नेपाल गाउँ नै गाउँले भरिएको देश हो । गाउँहरूको विकास नभएसम्म देश विकास हुनसक्दैन । अहिले गाउँबस्तीहरू बसाइँसराइका कारण उजाड हुुँदै छन्, रित्तिँदै छन् । बसाइँसराइ नेपालको ठूलो सामाजिक समस्या हो । समाजशास्त्रीय दृष्किोणबाट हेर्दा मानिस चलायमान प्राणी हो । अवसरको खोजीमा एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्ने कार्य प्राचीन समयमा पनि भएको पाइन्छ । अवसरले मानिसलाई एक ठाउँबाट अर्को ठाउँमा तानिरहेको हुन्छ । आजका ठुल्ठुला सहरहरूको निर्माण पनि बसाइँसराइकै कारणले भएका हुन् । हाम्रो देशको सन्दर्भमा पनि बसाइँसराइकै कारण सहरहरू भरिएका हुन् । कतिपय नयाँ सहरहरू निर्माणको प्रक्रियामा छन् । तथापि, ग्रामीण क्षेत्रलाई रित्याएर सहर बजारमा मानिसहरू थुप्रँदै जानु राम्रो कुरा होइन ।
बसाइँसराइका लागि विशेषत मानिस बसिरहेको ठाउँमा भएको विकर्षण अर्को ठाउँको आकर्षण मुख्य कारण हो । जनआन्दोलन २०६२–०६३ सालपछाडि पहाडी क्षेत्रबाट तराईमा व्यापक रूपमा बसाइँसराइ भएको छ । गाउँबस्तीबाट जिल्लाका सदरमुकाम, पायक पर्ने सहर बजार तथा तराईतिर ठूलो संख्यामा मानिसहरू बसाइँसराइ गरेको पाइन्छ । यसमा पनि अझै धनाढ्य र नवधनाढ्यहरूको सपनाको सहर काठमाडौं हुने गरेको छ । बसाइँसराइका कारण काठमाडौं उपत्यका अस्तव्यस्त भएको छ । पढेलेखेका शिक्षितहरू अध्ययन, रोजगारी तथा अन्य सुविधाहरूका लागि काठमाडौंलगायत देशका अन्य सहरमा ओइरो लागेका छन् । पछिल्लो समयमा त देशभित्र मात्र नभएर देशबाहिरसमेत बसाइँसराइ गर्ने लहड र रहर व्यापक रूपमा बढिरहेको छ ।
समाजशास्त्री दार्शनिक कार्लमाक्सले आर्थिक उत्पादन र वितरणका कारणले समाजको रूपान्तरण हुन्छ भन्ने धारणा राखेका छन् । माक्र्सले सामाजिक परिवर्तनको सम्बन्ध आर्थिक पक्ष हो, जसलाई आर्थिक उत्पादन र वितरण प्रणालीले प्रभाव पार्छ भन्छन्् । माक्र्सले यसो भन्दैगर्दा हाम्रो देशमा कार्ल माक्र्सका राजनीतिक चेलाहरू बारम्बार सत्तामा पुगेका छन् । यी चेलाहरूले किन आप्mना राजनीतिक गुरु माक्र्सले भनेझैं ग्रामीण क्षेत्रमा आर्थिक उत्पादन र वितरण प्रणालीको पहुँचमा ध्यान नदिएका होलान् ? माक्र्सवादी दृष्टिकोणमा भौतिक सम्पत्तिको उत्पादनले सामाजिक चेतनालाई समेत रूपान्तरण गर्छ भन्ने छ । अहिले नेपाली समाज रूपान्तरणको सँघारमा छ । तर, समाजलाई आर्थिक रूपमा बदल्नका लागि बसाइँसराइलाई रोकी ग्रामीण अर्थतन्त्रलाई उकास्न जरुरी छ । ग्रामीण बस्तीहरूमा कृषि उत्पादन तथा कृषिमा आधारित उद्योगहरू स्थापना नगरीकन अर्थतन्त्रमा सुधार हुन सक्दैन ।
अविकास गाउँको ठूलो समस्या हो । अहिलेका विकसित देशहरूले सहरी क्षेत्रको विकासका साथै गाउँगाउँमा विकास गरे । उनीहरूले ग्रामीण क्षेत्रमा उद्योग, व्यापार, आधुनिक कृषि प्रणाली, विद्यालय, विश्वविद्यालयहरू, अस्पताल, यातायातलगायतको विकासले गर्दा मानिसहरूको रोजाइ ग्रामीण क्षेत्र बन्न पुग्यो । तर, हाम्रो देशमा ग्रामीण जीवन धेरै नै पछाडि परेको अवस्था छ । त्यसैले, हिमालबाट पहाड र पहाडबाट तराई तथा सहर बजारतिर बसाइँसराइ गर्ने जनसंख्या ठूलो रहेको छ । बसाइँसराइकै कारण गाउँका विद्यालयहरूमा पढ्ने विद्यार्थीहरू छैनन् । कतिपय गाउँहरू ज्येष्ठ नागरिक मात्र छन् । यसर्थ, बसाइँसराइ रोक्नुपर्छ ।
