काठमाडौं । नेपाली चलचित्र क्षेत्रका महँगा र स्टार भनेर चिनिएका अभिनेताको चलचित्र रिलिज नै नभई २०७६ साल बित्यो । दर्शकलाई २०७६ सालमा महँगा अभिनेता अनमोल केसी, प्रदीप खड्का, खगेन्द्र लामिछाने, सलिनमान बनियाँलगायतले एउटा पनि चलचित्र दिन सकेनन् । यी स्टार कलाकारका चलचित्रबिना पनि नेपाली सिने उद्योगमा २०७६मा ५६ वटा नेपाली चलचित्र रिलिज भए ।
२०७६ सालमा अभिनेता अनमोल केसीको ब्याचलर बन्टी र धुपौरे गरी दुइवटा फिल्म आउने आशा गरिएको थियो । आफू अनुबन्धित भएको निर्देशक मिलन चाम्सको फिल्म ब्याचलर बन्टीको कथा मन परेन भनेर गतवर्षको सुरुमै अभिनेता अनमोलले यो फिल्म छाडे । जसका कारण यो चलचित्रको छायांकन नै भए । यसपछि गत असोजमा अर्को फिल्म धुपौरेमा अभिनेता अनमोल अनुबन्धित भए । यो फिल्म मंसिरमा छायांकन सुरु गर्नुअघि अनमोलले धुपौरेको स्कृप्ट मन परेन भन्दै यो चलचित्र पनि छाडे । उनी र धुपौरेको निर्माताबीचको विवाद अहिले पनि टुंगिएको छैन ।
यसरी, अनमोलले लगातार दुईवटा फिल्म एक वर्षभित्रै छाडेपछि उनको यी दुवै फिल्म रिलिज हुन नसकेका हुन् । यसपछि बल्ल उनी अर्को चलचित्र ए मेरो हजुर ४ मा अनुबन्धित भएका हुन् । यो चलचित्रको अहिलेसम्म ३० प्रतिशत मात्र छायांकन भएको छ । एउटा चलचित्रबाट ५० लाख रुपैयाँ पारिश्रमिक लिन थालेका अनमोल केसी नेपाली चलचित्र उद्योगका सबैभन्दा महँगा अभिनेताका रूपमा परिचित छन् । निकै चुजी हिरो मानिएका यी अभिनेताले यस्तै कारण २०७६ सालमा एउटा पनि चलचित्र आफ्ना दर्शकलाई दिन सकेनन् । अब उनको नयाँ चलचित्र ए मेरो हजुर ४ आगामी दसंैमा रिलिज हुने भएको छ । अनमोलकै गृह ब्यानरमा अर्को चलचित्र पारस पनि निर्माण हुने भएको छ । यो चलचित्र मंसिर या फागुनमध्ये एउटा मितिमा रिलिज हुने बताइएको छ ।
अर्का स्टार अभिनेता हुन प्रदीप खड्का । उनले एउटा फिल्मबाट ४० लाख रुपैयाँ लिन थालेका छन् । अभिनेता प्रदीपको पनि २०७६ सालमा दर्शकमाझ चलचित्र आउन सकेन । अभिनेता प्रदीपले अभिनय गरेको पछिल्लो चलचित्र प्रेमगीत ३ गतसाता २८ चैतमा रिलिज हुने तयारी हुँदै थियो । तर, मुलुकमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि यी अभिनेताको चलचित्र प्रेमगीत ३ पनि रिलिज हुन सकेन । अब उनको यो चलचित्र आगामी भदौमा रिलिज हुने सम्भावना रहेको छ । प्रदीपले २०७६ को लागि एउटा मात्र चलचित्र प्रेमगीत ३ खेलेका थिए । गएको वर्ष यो चलचित्रमार्फत दर्शकमाझ आउने उनको चाहना कोरोना संक्रमणका कारण पूरा भएन ।
एउटा चलचित्रबाट २५ लाख रुपैयाँ पारिश्रमिक माग गर्ने अर्का अभिनेता खगेन्द्र लामिछाने हुन् । चलचित्र पशुपति प्रसादको सफलतासँगै उनको पारिश्रमिक महँगिएको हो । २०७५ सालमा उनले व्यावसायिक सफल चलचित्र जय भोले दर्शकलाई दिएका थिए । तर, यी महँगा अभिनेताको पनि २०७६ सालमा एउटा चलचित्र पनि रिलिज हुन सकेन । उनले यो वर्ष नयाँ चलचित्र पानीफोटो ल्याउने योजना बनाएका थिए । चलचित्र पानीफोटोका निर्माता निर्देशक र मुख्य अभिनेता पनि उनै थिए । मुलुकमा कोरोना संक्रमण देखिएपछि चलचित्र उद्योगको काम ठप्प भयो । जसका कारण यी अभिनेताको चलचित्र पानीफोटोको प्राविधिक कार्य सकिएको छैन । यसरी अभिनेता खगेन्द्र लामिछानेले पनि २०७६ मा दर्शकलाई एउटा पनि फिल्म दिन सकेनन् ।
अर्का चकलेटी अभिनेता सलिनमान बनियाँको पनि २०७६ सालमा चलचित्र रिलिज भएन । उनको २०७५ को अन्तिममा चलचित्र यात्रा द भ्लग रिलिज भएको थियो । तर, २०७६ सालमा उनले एउटा पनि चलचित्रमा काम गरेनन् । उनलाई नयाँ चलचित्रबाट प्रस्ताव आएको थियो । स्कृप्ट चित्त नबुझेपछि उनले काम नगरेका हुन् । यसरी महँगो पारिश्रमिक लिने यी चार अभिनेताका एउटा पनि चलचित्र २०७६ सालमा रिलिज हुन सकेनन् ।






