काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।
आइक्यान अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार उक्त सहयोग रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव महेन्द्र गुरागाईंमार्फत सरकारलाई हस्तान्तरण गरिएको छ । आईक्यान परिषदको गत चैत ३० गते बसेको ‘भर्चुअल’ बैठकले कोराना कोषमा १ करोड रुपैया सहयोग गर्ने निर्णय गरेको थियो ।
परिषद बैठकले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षको बैदेशिक भ्रमण नियन्त्रण र अन्य खर्चहरु कटौति गर्ने समेत निर्णय गरेको छ । कमजोर आयस्रोत भएका तथा कोरोना भाइरसको प्रभावले विद्यार्थीलाई पर्न सक्ने आर्थिक समस्यालाई सम्बोधन गर्न नियमित छात्रवृत्तिबाहेक थप राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । ‘यसबाट कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई केही राहत पु-याउने हाम्रो विश्वास छ,’ आचार्यले भने ।






