प्रचण्ड कसको आशा वा भरमा ?

गते भीष्मे हते द्रोणे कर्णे च विनिपातिते ।
आशा बलवती राजन् शल्यो जेष्यति पाण्डवान् ।।

महाभारत युद्ध अन्तिम चरणमा प्रवेश गर्दै थियो । भीष्म, द्रोण र कर्णजस्ता महावीर सेनानायकहरू समाप्त भए । कर्णको मृत्युको खबर बताउन आएका मद्र देशका राजा एवं कर्णका सारथी शल्यलाई कौरव युवराज दुर्योधनले कौरव सेनाको प्रधान सेनापति नियुक्त गर्छन् । त्यही दृश्य देखेर राजा धृतराष्ट्रलाई युद्धको प्रत्यक्ष समाचार सुनाउँदै गरेका संजयले बोलेका वाक्य हुन् यी । उनी भन्दै थिए– भीष्म समाप्त भए, द्रोणले मृत्यु प्राप्त गरे र कर्णको पनि नाश भयो, अब शल्यले पाण्डवलाई जित्नेछन् भन्ने आशा छ, हे राजन् ! आशा एकदमै बलवान हुँदो रहेछ ।

आशा गर्नु मानवजन्य स्वभाव हो । दूसाध्य रोगले ग्रस्त मरणासन्न व्यक्तिलाई पनि बाँच्ने इच्छा हुँदो रहेछ । अझ त्यो इच्छा सामान्य व्यक्तिलाई भन्दा अत्यन्तै प्रवल हुँदो रहेछ । हस्तिनापुरका युवराज दुर्योधनलाई पनि मद्रनरेश शल्यको पराक्रमप्रति विश्वास जाग्नु अस्वाभाविक भएन । यस्तो अवस्थामा आफ्ना विरुद्ध भएको धरातलीय यथार्थलाई बुझ्ने क्षमता पुरै नष्ट हुँदो रहेछ । दुर्योधनले त वर्तमानको आँकलन गर्न नसकेका मात्र होइनन्, अतितलाई पनि पुरै बिर्सेको देखियो । शल्य पाण्डव राजकुमार नकूल र सहदेवका साख्खै मामा थिए । पाण्डव पक्षबाट युद्ध गर्न आएका शल्यलाई दुर्योधनले झुक्क्याएर आतिथ्य प्रदान गरेर आफ्नो पक्षमा ल्याएका थिए । यो जालझेलको तुस शल्यमा सधैं रह्यो । कर्णको अनुरोधमा सारथी बनेका शल्य अन्त्यसम्म पनि आफ्ना रथीको मनोबल गिराउन नै उद्यत रहे । शल्यको पराक्रम र कौशल उनका पूर्ववर्ती सेना नायकहरूको तुलनामा न्यून थियो । त्यसमाथि शल्य कौरवले जितोस् भनेर चाहँदै चाहँदैनथे ! तर पनि दुर्योधनको आशा जीवितै रह्यो ।

प्रचण्डले महाकालेश्वर मन्दिरमा पुगेर प्रकट रुपमा श्रद्धा दर्साएको ठीक साँचो हो । तर, कतै गुप्त रुपमा कुबेरसँग साँठगाँठ पनि गर्न पुगेछन् कि ! त्यसो हो भने भगवान् भोलेनाथको सम्पूर्ण कृपादृष्टिचाहिँ प्राप्त नहुने कुरो ठोकेरै भन्न सकिन्छ । भगवान् महाकालेश्वरलाई ओलीको तुलनामा प्रचण्ड ठिकै लाग्दो हो

