भाषाविज्ञान अध्ययनका क्षेत्रमा सपिर–होर्फको सिद्धान्तले एक महŒवपूर्ण स्थान ओगेटेको छ । यस सिद्धान्तले परिकल्पना गर्छ, कुनै एक भाषाको वक्ताले व्यक्त गरेका कुनै खास अवधारणा कुनै अर्को भाषाको श्रोताले ग्रहण नगर्न सक्छन् किनकि श्रोताको मातृभाषामा ती अवधारणालाई इंगित गर्ने वा प्रतिनिधित्व गर्ने शब्द हुँदैनन् । मूलतः शब्दले नै अवधारणाको प्रतिनिधित्व गर्छन् भन्ने मानिन्छ । यद्यपि, शब्द धारणा निःसृत हो या शब्दले धारणाको निर्धारण गर्छ भन्ने विषय भाषा अध्ययनका क्षेत्रमा अझैसम्म पनि एक विवादको विषय रहेको छ । यस सम्बन्धमा भाषाशास्त्रीका आआफ्नै तर्क रहेका छन् । कोही भन्छन्– शब्दले धारणाको प्रतिनिधित्व गर्छ । अर्का थरी भन्छन्– होइन, धारणाले शब्दको निर्माण गर्छ । यस विवादलाई अर्को किसिमले यसरी पनि राख्न सकिन्छ– हामीले कुनै पनि गतिविधिको धारणा शब्दबाट गर्छौं वा हामीले धारण गरेको धारणाले शब्दको प्रस्फुटन हुन्छ ।
भाषाले भावना तथा विचार मात्र बोक्दैन, संस्कृति, परम्परा, जीवनशैली र आदर्श पनि बोकेका हुन्छन्
हामीले दोस्रो थरीका भाषाशास्त्रीले भनेझैं कुनै एक भाषामा व्यक्त गरिएका खास अवधारणा अर्को भाषाको वक्ताले बोध गर्न सक्दैन भन्ने मतलाई आत्मसात गर्ने हो भने ती खास अवधारणा बुझ्न प्रथमतः श्रोताले ती अवधारणा ग्रहण गर्न आवश्यक सम्बन्धित धारणाको विकास गर्नुपर्ने पूर्वसर्त बन्न जान्छ । तत्पश्चात् मात्र श्रोता÷वाचक ती अवधारणाजन्य शब्दले बोकेको भावना, मनना र व्यथा बुझ्न समर्थ हुन सक्छन् ।
यस विश्लेषणले यही तथ्यलाई उजागर गर्छ । जस्तै : अदालती प्रक्रियामा कुनै खास मातृभाषा भएका पीडक वा पीडितका भावना र भनाइ टिपोट गर्दा होस् अथवा कक्षाकोठाभित्रको एक शिक्षार्थीले आफ्नो मातृभाषामा व्यक्त गरेका भावना होस् अथवा कुनै एक मातृभाषामा लिखित कृति अर्को भाषामा अनुवाद गर्दा होस् कथ्य वा लेख्य रूपमा प्रस्तुत गरिएका भावना र मननालाई ग्रहण गर्दा वा लक्षित भाषामा अनुवाद गर्दा वक्ता वा लेखकका भावना र मनना लक्षित भाषामा साट्न सकिने अवस्था छ÷छैन भनी मिहिन ढंगले विश्लेषण गर्नुपर्ने हुन्छ भन्ने तथ्यलाई जोड दिन्छ । हुन त मानवीय संवेदना र विचारलाई लेख्यकथ्य माध्यमबाहेक गैरलेख्यकथ्य माध्यमबाट पनि अभिव्यक्त गर्न सकिन्छ । जेसुकै भए तापनि मानवका अधिकांश विचार तथा भावनाको आदानप्रदान लेख्यकथ्य रूपमा हुन्छ ।
कानुनका व्याख्याताले कानुनको व्याख्या गर्दा उनीहरूको अधिकार क्षेत्र, सुझ, क्षमता र मननाका आधारमा कहिले स्वच्छन्दतापूर्ण ढंगले व्याख्या गर्ने गर्छन् त कहिले शब्दतः संकीर्ण तरिकाले व्याख्या गरेको पाइन्छ । अझ भन्ने हो भने उनीहरू आफूअनुकूल कानुनका व्यवस्थाहरूलाई व्याख्या गर्छन् । समाजका हरेक संस्था तथा व्यक्तिले कुनै संस्था वा व्यक्तिका विचार तथा भावना ग्रहण गर्दा स्रोत भाषामा अभिव्यक्त धारणाको मिहिन ढंगले विश्लेषण गर्नुपर्ने हुन्छ अन्यथा भावना र मननाको वास्तविक प्रतिनिधित्व नहुन सक्छ । जसले गर्दा विचार र तर्कको गलत व्याख्या भई ‘आग्रा’को कुरा ‘गाग्रा’ बन्न पुग्छ ।
