पवनपुत्र हनुमान : बाबोसा

भगवान् श्री बाबोसालाई पवनपुत्र हनुमानको अवतारका रूपमा पुजिन्छ । भगवान् श्री बाबोसाको मन्दिर भारतको राजस्थानस्थित चारु सहरमा अवस्थित छ । यस स्थानलाई चारु धाम भनिन्छ । यो धाम दिल्ली विकानेर रेलवे लाइनस्थित छ भने न्यू दिल्लीबाट २ सय ५६ किमी टाढा रहेको छ । हाल यो स्थान लाखौं भक्तजनहरूको केन्द्र बनेको छ । यस स्थानमा विश्वका विभिन्न मुलुकबाट भक्तजनहरू आउने गर्छन् । भक्तजनहरूले विश्वास गर्दै आएका छन् कि यहाँ तिनीहरूका हरेक इच्छा पूरा हुन्छन् ।

भगवान् बाबोसा कलियुग अवतारी हुन्, यो कलियुगमा । तर, हाम्रो भौतिक ज्ञानका कारण हामीले आफ्नो आँखाले प्रत्यक्ष नदेखेसम्म कुनै पनि कुराको विश्वास गर्दैनौं । भगवान् श्री बाबोसाले हामीलाई दर्शन दिन्छन् भन्ने भक्तजनहरूको भनाइ रहिआएको छ । बाबोसाका भक्तजनहरूले नांगो आँखाले दर्शन पाएका छन् पनि भनिन्छ । भगवान् बाबोसाले भक्तजनहरूलाई विभिन्न रूपमा दर्शन दिन्छन् पनि भनिन्छ । कसैलाई भगवान् कृष्णको रूपमा, कसैलाई भगवान् विष्णु र कसैलाई बजरंगवली भगवान् हनुमानका रूपमा दर्शन दिन्छन्, भगवान् बाबोसाले । त्यसैले कतिपय भक्तजनले भगवान् बाबोसालाई कृष्णका रूपमा, कसैले विष्णु भगवानका रूपमा त कसैले बजरंगवली हनुमानका रूपमा पूजा गर्दै आइरहेका छन् ।

मंसिर शुक्ल पञ्चमीका दिन बजरंगवली हनुमानले पन्नालाई आफ्नो शक्ति र वरदान दिएका थिए । साथै, हनुमानले नै राजतिलक अभिषेक गरी दिएर पन्नालाई भनेका थिए कि सबैले तिमीलाई मेरो नामबाटै जान्नेछन् । त्यसबेलादेखि नै पन्ना बाबोसा महाराज अर्थात् बालाजी बाबोसा महाराजका नामले प्रख्यात भएका हुन् भनिन्छ ।

‘बाबोसा’ शब्दलाई ब्रह्मा, विष्णु र शंकरको त्रिप्रतीकका रूपमा लिने गरिन्छ ।

बाबोसा महाराज माघ शुक्ल पञ्चमी वसन्त पञ्चमीमा जन्मेका हुन् भने उनको अभिषेक हनुमानले मंसिर शुक्ल पञ्चमीमा गरेका हुन् ।

भक्तजनहरूका भनाइनुसार बाबोसा मन्दिरमा नरिवल चढाएमा भक्तको इच्छा पूरा हुन्छ अर्थात् इच्छाएको कुरा पूरा हुन्छ । भगवान् श्री बाबोसा महाराजको शक्तिद्वारा असाध्य निको नहुने खालको रोग पनि निको हुन्छन् र भूत, प्रेत, तन्त्रमन्त्रका समस्या पनि समाधान हुन्छ । यसका साथै शारीरिक, मानसिकजस्ता हरेक समस्याहरूको पनि समाधान हुन्छ । बाबोसा मन्दिरबाट आरतीको जल, आरतीकै विभूति र पवित्र धागो ग्रहण गरेमा अत्यन्तै शुभ हुने जनविश्वास रहिआएको छ । भक्तजनहरूले दाबीका साथ अनुभव गरेका छन् कि यी तीन चिजबाट जीवनमा जादू नै हुने गरेको छ । यी चिज धारण गर्नाले भक्तजनका सम्पूर्ण इच्छा, आकांक्षा पूरा हुनुका साथै अनेकौं समस्याको समाधान भएको छ ।

श्री बाबोसा महाराजको जन्म माघ शुक्ल वसन्त पञ्चमीका दिन भएकाले प्रत्येक वर्ष सोही दिन श्री बाबोसाको जन्मोत्सव भव्य रूपमा मनाइन्छ । बाबोसाको जन्म चारुमा भएको थियो भने उनलाई बजरंगवली हनुमानका रूपमा पुजिन्छ । धेरै भक्तजनहरूमा असंख्य चमत्कारको प्रादुर्भाव भएको भगवान् बाबोसाकै दैविक शक्तिबाट हो भन्ने गरिन्छ । जो भक्तजनहरूले बाबोसालाई पूर्ण भक्तिसाथ पूजा गर्छन् उनीहरूको खराब समय पनि सुध्रिने र विभिन्न प्रकारका वरदान पनि पाउने गरेको जनविश्वास छ । बाबोसाको पूजा आराधनाले भक्तजनहरूले जादुमय असर परेको अनुभव पनि गरेका छन् ।