पाठकलाई लाग्दो हो– यो पौराणिक प्रसंग अहिले किन उप्काइँदै छ ? स्वाभाविक हो । तर, अहिले नेपालको राजनीतिक परिदृश्यमा देखिएको पात्र र तिनका व्यवहार हेर्दा यो प्रसंग सान्दर्भिक लागेर उल्लेख गरेको हुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कामचलाउ बनिसकेका छन् । उनी पुनः काम चलाउबाट पूर्णकालीन बन्ने सम्भावना शून्यबराबर छ । निकै अकल्पनीय चमत्कार भएको अवस्थामा बाहेक अब उनी पूर्वप्रधानमन्त्रीमा परिणत हुने हुन् । अर्थात् भीष्म, द्रोण र कर्णजस्ता उनका पराक्रमी सेनानीहरू ढलिसके । तर, उनी झुक्याएर आफ्नो खेमामा ल्याइएका शल्यलाई सेनापति बनाएर पाण्डवलाई परास्त गर्ने आशामा उफ्रेजस्तो पो देखिन्छ । ती शल्य सेनापति को हुन् त ? रवि लामिछानेको पराक्रमी सेना ? रवि त आफैं सेनाबाट हट्छु भनेर निवेदन हाल्न पुगेका थिए । तर, प्रधानमन्त्रीज्यूले मेरो अन्तिम क्षणसम्म साथ दिनुप¥यो भन्दै अनुनय विनय गरे र रविले मानिदिए ! रवि लामिछाने प्रचण्डका लागि अर्जुनसँग हार्छु भनेर थाहा पाउँदापाउँदै अर्जुनलाई युद्धभुमिबाट टाढा लगेर दुर्योधनलाई सघाउने षड्यन्त्रकारी सुशर्मा हुन् कि अभिमन्यु बधका कारक जयद्रथ हुन् अथवा जरा नामको राक्षसीले शरीर जोडेर बनाइदिएकी कृत्रिम जरासन्ध हुन् ? खुट्याउन वास्तवमै गाह्रो छ । माधवकुमार नेपाल पो हुन् कि ? माधवकुमार नेपालसँग त शल्यको जस्तो क्षमता र चरित्र दुवै देखिन्न ! खोइ को हो त प्रचण्डरूपी दुर्योधनका शल्य ? आखिर उनी कुनै शल्यकै भरमा पाण्डवलाई परास्त गर्छु भनेर हिँडेको त शतप्रतिशत साँचो हो !

शास्त्रानुसार १० दिशाको वर्णन पाइन्छ । पूर्व, पश्चिम, उत्तर र दक्षिण त हामी सबैलाई थाहा छ । यसबाहेक पूर्व–उत्तर कोणलाई ईशान, पूर्व–दक्षिण कोणलाई आग्नेय, दक्षिण–पश्चिम कोणलाई नैऋत्य र उत्तर–पश्चिम कोणलाई वायव्य दिशा भनिन्छ । हाम्रो शीरको माथिको दिशालाई उध्र्व र पाइताला मुनिको लाई अधो दिशा भनिन्छ । १० दिशाका देवताहरूमा उध्र्वका ब्रह्मा, ईशानका शिव, पूर्वका इन्द्र, आग्नेयका अग्नि, दक्षिणका यम, नैऋत्यका नऋति, पश्चिमका वरुण, वायव्यका वायु वा मारुत, उत्तरका कुबेर र अधोका अनन्त अर्थात् शेषनाग हुन् । कतै पुष्पकमल दाहाल ‘प्रचण्ड’का नजरमा तारणहार यिनै १० देवतामध्ये एक त होइनन् ? यीमध्ये एक देवतालाई शल्यका रूपमा नभई आराध्य रक्षकका रूपमा भर पर्दै ती देवताले रक्षा गर्नेछन् भन्ने आशा मात्र होइन विश्वासमै पो संसद्मा विश्वासको मत लिन्छु भनेर धक्कु लगाइरहेका पो हुन् कि !

दक्षिण दिशाका दिग्पाल अर्थात् अधिपति यमराज हुन् । यमराज मृत्युका देवता हुन् । यमराजलाई कालको अधिपति पनि भनिन्छ । तर, कालको पनि प्रचण्डरूप महाकाल हुन् । प्रचण्डले महाकालेश्वरको त आराधना गरेकै हुन् । महाकालेश्वर भोलेनाथ पनि हुन् । तिनै महाकालेश्वर भगवान् भोलेनाथको अभय बरदान प्राप्त गरेका कारण मृत्यु शøयाबाट घाटे वैद्यको शरणमा पुगिसक्दा पनि प्रचण्ड आशावादी देखिएका हुन् कि ! महाकालेश्वर भोलेनाथको सदावहार स्वाभाविक भक्त भनेर चिनिएका देउवा र देउवाको जमातलाई कजाउन सकिन्छ भनेर प्रचण्ड महाकालेश्वरको चरम कठोर आराधनामा व्यस्त पो छन् कि ! यस्तो हुनैसक्दैन भनेर ठोकुवाचाहिँ गर्न सकिन्न ! भोलेनाथका नन्दी भृंगीहरू थोरै चलमलाएको सुन्नमा पनि आएको हो ।

महाकालेश्वर भगवान्को पूर्ण दृष्टियुक्त कृपा प्राप्त भएको अवस्थामा त असम्भव भनेको केही हुन्न । विधाताले ८ वर्षको आयु तोकिदिएका बालक मार्कण्डेयलाई चिरञ्जीवी बनाइदिएका हुन्, भोलेनाथ महाकालेश्वरले ! तर, निष्ठा र समर्पणको कमी भएको अवस्थामा महाकालेश्वर भगवान्को सामान्य कृपा मात्र प्राप्त हुन्छ । भगवान् भोलेनाथलाई उत्तर दिशाका अधिपति कुबेरभन्दा कुबेरका बिमातृ अनुज रावण बढी प्यारो छ ।

