीमामा अझ कडाइ हुने पनि बताए । ‘भावुक कुरा गरेर लापर्बाही स्वीकार्य नहुने तथा संक्रमण फैलिन नदिन सबै सचेत हुनु अनिवार्य भएको’ उनको भनाइ थियो । छिमेकी मुलुक भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै ‘लकडाउन’ खुला गर्ने कुरा हुनै नसक्ने भन्दै उनले यस्तो गम्भीर विषयमा नरम बनेर लापर्बाही नगर्न पनि सबैलाई सचेत गराए । ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको समेत प्रस्ट पारे । उनले ‘सरकारले जिम्मिेवारीपूर्ण ढंगबाट काम गरिरहेको’ तथा ‘१५ दिन घरमा बस्दै बीचबीचमा एकपटक निर्देशन दिएजस्तो गरी सरकारले काम गरोस् भन्नेजस्तो गर्न आवश्यक छैन’ भन्ने धारणा पनि व्यक्त गरे । भिडियो कन्फरेन्समा ‘कोभिड–१९’ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमण नियन्त्रणका लागि भइरहेका तयारी’bout जानकारी गराएका थिए ।
महामारीका मानवीय, राजनीतिक र आर्थिक असर पर्छन् । यस्ता असर विगतका महामारीमा पनि देखिएको इतिहास छ । एउटा खास क्षेत्रमा बेलाबेलामा महामारी आए पनि विश्वभर नै आएको यस किसिमको महामारी युगौंपछिको यो नै पहिलो हो । यसले कहाँकहाँ कुनकुन क्षेत्रमा कस्तो असर पार्नेछ भन्ने कुराको अनुमान अहिले गरिन थालेको छ । यसको सबैभन्दा ठूलो असर रोजगारीमा पर्नेछ । राजनीतिक प्रणालीमा असर पर्नेछ र अर्थव्यवस्थामा समेत असर पर्नेछ । यसले विश्व व्यवस्था नै प्रभावित हुने र नयाँ ढंगबाट अघि बढ्नुपर्ने आवश्यकता देखिने अनुमान छ । कोरोनाको असर जहिलेसम्म रहन्छ वा जति लामो समय रहन्छ, त्यतिखेरसम्म यसै हुन्छ भन्ने अनुमान गर्न पनि कठिन हुन्छ । आर्थिक उदारीकरण, विश्वव्यापीकरण र अन्तनिर्भरताको यस युगमाथि यसले नयाँ ढंगबाट अघि बढ्न दबाब दिनेछ । सोच्ने र व्यवहार गर्ने शैलीमा समेत सुधारको आवश्यकता हुनेछ । समाज, संस्कृति, परम्परा आदि प्रभावित भएका छन् । तिनलाई पूर्ववत् रूपमा स्थापित र नियमित गराउनका लागि समय लाग्नेछ ।
विश्वलाई नै आक्रान्त बनाएको कोरोना भाइरस ‘कोभिड–१९’का कारण विश्वमा एक अर्ब बढीको रोजगारी गुम्ने अनुमान विभिन्न संस्थाले गरेका छन् । धेरैले गुमाइसकेका पनि छन् । बेरोजगारी विभिन्न समस्याको जड हो । यसबाट धेरै कुरा प्रभावित हुन्छन् । विश्वमा मन्दी छाउने र मुलुकहरूको प्रतिव्यक्ति आय घट्ने, आर्थिक वृद्धि न्यून हुने आदि अनुमान स्वाभाविक छन् । हामीलाई हाम्रा झन्डै ७० लाख ती नागरिकको अधिक चिन्ता हुनुपर्छ, जसले मुलुकको अर्थतन्त्रमा ठूलो सहयोग पु¥याएका छन् । सुन्दर भविष्यको खोजीमा आफूले जोखिम मोलेर विभिन्न मुलुकमा काम गरिरहेका छन् । यस किसिमको सम्भावित अवस्थामा अब हामीले गर्ने भनेको स्वदेश फर्कन बाध्य जनशक्तिलाई अधिकाधिक रूपमा उपयोग गर्ने र नयाँ उपायद्वारा आत्मनिर्भर हुने हो । यसका लागि प्रेरित गर्ने हो । यसै पनि कमजोर र आयातमुखी अर्थतन्त्र, उपभोगवादी प्रवृत्ति आदिले गर्दा हामीलाई परनिर्भर बनाएकोमा हामीले कृषिजन्य उत्पादन बढाउने र बेरोजगारलाई त्यस क्षेत्रमा उपयोग गर्ने, कृषि श्रमिकको संरक्षण गर्नेतर्फ योजना बनाउनुपर्छ ।
