पोखरा । अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर बागलुङको बडिगाड गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । घटनामा चार जना बेपत्ता छन् भने १० जना घाइते भएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।
बडिगार्ड गाउँपालिका–१० आरुपाटमा जोगबहादुर बुढाको घर र गोठ मंगलबार बिहान ११ः२० बजे पहिरोले पुरिँदा ठूलो मानवीय क्षति भएको छ । पहिरोमा जोगबहादुर र उनका परिवारका सदस्यसहित छिमेकी गरी ६ जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् भने १० जना घाइते छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवका अनुसार पहिरोमा ७८ वर्षीय जोगबहादुरसहित ७ वर्षीया जुम्ल्याहा मालती बुढाको मृत्यु भएको छ । अर्की जुम्ल्याहा छोरी मधु बेपत्ता छिन् । यस्तै, ७० वर्षीया मोतीदेवी कामी, सोही घरमा आएकी छिमेकी सिर्जना विककी ६ महिनाकी छोरीको सीता विकको पनि मृत्यु भएको छ । ८ वर्षीय अमल बुढा र ११ वर्षीया सीता पुनको समेत सोही पहिरोमा परी मृत्यु भएको छ । टाउकामा चोट लागेका जोगबहादुरको मंगलबार साँझ करिब ७ बजे मृत्यु भएको हो ।
बेपत्ता हुनेमा मधु बुढासहित १० वर्षीय मनोज बुढा, ३ वर्षीय आरुष थापा र ११ वर्षीय यमलाल विक रहेका छन् ।
पहिरोमा १० जना घाइतेमध्ये ६० वर्षीया सुमित्रा विकको अवस्था गम्भीर छ । पहिरोमा परी २६ वर्षीय ओमप्रकाश पुन, ४६ वर्षीया संगीता बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगलसेन बुढा, ५१ वर्षीय शशिराम विक, १९ वर्षीया रीमा पुन, ९वर्षीय ज्ञाने बुढा, ३१ वर्षीया सीता थापा र ५० वर्षीया जैमनी बुढा घाइते भएका छन् ।
घाइतेको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । उनीहरूको थप उपचारका लागि सेनाको हेलिकोप्टर आए पनि मौसम खराबीले फर्किएर बागलुङमै अवतरण गरेको छ । श्री नम्बर २३ बाहिनी अड्डा बागलुङका प्रमुख कर्णेल शीतल बानियाँले कुहिरो, हाइटेन्सन लाइन र नखुलेको मौसमका कारण हेलिकोप्टर बागलुङमै अवतरण गर्नुपरेको बताए । पहिरोले सडक अवरुद्ध र मौसम प्रतिकूलताका कारण उद्धारमा कठिनाइ भएको नेपाल प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । पहिरो गएको थाहा पाएपछि बागलुङबाट प्रहरी टोली र स्थानीय जनप्रतिनिधिसमेतको टोली खटिएको बागलुङका डीएसपी विजय यादवले बताए ।
वडा नं. १० का वडाध्यक्ष वीरेन्द्रकुमार बुढा मगरका अनुसार थप उपचारका लागि हेलिकोप्टरबाट लैजान नसकेपछि सदरमुकाम झार्ने तयारी भइरहेको छ ।
उता, बडिगाड गाउँपालिका–९ बलघाँसमा खसेको पहिरोमा १५ वर्षीय विधान परियारको मृत्यु भएको छ । मंगलबार बिहान १० बजे नयाँबस्तीका श्यामलाल परियारका छोरा विधान घरपछाडि करेसामा पानीको भल पन्छाउने क्रममा पहिरोमा पुरिएका हुन् । उनकी आमा भने भागेर ज्यान जोगाउन सफल भएकी छन् । यस्तै, बडिगाड ९ दर्लिङ काभ्राखर्कमा २४ वर्षीय गंगा बस्नेतलाई घरनजिकै गोरेटो बाटोमा हिँड्ने क्रममा पहिरोले पुरेको छ । उनको शव स्थानीयको सहयोगमा इलाका प्रहरी कार्यालय भीमगिठेबाट खटिएको प्रहरी टोलीले बाहिर निकालेको प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
घटनास्थल पुग्न बागलुङ सदरमुकामबाट ५ घण्टा मोटरबाटो तथा ५÷६ घण्टा पैदलयात्रा गर्नुपर्छ ।