बाबोसा महाराजको जन्म भारतको चारु राजस्थान प्रान्तमा भएको थियो । उनका पिताको नाम गेभरचन्द कोठारी र माताको नाम चंगीदेवी कोठारी हो । माता चंगीदेवी भगवान् श्री हनुमाकी परम भक्त थिइन् । एक दिन उनको भक्तिभावबाट खुसी भई बजरंगवली हनुमानले चंगीदेवीलाई वरदान माग भन्दा चंगीदेवीले हजुरजस्तै वुद्धिमान र शक्तिशाली छोरा पाऊँ भनी मागिन् । ९ महिनापछि चंगीदेवीले एकदम राम्रो पुत्रलाई जन्म दिइन् र बाल पुत्रको नाम पन्ना राखियो । पन्ना भगवान् हनुमानका ठूला भक्त थिए । पन्नाले बालक कालदेखि नै अनेकौं लीला देखाउन थाले । पन्नाको शक्ति र चमत्कारले उनलाई प्रख्यात बनाउन थाल्यो । पन्नाले १८ वर्ष लाग्दा पृथ्वीलोक छाडेर मंसिर शुक्ल पञ्चमीका दिन स्वर्गलोकमा गए ।

स्वर्गलोकमा पनि पन्नालाई भगवान् हुनमानकै अवतारका रूपमा मानियो । सोही मंसिर शुक्ल पञ्चमीको दिनलाई उत्सवका रूपमा मानिन्छ । हरेक वर्ष कलकता सहरमा व्यापक रूपमा उत्सव मनाउँदै कीर्तन गरिन्छ, मेला नै लाग्ने गर्छ । बाबोसाले सो उत्सवको अवसरमा हजारौं भक्तजनहरूलाई आशिष दिन्छन् भन्ने विश्वास रहिआएको छ ।

भक्तजनको भनाइनुसार बाबोसा मन्दिरमा नरिवल चढाएमा भक्तको इच्छा पूरा हुन्छ

विश्वका विभिन्न मुलुकमा यस दिन भजन, कीर्तन र भण्डार पनि लगाइन्छ भने कतिपयले व्रत पनि बस्छन् । कतिपय भक्तजनहरूले हरेक मंगलबार व्रत बस्ने गरेका छन् । हरेक मंगलबार बाबोसा महाराजको विशेष दिनका रूपमा मानिन्छ ।

बाबोसा नाम नै विशेष उल्लेखनीय रूपमा लिइन्छ । बाबोसा शब्दलाई तीन भागमा विभाजित गरेर ‘बाबोसा’को यसरी अर्थ लगाइन्छ । ‘बा’ले ब्रह्मा, ‘बो’ले विष्णु र ‘सा’ले शिवशंकरको प्रतीक जनाउने गर्छ भनी सोही रूपमा लिइन्छ । यसबाट के बुझिन्छ भने ब्रह्मा, विष्णु र महेश बाबोसा शब्द नै एक सशक्त महामन्त्रको रूपमा प्रादुर्भाव भएको छ, भक्तजनहरूका लागि । भक्तजनहरूले विश्वास गर्दै आइरहेका छन् कि स्वच्छ पवित्र हृदयका साथ ॐ बाबोसा जपेमा दैनिक शक्ति प्राप्त गर्न सकिन्छ र सम्पूर्ण समस्या तत्कालै समाधान हुन्छ ।

आज यस कलियुगका अवतार विश्वका लाखौं भक्तजनहरूको हृदयमा बसेका छन् । श्री बाबोसा महाराजको दरबार मन्दिरमा जो कोहीले पनि इच्छा पूरा गर्न सक्छन् भने बाबोसा महाराजको आशीष पाउन सक्छन् । जो कोही पनि स्वच्छ हृदय र विश्वासका साथ यस दरबारमा आउँछन्, खाली हात फर्किनु पर्नेछैन । यसै कारणले गर्दा जो पनि बाबोसाको मन्दिरमा जान चाहन्छन् । भक्तजनहरूले भित्री सुख अनुभव गर्छन् । उनीहरू यस मन्दिरमा शान्ति महसुस गर्दै दीर्घ जीवन बिताउन सफल हुन्छन् । भक्तजनहरूले बाबोसाको मन्दिरमा आफ्नो हृदयबाट सिधै आवाज आएको सुन्न सक्छन् पनि भनिन्छ । बाबोसाको मन्दिरमा भजन, कीर्तन गर्ने भक्तजनहरूको भीड लागिरहन्छ ।

भारतलगायत विश्वका अनेकौं स्थानमा बाबोसाका भक्तजनहरू दिन प्रतिदिन बढ्दै छन् । नेपालका तराईमा पनि भक्तजनहरूको संख्या बढ्दै छ । एकपटक पुग्नैपर्ने ठाउँ हो बाबोसा मन्दिर, राजस्थान । ॐ नमोः श्री बाबोसा देवाय् नमोनमः । श्री बाबोसाले सबैको कल्याण गरून् ।

तपाइको प्रतिक्रिया
(Visited 134 times, 1 visits today)

epaper

ताजा समाचार

फ्रान्स र स्पेनमध्ये को पुग्ला विश्वकप फाइनलमा ?