विशेषगरी, समाजमा अहं भूमिका भएका भनिएका जस्तै विकासे कार्यकर्ता, सामाजिक विकासका अगुवा, धार्मिक नेताहरू, राजनीतिक दलका नेता, चिकित्सक र शिक्षक यस विषयमा गम्भीर रूपमा सचेत हुनुपर्छ । हामी भन्न सक्छौं– विकासे कार्यकर्ता, सामाजिक विकासका अगुवा, राजनीतिक दलका नेताले विभिन्न भाषाभाषी भएका मानिसद्वारा अभिव्यक्त विचार तथा धारणालाई विकासका मोडलमा समाहित गर्न नसके के होला ? साँच्चिकै उनीहरूका आवश्यकतालाई हृदयंगम नगरे त्यो विकास कस्तो विकास होला ? जनताले चाहेको जनताको पक्षको विकास कदापि हुन सक्दैन । त्यसैगरी, कानुन व्यवसायीले पीडितका पीडा र विवादको यथार्थ ढंगले दुरुस्त रूपमा न्यायालयसमक्ष दर्साउन नसक्दा तथा न्यायमूर्तिले कानुनी व्यवस्थाको तर्कपूर्ण व्याख्याको प्रतिनिधित्व नगरे न्याय पर्न सक्ने अवस्था पक्कै पनि रहँदैन । त्यसैगरी, चिकित्सकले बिरामीका कथनीलाई नगुन्दा रोगको निदान गर्न कठिन हुन्छ होला । धार्मिक नेताले जनभावनाअनुसारका चेत मुखरित गर्न नसक्दा सामाजिक सदभाव खलबलिन सक्छ होला । विधायकले उनीहरूलाई चुनी पठाएका जनताको वास्तविक आवश्यकताअनुसार ऐन कानुन तर्जुमा गर्न नसक्दा जनताको सार्थक प्रतिनिधित्व हुन सक्दैन होला । एक लेखकले उसको समाजलाई जीवन्त राख्न समाजका सदस्यहरूको जीवनशैली र आदर्श टिप्न नसक्दा यथार्थमा त्यस समाजको प्रतिनिधित्व मुखरित हुन सक्दैन होला ।
गुरु–गुरुआमाद्वारा विभिन्न भाषाभाषी पृष्ठभूमि भएका विद्यार्थीका सिकाइ कठिनाइका गाँठाहरू फुकाउन उनीहरूका मातृभाषालाई बुझ्न वा उनीहरूलाई मातृभाषामा नै सहजीकरण गर्न कति कोसिस गरिन्छ, सोचनीय विषय हुन सक्छ । त्यसो त नेपालको संविधानको धारा ३१ (५) मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानूनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ’ भन्ने उल्लेख छ । त्यसैगरी, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन २०७५ को दफा ४ को धारा २८ मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायको कुनै पनि नागरिकलाई आफ्नो मातृभाषामा आधारभूत तह वा माध्यमिक तहसम्म शिक्षा प्राप्त गर्ने अधिकार हुनेछ’ भन्ने व्यवस्था छ ।
यसर्थ विकासे नेता हुन् वा दलका नेता वा नागरिक र न्यायालयबीचको सेतुको काम गर्ने कानुन व्यवसायीले मानिसका अभिव्यक्ति, भावना, मनना र गहना बुझ्नका हेतु मथिंगलको सरहदको बृहत्तर विकासका लागि भाषिक कसरत गर्नु पनि आवश्यक देखिन्छ ।
सामान्य ढंगमा भाषालाई व्यक्तिका विचार तथा भावना आदानप्रदान गर्ने माध्यम भनिन्छ । वास्तवमा भाषा विचारको आदानप्रदानको साधन मात्र होइन, बरु राजनीतिक आर्थिक अभीष्ट पूर्तिको साध्य पनि हो । त्यसैले भाषाको कित्तामा टेकेर संसारमा राज्य विभाजनका रेखाहरू कोरिएका प्रशस्त दृष्टान्तहरू छन् । भाषाले भावना तथा विचार मात्र बोक्दैनन् । तिनीहरूले त सम्बन्धित इलाकामा व्याप्त संस्कृति, परम्परा, जीवनशैली र आदर्श पनि बोकेको हुन्छन् । यसर्थ, मातृभाषा अलावा अरू भाषा सिक्नु भनेको ती भाषासँग अकाट्य रूपमा रहेका संस्कृति, परम्परा र जीवनशैली पनि ‘बोनस’स्वरूप ग्रहण गर्नु हो । एक ढंगले यस्तो पनि भन्न सकिन्छ– ती सिकिएका भाषाद्वारा हाम्रो मथिंगलको सोच तथा दृष्टिकोणमा कब्जा गराउनु पनि हो । ती भाषाबाट निर्देशित धारणा मुताविक आफ्नो जीवनशैली तथा दर्शनको निक्र्योल गर्नु हो । यो एक खालको मानसिक स्थिति तथा दृष्टिकोण माथिको अतिक्रमण पनि हो ।
