लन्डन । फ्रान्सलाई पराजित गर्दै स्पेन युरो कपको फाइनलमा प्रवेश गरेको छ। म्युनिख फुटबल एरेनामा बुधबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो ।
खेलको ९ मिनेटमा कप्तान केलियन एमबाप्पेले दिएको पासमा कोलो मुआनीले हेडर गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। तर, उक्त अग्रता धेरै बेर टिकेन। २१औं मिनेटमा लामिनी यमलले गोल गर्दै स्पेनलाई खेलमा फर्काए। पेनाल्टी बक्स बाहिरबाट उनले प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भएको थियो।
त्यसको ४ मिनेटपछि अर्थात् खेलको २५ औं मिनेटमा दानी ओल्मोले गोल गर्दै स्पेनलाई २–१ को अग्रता दिलाए। बाँकी समय थप गोल हुन सकेन र स्पेन फाइनलमा पुग्यो।
पछिल्लो पटक सन् २०१२ पछि स्पेन फाइनलमा पुगेको हो। उक्त प्रतियोगिताको फाइनलमा स्पेनले इटालीलाई ४–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो पटक उपाधि जितेको थियो। १२ वर्षपछि स्पेन फाइनलमा पुगेको हो ।
त्यसपछिका दुई संस्करणमा स्पेन सेमिफाइनलभन्दा माथि उक्लिन सकेको थिएन। यसपटक प्रतियोगितामा अपराजित रहेको स्पेनलाई फाइनल पुर्याउन लामिन यमल र डानी ओल्मोले गोल गरे। स्पेनले बिहीबार बिहान १२ः४५ मा हुने दोस्रो सेमिफाइनलअन्तर्गत इङ्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि भिड्ने छ।






