दैलेख । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न पर्यटकीय स्थलबाट दुई करोड भन्दा बढीको राजस्व संकलन गरेको छ । प्रदेशका विभिन्न स्थानबाट आन्तरिक एवं वाह्य पर्यटकबाट दुई करोड १४ लाख ७५ हजार नौ सय १७ राजस्व सङ्कलन गरेको हो ।
आर्थिक वर्ष २०८०–८१ मा प्रदेश सरकारले रारा राष्ट्रिय निकुञ्जबाट ४१ लाख १२ हजार दुई सय, सुर्खेत प्रादेशिक शहीद पार्कबाट रु ९० लाख ९० हजार, काँक्रेबिहारबाट रु ११ लाख ५० हजार तीन सय र बुलबुले उद्यानबाट रु ७१ लाख १४ हजार चार सय १७ रुपैयाँ कर्णाली प्रदेशको उद्योग,पर्यटन वन तना वातावरण मन्त्रालयले जनाएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन विकास शाखाका प्रमुख प्रशासकीय अधिकृत देवकुमारी शाहीका अनुसार से–फोक्सुण्डो ताल, गुराँसे गाउँपालिकामा रहेको दैलेख‘भ्यूटावर’बाटसङ्कलन भएको राजस्व यसमा समावेश भएको छैन ।
कर्णालीका महत्वपुर्ण पर्यटकीय स्थल मानिने सल्यानको कुपिण्डे ताल, रुकुमपश्चिमको स्यार्पुताल, जुम्लाको गिडी दह, चन्दननाथ मन्दिर, कनकासुन्दरी, डोल्पाको त्रिपुरासुन्दरी, कालिकोटको पचाल झरना, दैलेखको पञ्चकोशी, दुल्लु दरबार, गढी क्षेत्र, हुम्लाको लिमी उपत्यका, जाजरकोट दरबार, सुर्खेतको बराहताल, जाजुरा दहलगायत स्थानको अभिलेख पनि मन्त्रालयसँग नभएको शाहीले जानकारी दिइन ।