समाजलाई आर्थिक रूपमा बदल्नका लागि बसाइँसराइ रोकी ग्रामीण अर्थतन्त्रलाई उकास्न जरुरी छ
यस मुलुकमा ७० को दशकसम्म उत्पादनमा आत्मनिर्भर रहेका गाउँबस्तीमा अहिले खाद्यान्न आयात नगरी किसानहरूको चुलो चौका नचल्ने अवस्था छ । धान, चामल, तोरी, चना, मसुरो, फलपूmल, तरकारी, माछामासु, औषधिलगायतका आवश्यक सामानहरू विदेशबाट आयात नगरी ग्रामीण जीवन धान्नसक्ने अवस्था छैन । किसान परिवारका छोराछोरीहरू युरोप, अमेरिका, अस्टे«लिया, खाडी मुलुकलगायतका देशहरूमा पसिना बगाइरहेका छन् । देशमा भएका युवाहरू सहर बजारतिर रोजगारीको खोजीमा भौतारिएको अवस्था छ । यी युवालाई गाउँ नफर्काएसम्म गाउँको विकास सम्भव छैन । बस्तीबिनाका बाटाहरू र बिजुलीका पोलहरूले गाउँको विकास हुँदैन । ग्रामीण क्षेत्रमा न त गुणस्तरीय शिक्षाको सुविधा छ, न त राम्रा अस्पतालहरूको सुविधा छ । अनि यो अवस्थालाई राज्यले कहिले बुभ्mने ? कहिले सोच्ने ? गाउँलाई सुविधा सम्पन्न कहिले बनाउने ?
राजा महेन्द्रले पञ्चायतीकालमा पढेलेखेका युवाहरू सहरतिर आकर्षित भएपछि गाउँघरमा विकास गर्ने र राजनीति गर्ने व्यक्तिहरू नभएकाले गाउँ फर्क अभियान चलाएका थिए । गाउँगाउँमा पढेलेखेका युवाहरूले पञ्चायती व्यवस्थाप्रति आस्था बढाउने, पञ्चायतले स्वीकार गरेको राजनीतिक आस्था गाउँगाउँमा फैलाउने इच्छा राजा महेन्द्रको थियो । केही हदसम्म उनले गाउँ फर्क अभियानबाट सहरकेन्द्रित युवाहरूलाई गाउँ फर्काउन सफल भएका थिए । अहिले परिस्थिति फरक छ । राजनीतिक व्यवस्था भिन्न छ । जनताको सामाजिक र राजनीतिक चेतना पनि विकसित भएको छ । यस सन्दर्भमा अहिलेको अवस्थालाई बुझेर स्वदेश र विदेशमा रहेका युवाहरूलाई आप्mनै गाउँठाउँमा फर्काउनका लागि आह्वान मात्र गरेर हुँदैन । गाउँको विकास, रोजगारी तथा आर्थिक प्याकेजसहित गाउँ फर्काउन जरुरी छ ।
जनआन्दोलन २०६२–०६३ अगाडिसम्म नेपालका ग्रामीण बस्तीहरू भरिभराउ थिए । विस्तारै गाउँहरू रित्तिँदै गए । खेतबारीहरू बाँझिँदै गए । युवापुस्ता विदेश पलायन भयो । युवाहरू विदेश जाँदा एकातिर नेपाली समाजका मौलिक संस्कृति, सामाजिक मूल्य र मान्यताहरूको पुस्तान्तरण हुन सकेन भने अर्कोतिर समाजका मूल्य र मान्यताहरू भत्कँदै गए । ज्येष्ठ नागरिकहरू बेसहारा हुँदै गए । गाउँमा आवश्यक परेका बेला युवाहरू भएनन् । जन्म, मृत्यु, विवाहलगायतमा आवश्यक सहयोग तथा सामूहिक मद्दत गर्ने अभ्यासमा कमी आयो । देश विकासका आयोजना र परियोजनाहरूमा काम गर्ने मानिसको अभाव हुन थाल्यो ।
