कुवेतमा १४ नेपाली महिला अलपत्र

काठमाडौं । दलालको प्रलोभनमा परी राम्रो कमाइ हुने आशमा कुवेत पुगेका १४ नेपाली महिला अलपत्र परेका छन् । काठमाडौंको इन्देश म्यानपावरबाट करिब दुई महिनाअघि त्यहाँ पुगेका उनीहरू अलपत्र परेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सार्वजनिक गर्दै पीडितहरूले भनेका छन्, ‘हामी के यहाँ विवाह गर्न आएका हौं र ? हामी त यहाँ काम गर्न आएका हौं, तर यहाँ हाम्रो अनुहार हेर्न आउँछन्, काम गर्न ल्याएको भए काम दिनुप¥यो, होइन भने हामीलाई घर पठाउनुप¥यो ।’

कुवेत पुग्नेबित्तिकै आफूहरूको मोबाइल पनि खोसेको र एउटा बन्द कोठामा थुनेर राखेको पीडितहरूले बताएका छन् । उनीहरूले अहिलेसम्म आफूहरूलाई काममा नलगाएको पनि बताएका छन् ।

नेपालबाट कुवेत जाने बेलामा म्यानपावर तथा दलालहरूले ‘पैसा खातामा नहालिदिनु, क्यास नै दिनु भनेको, कुवेतको एकदमै राम्रो कम्पनी भनेर पठाएको’ पनि उनीहरूले बताएका छन् ।

तर कुवेत आएपछि भने अनुहार हेरेर घरमा काम लगाउन खोजेको दुखेसो उनीहरूले पोखेका छन् । ‘हामी घरेलु कामदारका रूपमा काम गर्न आएका होइनौं, एक–दुई दिनका लागि पनि जाँदैनौं,’ पीडितहरूले भनेका छन्, ‘हामी कम्पनीको काममा भनेर आएका हौं, अरू कुनै बाहिर काम गर्दैनौं, जे गर्छ गरोस् ।’

सम्झौतानुसारको काम नदिए नेपाल फर्काउन पनि उनीहरूले माग गरेका छन् । कम्पनीले खान बस्न दिएका छौं भनेर आफूहरूलाई थर्काउने गरेको उनीहरूले बताएका छन् । उनीहरूले कमपनीले दिएको पैसाले आफूहरूलाई बस्न पनि नपुग्ने बताएका छन् ।

नेपालमा रहेको म्यानपावर कम्पनीलाई सम्पर्क गर्दा पनि बेवास्ता गर्ने गरेको उनीहरूको गुनासो छ ।

पीडितहरूले सम्झौतानुसारको काम दिन नसके तत्काल आफूहरूलाई उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकार, कुवेतस्थित नेपाली दूतावासलगायत सरोकारवाला निकायहरूलाई अनुरोध गरेका छन् । कुवेतमा रहेका घनश्याम थापा मगरका अनुसार म्यानपावरलाई प्रतिव्यक्ति २ लाख ४५ हजार रुपैयाँ तिरेर कुवेत पुगेका उनीहरू अहिले कम्पनीले न काम, न दाम दिएपछि भोकभोकै बस्न बाध्य छन् ।

७५ केडी मासिक तलब र अन्य सुविधा पाउने आशले कुवेतस्थित फल्कोन क्लिनर कम्पनीमा आएका १४ जना नेपाली चेलीबेटी अलपत्र अवस्थामा रहेको बताउँदै उनले तत्काल उद्धार गर्न नेपाली दूतावासलाई आग्रह गरेका छन् । कुवेत गएका १५ जनामध्ये एक जनालाई चाहिँ म्यानपावरले नेपाल फर्काइसकेको थापाले बताए । उनीहरू अलपत्र परेको ’bout अहिलेसम्म कुनै जानकारी नआएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)

epaper

ताजा समाचार

सीमा सुरक्षादेखि ‘डिजिटल’ रूपान्तरणमा सशस्त्र प्रहरी