यसैबीच नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण सार्वजनिक भएको छ । कोरोना भाइरस ‘कोभिड–१९’का कारण नेपालसहित दक्षिण एसियाली मुलुकको अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुने आँकलन विश्व बैंकले गरेको छ । बैंकले अर्धवार्षिक रूपमा सार्वजनिक गर्ने ‘साउथ एसिया इकोनोमिक फोकस’ नामक उक्त प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर सन २०२० मा १.५ देखि २.८ प्रतिशत मात्रै रहने उल्लेख छ । यो सरकारले लिएको लक्ष्यभन्दा निकै कम हो । स्मरणीय छ, चालू आर्थिक वर्षको बजेटमा सरकारले यस वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो । कोरोना प्रभावका कारण यो वृद्धि हासिल नहुने अर्थ मन्त्रालय स्वयंले पनि स्वीकार गरिसकेको छ । यसअघि गत साता मात्रै एसियाली विकास बैंकले सन २०२० मा नेपालको अर्थतन्त्र ५.३ प्रतिशतले मात्र बढ्ने आँकलन गरेको थियो । विश्व बैंकको प्रतिवदेनले एडीबीले गरेको प्रक्षेपणको झन्डै आधा मात्र वृद्धिदर हासिल हुने देखाएको हो । लामो समयसम्म कोरोनाको प्रभाव रहे आर्थिक वृद्धिदरमा थप कमी आउने विश्व बैंकको प्रक्षेपण छ । कोरोना भाइरसको प्रभाव लम्बिए सन् २०२१ मा पनि अर्थतन्त्र प्रभावित हुने र सन् २०२२ देखि मात्र यसमा सुधार आउने विश्व बैंकको अनुमान छ । कोरोनाका कारण नेपाल मात्र नभई दक्षिण एसिया र सम्पूर्ण विश्वकै प्रभावित आर्थिक वृद्धि प्रभावित हुने भएको हो ।
उपचार पत्ता लागि नसकेको यस भाइरसको रोकथामका लागि सामाजिक दूरीलाई नै विश्वले प्रमुख उपायको रूपमा अपनाएको छ
अब पुनः लागौं प्रधानमन्त्रीको अभिव्यक्तितर्फ । प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँगको छलफलका क्रममा सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रस्ट पारे । सरकार स्वयंले अथोरिटीका साथ काम गरेको कुनै अर्को संयन्त्रको आवश्यकता नपर्ने स्पष्ट पारेका छन् । यसो भनेर उनले एकातिर आफ्नै पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा प्रतिपक्षी दलहरूको मागलाई ठाडै अस्वीकार गरेका छन् भने अर्कोतिर कसैको सहयोग आवश्यक नभएको खालको दम्भ पनि देखाएका छन् । संकटको समयमा राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्नेमा प्रधानमन्त्रीबाट जुन खालको नीति अवलम्बन गरिएको छ त्यो सर्वथा आलोच्य छ ।
प्रधानमन्त्री ओलीमा ‘म नै राज्य हुँ’ भन्ने दम्भ पटकपटक देखिएको छ । यो संकटको समयमा पनि उनी यसरी प्रस्तुत हुनु विडम्बना हो । एकातिर अनियमितता गर्नेहरूमाथि कारबाही गर्नुको साटो प्रश्न उठाउनेप्रति आक्रामक हुनु, जाइलाग्नु र अर्कोतिर प्रतिपक्षी दलहरूको सहयोग नै लिन नचाहनु आश्चर्य हो । दलहरूले जस्तो सहयोग पनि दिन तयार रहेको बताउँदा पनि सरकारले त्यसको उपेक्षा गर्नु र त्यसैलाई सत्तामा भाग खोजेको रूपमा लिनु आफंैमा विडम्बना हो । यो सबैले मिलिजुली लडेर जित्नुपर्ने युद्ध हो । सम्पूर्ण श्रेय लिन खोज्दा सरकारमाथि धेरै कुरा लुकाउन खोजेको आशंका उत्पन्न हुने र आरोप लाग्ने सम्भावना छ । स्मरणीय छ, स्वास्थ्य सामग्री खरिद सम्बन्धमा जुन विवाद आयो यो यस्तै समन्वयको अभावको कारण आएको कुरा हो । यसमाथि विभिन्न क्षेत्रबाट प्रश्न उठे पनि संकटको नाममा चोरबाटोबाट काम गराएर अनियमिततालाई संरक्षण गर्ने र बेथितिलाई निरन्तरता दिने प्रयास भइरहेको सबैले महसुस गरिरहेको विषय हो ।