नेपाली दाजुभाइ कालीपारिबाट देउडा लयमा आँखाका आँसु सुकिसकेकी बूढीआमा तथा मातृभूमिलाई पुकार्छन् । तर, दुर्भाग्य कालीको अनवरत सुसाहटले उनीहरूको आर्तनाद गुम गरिदिन्छ
मातृभाषाले सम्बन्धित व्यक्तिहरूबीच स्नेह र सानिध्यता पनि सञ्चारित गर्ने गर्छ । आफ्नो क्षेत्र वा समुदायको मानिससँग जम्काभेट हुँदा उसले मातृभाषामा कुरा गरेन वा भलाकुसारी गरेर भने मन कटक्क दुख्छ ।
यस्तै, अंग्रेजी भाषामा भएको अन्तर्वार्ताको टुंग्याउनीमा अन्तर्वार्ताकारले नेपाली भाषा÷मातृभाषामा कुरा गर्नु केवल आपसमा स्नेह तथा आत्मीयता दर्साउन मात्र भएको हो ।
त्यसैले भाषाहरूले कोरा विचारको मात्र आदानप्रदान गराउँदैनन् । भाषाले मानिसका भावना, मनना र आत्मीयतासमेतको सञ्चार गर्छ । त्यसैले त, भाषाहरूमा केवल वर्णहरूको संयोजन मात्र हुँदैन, सँगसँगै विभिन्न भाषिक चिह्न पनि प्रयोग गरिन्छ । जसले वक्ताको अवस्था, भाव र अवस्थितिलाई जनाउँछ । जसरी यो (†) चिह्नले वार्तालापका क्रममा वार्ताकार विस्मयमा परेको वा तिनमा आश्चर्य बोध भएको देखाउँछ । त्यसैगरी, हाउभाउ, मुखाकृति, लवज, भाषिक शैलीले सम्बन्धित वक्ताको वतन, सामाजिक स्थिति, मनोभाव, इच्छाशक्ति, आर्थिक अवस्था वा समग्र पृष्ठभूमिलाई समेत दर्साइरहेको हुन्छ ।
जति प्रभावकारी ढंगले मातृभाषामा आफ्ना कथा, व्यथा, भावना र मनना अभिव्यक्त गर्न सकिन्छ, त्यति प्रभावकारी रूपमा सिकिएको भाषाबाट व्यक्त गर्न सकिँदैन भन्ने समेत मान्यता छ, सके पनि वक्ताहरू सन्तुष्ट हुँदैनन् भनिन्छ । यसर्थ, हामी मातृभाषाबाट क्रन्दन, रोदन, आँस, खुसीको साकार रूप दिन चाहन्छौं । मातृभाषाको आत्मीयता खोज्छौं । लोकभाका र लोकगीतको प्रचलन तथा परम्परा सायद लोकजनले यसर्थ खडा गरेका हुन् सक्छन् । उनीहरू आफ्ना कथा, व्यथा अनि गौरव–गाथा आफ्नै मातृभाषामा कहन्छन् ।
आजकल कालीपारिका दाजुभाइ दिदी बहिनी कोरोनाले दिएको दर्दलाई देउडा भाकाका गेडा (अन्तराहरू)ले बोकिदिऊन् भन्ने चाहन्छन् । कोरोना दर्दले चहराइरहेको घाउमा देउडाको अन्तराले मलम लगाओस् भन्ने चाहन्छन् । कोरोनाले प्रलय नै निम्ताएको आभास गरिँदै छ । कोरोनाले एक युगको अन्त्य र अर्को युगको अभ्युदय गराएकाले यसले हाम्रा संस्कृति तथा परम्परालाई पुनरुत्थान तथा पुनर्जागरण गर्ने अवसर प्रदान गरेको महसुस गर्दा हुन् । अनि देशले शिक्षा र विकासका मोडललाई समेत संशोधन गरोस् भन्ने पनि चाहँदा हुन् ।
साँच्चै भन्ने हो भने देउडा भाकाले ती सदावहार अन्तरा प्रदान गर्छन्, जसले कर्णाली र सुदूर बस्तीका क्रन्दन, रोदन र भोकप्यास मेटाउन सहसा उपलब्ध हुन्छन् । उनीहरूको कसैलाई पेस गरेको बिन्ती तथा विनयप्रतिको भरोसा टुटिसकेको छ । भरोसा छ त केवल उनको दर्दलाई बोक्न सक्ने मातृतुल्य मातृभाषा र लोकभाका देउडा । त्यसैले दाजुहरू कालीपारिबाट देउडा लयमा आँखाका आँसु सुकिसकेकी बूढीआमा तथा मातृभूमिलाई पुकार्छन् तर दुर्भाग्य कालीको अनवरत सुसाहटले उनीहरूको आर्तनाद गुम गरिदिन्छ । त्यसपछि उनीहरूको मनले सायद भन्दो हो– आफ्नो अजस्र दुग्धधाराबाट सिञ्चित मुटुको टुक्रा भोकप्यासले काली किनारमा छटपटाएको सुन्दा ती आमा अवश्य सहन सक्दिनथिन् । त्यसैले ती दाजु कालीलाई धन्यवाद दिँदा हुन् । अनि भन्दा हुन्– धन्य काली † तिमी जिउँदोको पनि सहारा अनि मर्दाको पनि ।