युवा पुस्तालाई आ–आफ्नै गाउँघरमा फर्काउनका लागि निर्वाहमुखी कृषि प्रणालीलाई निर्यातमुखी बनाउने कार्ययोजना आवश्यक छ । ग्रामीण विद्युतीकरण, सिँचाइको व्यवस्था, कृषिमा आधारित उद्योगहरूको स्थापना, उन्नत जातका भंैसी, गाई, भेडा, बाख्रा पालन, कृषि उत्पादनमा आधारित घरेलु उद्योग, पशुपन्छी फार्महरू, पुष्प खेती, रेसम खेती, फलपूmल खेती, कागती, केरा, अदुवा, अम्रिसो, अलैंची, गाँजालगायतको उत्पादन तथा व्यावसायीकरण गर्न युवाहरूलाई कृषि विज्ञहरूबाट तालिम दिनुपर्छ । सस्तो ब्याजदरमा ऋण दिनुपर्छ । राज्यले प्रत्येक स्थानीय तहहरूमा त्यहाँको उत्पादनको सम्भावना र नागरिकहरूको रुचीका आधारमा कृषि विज्ञहरूको विज्ञतालाई उल्लिखित क्षेत्रमा सहजीकरण गर्न नीतिगत प्रबन्ध गर्नुपर्छ । यसका साथै कृषिबाट उत्पादन भएका कच्चा पदार्थका आधारमा स्थानीय तहका विभिन्न गाउँहरूमा कपडा उद्योग, जुट, छाला, जुत्ता, सलाई, साबुन, पेय पदार्थ, चिया, कफी कागज, काष्ठ यन्त्र, उपकरण, राडी, पाखी, गलैंचा, दुग्ध पदार्थ उद्योग, जडीबुटी प्रशोधन उद्योग, औषधि उद्योगलगायतका उद्योगहरू सञ्चालन गर्नुपर्छ ।
अल्पकालीन रूपमा गाउँ फर्क अभियानसँग तत्कालीन आयआर्जनका कार्यक्रम अभियानका रूपमा सञ्चालन गरिनुपर्छ
ग्रामीण क्षेत्रमा यो अवस्था एकै रातमा आएको होइन । २०४६ सालपछाडि प्रजातन्त्रको पुनस्र्थापनापश्चात देश विकास, सुशासन र जनहितको कार्यमा हिँड्न सकेन । माओवादीले चलाएको १० वर्षे विद्रोहले पनि गाउँगाउँबाट मानिसहरू लघारिए । नयाँ पुस्तामा परिश्रम गर्ने बानीको विकास हुन सकेन । देशको शिक्षा प्रणालीले युवाहरूलाई गाउँ, ठाउँमा आयआर्जन गर्नसक्ने ज्ञान तथा सीप प्रदान गर्न सकेन । राज्यले कृषि शिक्षालाई बेवास्ता ग-यो । यति मात्र होइन, देशका शैक्षिक संस्थाहरू बेरोजगार शिक्षित जनशक्ति उत्पादन गर्ने कारखानाजस्ता भए । नेपाल कृषि प्रधान देश हो भन्ने पाठ्यपुस्तक पढाएर पढिसकेपछि अरूको देशमा कृषि क्षेत्रमा नै काम गर्न जानुपर्ने शिक्षित युवाहरूको बाध्यता कसले सिर्जना ग-यो ? राज्यले होइन ?
अब विगतका कमी कमजोरीका गीत गाएर बस्नेबेला छैन । राज्यले युवाहरूलाई गाउँमै रोक्न र गाउँबाहिर रहेका युवाहरूलाई आप्mनै गाउँघरमा फर्काउने ठोस नीति बनाउनुपर्छ । राज्यले तत्कालीन रूपमा स्थानीय तहका हरेक उमेर समूहका किसान, बेरोजगार युवा, विद्यार्थीलगायतलाई कृषि उत्पादनसम्बन्धी तालिम दिनुपर्छ । बाँझिएका खेत बारीहरूमा जग्गा प्लटिङ गरी बस्ती विकास गर्ने होइन, आधुनिक खेती प्रणालीको सुरु गर्नुपर्छ । किसान परिवारका खेतका फाँटहरूका छेउबाटै नदी वा खोलाहरू बगेका छन् । सिँचाइको सुविधा छैन । राज्यले कुलो तथा नहरहरूको निर्माण गर्न किसानहरूसँग सहकार्य गर्नुपर्छ । मल, बीउ, बिजन, बजार मूल्यलगायतका किसानका समस्या छन् । उल्लिखित समस्याहरू समाधान गर्नुपर्छ ।
अन्त्यमा ग्रामीण विकासका लागि हाम्रो शिक्षा प्रणालीलाई बदल्नुपर्छ । यसो गर्दा हरेक स्थानीय तहमा उपलब्ध प्राकृति स्रोत र साधनको खोज, अनुसन्धान, पहिचान, उत्खनन र उपयोग गर्नसक्ने ज्ञान तथा सीपमा आधारित शिक्षा अनिवार्य सर्त हो । शिक्षालाई व्यावहारिक, वैज्ञानिक तथा व्यावसायिक बनाउनुपर्छ । यो दीर्घकालीन परियोजना भएकाले अल्पकालीन रूपमा गाउँ फर्क अभियानसँग तत्कालीन आयआर्जनका कार्यक्रमहरू अभियानका रूपमा सञ्चालन गरी युवाहरूलाई गाउँमै आकर्षित गर्नुपर्छ । राज्यको घैंटोमा घाम लागोस् !