महाकालेश्वरलाई कुबेरको व्यर्थको तुजुक ननिको लाग्छ । प्रचण्डले महाकालेश्वर मन्दिरमा पुगेर प्रकट रूपमा श्रद्धा दर्साएको ठीक साँचो हो । तर, कतै गुप्त रूपमा कुबेरसँग साँठगाँठ पनि गर्न पुगेछन् कि ! त्यसो हो भने भगवान् भोलेनाथको सम्पूर्ण कृपादृष्टिचाहिँ प्राप्त नहुने कुरो ठोकेरै भन्न सकिन्छ ।

महाकालेश्वर भगवान्को पूर्ण दृष्टियुक्त कृपा प्राप्त भएको अवस्थामा त असम्भव भनेको केही हुन्न । विधाताले ८ वर्षको आयु तोकिदिएका बालक मार्कण्डेयलाई चिरञ्जीवी बनाइदिएका हुन्, भोलेनाथ महाकालेश्वरले ! तर, निष्ठा र समर्पण कमी भएको अवस्थामा महाकालेश्वरको सामान्य कृपा मात्र प्राप्त हुन्छ

भगवान् महाकालेश्वरलाई ओलीको तुलनामा प्रचण्ड ठिकै लाग्दो हो । तर, कुबेर पुजक प्रचण्डलाई अभयदान दिनु उचित नलागेको हुनसक्छ । त्यसरी गुप्त कुबेर पुजकलाई अभयदान दिनुभन्दा भोलेनाथलाई आफ्ना पुराना तर नशाका कारण भड्किएका भक्तलाई एकपटक वफादारिताको शपथ दिलाई आफ्नो गणमा सामेल गर्न उचित लाग्यो कि ! शिवजीको लीला अपरम्पार छ ! प्रचण्डसँग महाकालेश्वर भगवान् कति प्रसन्न छन् भन्ने कुरो आगामी २८ असारमा छर्लंग हुने नै छ ।

उत्तर र दक्षिण दिशा र त्यहाँका अधिपतिका कुरा गरियो । हाम्रो परिप्रेक्ष्यमा पूर्व, पश्चिम र लगभग ईशान आदि चारैवटा कोणहरू पनि दक्षिणाधिपतिको प्रभावमा छन् । उध्र्व दिशाका ब्रह्माजी ध्यानमग्न रहन्छन् र यो कलियुगमा बरदान र श्राप दिन बन्द गरेका छन् । एकैक्षण अधो दिशा र तिनको अधिपतिको कुरा गरौं । अधो अर्थात् पैतालामुनिको दिशा । हामी उभिएको जमिनलाई सिधा कुनै अनन्त लामो सुइरोले अर्को ध्रुवमा निस्कनेगरी छेद्ने हो भने कहाँ निस्केला ? त्यो नै अधो दिशा हो ।

त्यस दिशाको दिग्पाल अर्थात् अधिपतिचाहिँ अनन्त अर्थात् शेषनाग हुन् । शेषनागचाहिँ प्रचण्डसँग अत्यन्तै कुपित भएको स्पष्टै अनुभव हुन्छ । उत्तराधिपति कुबेरलाई नेपाल भूमिमा भोग विलास गर्न दिएको वा दिन लागेको आशंकामा अधो दिशाका अधिपति शेषनाग अत्यन्तै कुपित भएको राम्रै बुझे हुन्छ ।

सारा ब्रह्माण्डलाई थामेको र सम्पूर्ण सागरको हिरामोती माणिक्यलाई आफ्नो एकाधिकारयुक्त सम्पत्ति मान्ने शेषनागलाई कुबेरको चुरीफुरी पटक्कै मन पर्दैन । उनी आफ्नो फणा फैलाएर प्रचण्डतर्फ फुंकार्दै गरेको स्पष्ट देखिन्छ । अब शेषनागको क्रोधलाई शान्त पार्न त बैकुण्ठाधिपति भगवान् विष्णु वा माता लक्ष्मी नै चाहियो । कलियुगमा त्यो सम्भव छैन । यहाँ पनि नागराजलाई आफ्नो गलामा सिँगार्ने महाकालेश्वर भगवान् शिवकै कृपा चाहिन्छ । भोलेनाथको अर्धकृपाले नागराज शेषनागको क्रोध शान्त हुँदैन । अन्त्यमा हेरौं, पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भगवान् महाकालेश्वरलाई कति प्रसन्न गरेका रहेछन् । शल्यकै भरमा मात्र हो कि ?

तपाइको प्रतिक्रिया
(Visited 5,270 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनले संयुक्त चुनावी सभा गर्न नसक्नुकाे कारण यस्ताे छ