काठमाडौं । भदौको पहिलो साताबाट मँसिरको अन्तिम सातासम्मको लागि चलचित्र छायाँकनको सही मौसम मानिन्छ । किनकी उच्च गर्मीका कारण जेठ र अत्याधिक बर्षाका कारण असार-साउनमा चलचित्रको छायाँकन त्यत्तिधेरै गरिँदैन । भदौको पहिलो साताबाट मनसुन घट्नुका साथै मौसम केही खुल्ने हुँदा छायाँकन यो समयबाट सुरु गरिन्छ । तर यसपटक त साउनको अन्तिम साताबाटै चलचित्रहरुको छायाँकन सुरु गर्न थालिएको छ । बिगत झैं यसपटक पनि भदौमा चलचित्रको छायाँकनको चाप राम्रो देखिएको छ । भदौमा आधा दर्जन चलचित्र छायाँकनमा हुनेछन् ।
शुक्रबारबाट मात्र चलचित्र ‘के घर के डेरा ः घर नं.२’को छायाँकन सुरु भएको छ । यो वर्ष असोजको तेश्रो सातामा दशैं परेका कारण साउन अन्तिमबाटै चलचित्रको छायाँकन सुरु गर्नु परेको यसका निर्देशक दीपेन्द्र के खनालले बताएका छन् । उनका अनुसार चलचित्रको छायाँकन काठमाडौंमा नै हुनेछ र असोजको पहिलो साता छायाँकन मैजारो गरिने छ । यो चलचित्रमा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, बाल–कलाकार रुविना घिमिरेको मुख्य भूमिका रहनेछ । फिल्ममा कृष्णबहादुर थापाको छायांकन गरिरहेका छन् ।
यस्तै एक साता अघिबाटै सिन्धुपालचोकको तातोपानी देखि चलचित्र कार्साङको छायाँकन सुरु भएको हो । दयाहाङ राई, जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र कार्साङको छायांकन असोजको पहिलो साता सक्ने लक्ष्यमा निर्माण पक्ष छन् । यो फिल्मको पनि छायांकन भदौ महिना भरी जारी रहने यसका निर्माता एवम् डिओपी पुरुषोत्तम प्रधानले जानकारी गराएका छन् ।

यसैगरी चलचित्र ‘माईली’को पनि मँगलबारबाट कुलेखानीदेखि छायाँकन सुरु भएको छ । यो चलचित्रको सोमबार काठमाडौंको भद्रकाली मन्दिरमा मुहुर्त गरेर निर्माण टिम छायाँकनको लागि पुगेको हो । पानी पर्दा घर भित्रको दृष्य र पानी नपरेको बेला बाहिरको दृष्य छायाँकन गर्ने उदेश्य सहित साउनको तेश्रो साताबाट माईलीको छायाँकन सुरु गरिएको निर्देशक बाबु साहेब बलामीले राजधानीलाई बताए । यो चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुष्मा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रितिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीको अभिनय रहने पनि उलने जानकारी गराए । चलचित्रलाई भदौको अन्तिमसम्म छायाँकन सम्पन्न गर्ने लक्ष्य निर्देशक बलामीले सुनाए ।
यसरी भदौ अन्तिम तथा असोजको पहिलो सातासम्म छायाँकन सक्ने उदेश्यले यसै साताबाट तीन वटाच चलचित्र छायाँकनमा उत्रिएका छन् । यस्तै केही चलचित्र भने भदौको पहिलो साताबाट छायाँकनमा जाँदैछन् । जस मध्य नाम विवादमा रहेको चलचित्र ‘जेरीः अन टप’को छायांकन ३ भदौबाट सुरु गर्ने यसका निर्देशक सुयोग गुरुङले बताएका छन् । यो चलचित्रमा अनमोल केसी र जसिता गुरुङको मुख्य भूमिका रहेको छ । चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरिरहेका छन् । यो चलचित्र पनि आगामी दशैंसम्म सक्ने लक्ष्य निर्माण पक्षको छ ।
आफ्नो चलचित्र ‘पिताम्बर’को पनि छायांकन भदौको दोश्रो साताबाट सुरु गर्ने यसका निर्देशक कृषा चौलागाईले जानकारी गराएकी छिन् । यो चलचित्रको अहिले काठमाडौंमा अभिनय कार्यशाला भईरहेको छ । चलचित्रको गीत बाहेकको छायाँकन दशैंसम्म सक्ने लक्ष्या उनले सुनाएकी छिन् । यो चलचित्रमा प्रदिप खड्का मुख्य भूमिकामा छन् । दुई साता अघि चलचित्र एक्टरको छायाँकन सम्पन्न गरेका प्रदीप अहिलो यो चलचित्रको अभिनय कार्यशालामा छन् ।
अभिनेता राजेश हमाल ८ वर्षपछि अभियनमा फर्कन लागेको चलचित्र ‘नरसिंहा ः अबतार’को छायाँकन भदौको तेश्रो साताबाट सुरु गर्ने पक्षमा यसका निर्देशक दिवाकर भट्टराई छन् । यो चलचित्रमा अभिनेता राजेश हमाल र अभिनेत्री नीति शाह शिर्ष भूमिकामा जोडिएका छन् । बाँकी कलाकारको चयनसँगै यसै साताबाट अभिनय कार्यशाला पनि सुरु गर्ने दिवारकले बताएका छन् ।
चलचित्र निर्देशक दीपेन्द्र लामा पनि यतिबेला नयाँ चलचित्र ‘दुःखी आत्मा’को अभिनय कार्यशालामा छन् । यो चलचित्रको कार्यशाला सकिएपछि भदौको दोश्रो सातामा चलचित्रको शुभसाईतसँगै यसको छायाँकन सुरु गर्ने पनि निर्देशक लामाले बताएका छन् ।
यस्तै अभिनेता तथा निर्देशक प्रकाश सपुत पनि अहिले नयाँ चलचित्र ‘बसन्त’को अभिन कार्यशालामा छन् । यो चलचित्रमा उनी र अभिनेत्री केकी अधिकारी मुख्य भूमिकामा छन् । यो चलचित्रको छायांकन पनि भदौको दोस्रो साताबाट गर्ने तयारी भईरहेको प्रकाशले बताएका छन् ।