पर्याप्त समय छँदाछँदै पनि ‘हामीकहाँ केही हुँदैन’ भन्नेहरू नै अहिले ‘लकडाउन’का प्रवक्ता भएका छन् । ‘लकडाउन’ अनिवार्य हो तर समय छँदै आवश्यक व्यवस्थापन मिलाउन सकेको भए दुई दिन घर फर्कन खुला गर्ने भन्नेजस्तो अपरिपक्व निर्णय गर्ने र फेरि सुधारी सञ्चारमाध्यममाथि दोष थोपर्नेजस्तो घृणित उपाय पक्कै अपनाउनुपर्ने थिएन । न त ताली बजाएर र राष्ट्रिय गान गाएर कोरोना भगाउनेजस्ता हावादारी उपाय अपनाउनुपर्ने थियो । समयमै उचित व्यवस्था मिलाउन सकिएको भए सयौं किलोमिटर पैदल यात्रा गर्न बाध्य भएका श्रमिक मजदुरले अवश्यै कठिनाइ भोग्नुपर्ने थिएन ।
बितेको वर्षको स्वागत गर्दै गर्दा हामीले सुख शान्ति र समृद्धिको आशा गरेका थियौं । तर, विभिन्न अवरोध आइरहे । यसको समीक्षा गर्दा केही सकारात्मक प्रयास देखिए पनि अधिकांश विवादित र शंकास्पद कार्य नै भए भन्न सकिन्छ । सरकारका एकपछि अर्को काम विवादमा पर्दै गए र सरकारले तिनको बचाउमा नै धेरै समय खर्चियो । बलात्कार, भ्रष्टाचार र अनियमितता आदिमा उच्च पदस्थका नाम जोडिए र पद केहीले पद गुमाउन पुगे । ललितानिवास जग्गा प्रकरण चर्चामा रह्यो । र, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाले पनि कतिपय काममा ढिलाइ हुन पुग्यो । सत्तारूढ दलको आन्तरिक कलह सतहमा आउने, साम्य हुने र बल्झने क्रम जारी रह्यो । यही अलमलमा पुरै वर्ष बित्यो । यतिखेर हामी पनि ‘कोरोना’को कारण प्रभावित भएका छौंं । जुनसुकै अवरोधले पनि आम सर्वसाधारण नै प्रभावित र पीडित हुन्छन् । अहिले यो कठिनाइको सामना गर्ने क्रममा पनि तिनैले कठिनाइको सामना गरिरहेका छन् । कोरोना भाइरस ‘कोभिड–१९’ बाट मुक्त हुनका लागि जारी संघर्षमा अवश्य नै मानवलाई सफलता प्राप्त हुनेछ । तर, त्यसले छाड्ने प्रभावबाट माथि उठ्न अझ बढी संघर्षको आवश्यकता पर्नेछ । आशा गरौं, यस वर्ष हाम्रो राजनीतिक नेतृत्व इमानदार हुनेछ । विगतका गल्ती र कामजोरी दोहो¥याउने छैन । र, सबै खाले विकृति, विसंगति एवं कठिनाइबाट मुक्त हुने तथा नयाँ नेपाल निर्माण गर्ने हाम्रो अभियान साँच्चिकै सफल हुनेछ ।
अन्त्यमा, झन्डै चार महिनादेखि विश्वलाई आक्रान्त पारिरहेको कोरोना महामारीको सन्देश अब समस्त मानवजातिले नयाँ ढंगबाट सोच्नुपर्छ भन्ने हो । प्रकृति र मानव एवं जीवजन्तुबीचको सम्बन्ध सन्तुलित हुनुपर्छ भन्ने हो । हाम्रो खानपान, रहनसहन, जीवनशैली आदिमा व्यापक सुधार हुनुपर्छ भन्ने हो । प्रकृतिमाथि विजय प्राप्त गर्ने होड तथा शक्तिशाली हुने महत्वाकांक्षामा हामीले जथाभावी गर्नुहुँदैन, मानव तथा प्रकृतिबीचको जुन सम्बन्ध र सन्तुलनले संसार चल्छ, त्यसलाई बिगार्ने, भत्काउने वा खल्बल्याउने प्रयत्न गर्नुहुँदैन भन्ने हो । वर्तमानको चुनौतीबाट मुक्त भएपछि मानवजाति यसप्रति गम्भीर हुनुपर्छ भन्ने सन्देश यस अकल्पनीय परिस्थितिले दिएको छ । यसलाई सोही रूपमा बुझी आगामी दिनमा बुद्धिमानीपूर्वक अघि बढ्न सके मात्र समस्त मानवजातिको कल्याण हुनेछ । सबैमा नयाँ वर्षको शुभकामना !






