काठमाडौं । किताव पढ्ने संस्कृतिलाई प्रवर्धन गर्न छैटौं ‘किताब जात्रा’ हुने भएको छ । आयोजक किताब यात्रा फाउन्डेसनले छैटौं संस्करणको किताव जात्र १८ र १९ साउनमो काठमाडौंका सुन्धारा स्थित आर्मी अफिसर्स क्लबमा हुने जनाएको छ । जात्रामा साहित्यका विविध गतिविधिसँगै आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन् ।
किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ । गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई यो सम्मान प्रदान गरिएको थियो । यसवर्ष पनि जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ ।
‘किताब जात्राको छैठौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं । प्रतिकूल अर्थतन्त्रका कारण २०८० को संस्करण हामीले गर्न नसकेपनि किताब जात्राको यात्रालाई यो वर्ष फेरी नयाँ आयामका साथ निरन्तरता दिँदैछौं ।’
लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १५ वटा सेसन रहने डाइरेक्टर अधिकारीले जानकारी दिए । कार्यक्रममा संगम श्रुति ब्यान्डको सांगीतिक प्रस्तुति रहने पनि उनले जनाए ।
फेस्टिभल कोअर्डिनेटर विकेश भट्टराईका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन् । जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए ।






