काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आह्वान गरेको छ । शनिबार एक सूचना जारी गर्दै विभागले नगद कारोबार गरेका उपभोक्तालाई आफ्नो सक्कल बिल दर्ता गराउन आग्रह गरेको हो ।
विभागका उपमहानिर्देशक एवं सह–सचिव जनकराज शर्माका अनुसार १ साउनयता १०० रुपैयाँभन्दा बढीको वस्तु वा सेवा नगदमा खरिद गरी सक्कल प्यान तथा भ्याट बिल लिएका उपभोक्ता करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन पाउँछन् ।
‘हामीले प्राइज डट आईंआरडी डट जीओभी डट एनपी (prize.ird.gov.np) नामक नयाँ वेबसाइट शनिबारदेखि सञ्चालनमा ल्याएका छौँ,ं’ उपमहानिर्देशक शर्माले भने, ‘नगद भुक्तानी गरी स्व–प्रयोजनका लागि नेपालभित्र एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु तथा सेवा खरिद गर्ने बीजक लिएका योग्य उपभोक्ताहरूले वेबसाइटमा गएर आफ्नो बिल अपलोड गर्न सक्नुहुन्छ ।’
क्यूआर मार्फत गरिने कारोबार प्रणालीमार्फत नै उपहार कार्यक्रमको प्रणालीमा समावेश गरिसकिएकाले उनीहरूले अहिले बिल प्रविष्ट (इन्ट्री) गर्नु नपर्ने पनि विभागले स्पष्ट पारेको छ ।
विभागका अनुसार बैंक तथा वालेटको क्यूआर मार्फत १०० रुपैयाँभन्दा बढीको वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताहरूले अहिले बिल दर्ता गराउनुपर्दैन । क्यूआरबाट पैसा तिरेको कारोबार डाउनलोड गरेर राख्ने र सोही ट्रान्स्याक्सन नम्बर नै उपहारका लागि विभागको प्रणालीमा प्रविष्ट भइसकेकाले उक्त नम्बर नै उपहारका लागि योग्य हुनेछ ।
तर, उपहार घोषणापछि सक्कल बिल अनिवार्य हुने भएकाले बिलहरू भने सुरक्षित राख्न विभागले सबै उपभोक्ताको ध्यानाकर्षण गराएको छ ।
विभागले आफूले गरेको खरिदको सक्कल भ्याट तथा प्यान बिल माग्न र बिल नपाएको खण्डमा विभागमा जानकारी गराउन पनि उपभोक्तालाई आग्रह गरेको छ ।
विभागले १ साउनदेखि लागू गरेको करदाता प्रोत्साहन कार्यक्रमको पहिलो १५ दिनको नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ ।
‘प्राविधिक हिसाबले हामी तयारी अवस्थामा छौँ । कुनै ठूलो प्राविधिक समस्या नआए आगामी साता पहिलो १५ दिनको (हरेक दिनको १ लाख रुपैयाँका दरले १५ जना विजेता र १५ दिनको बम्पर १० लाखका विजेता १ जना) नतिजा घोषणा गर्न सक्ने अवस्थामा छौँ,’ विभागले भनेको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेटमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई कर प्रणालीमा ल्याउन र बिल लिने संस्कृतिको विकास गर्न करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए ।
सोही घोषणाअनुसार मन्त्रालयले असार अन्तिम साता उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेको थियो । कार्यविधिअनुसार हरेक दिन एक जना उपभोक्तालाई कर कट्टी गरेर १ रुपैयाँ लाख नगद र हरेक १५–१५ दिनमा (महिनाको दुई जनालाई) बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ नगद प्रदान गरिने उल्लेख छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
अब पूर्वसहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत करबाट सरकार पछि हट्यो
ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?
सरकारी खर्च नियन्त्रणमा महालेखा कठोर
ह्वात्तै घट्यो सुन–चाँदी मूल्य, आज कतिमा भइराखेको छ कारोबार ?
निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित
नेपाल आयल निगमको स्पष्टोक्ति : ग्यासको आपूर्ति नियमित छ, अभाव छैन






