काठमाडौं । नेपाली चलचित्रले बिस्तारै उद्योगको रुप लिँदैछ । २०२१ सालमा निर्माण भएको चलचित्र आमाबाट सुरु भएको नेपाली चलचित्रले हाल ६ दशकको यात्रा तय गरिसकेको छ । हिजोका दिनमा नेपाली चलचित्र उद्योगमा अभिनेता तथा कलाकारका रुपमा आएका सिनेकर्मीहरुका छोरा पुस्ता समेत अहिले चलचित्र उद्योगमा रजगज गर्न सफल भएका छन् ।
यस्तै छोरा पुस्ताको कुरा गर्दा अभिनेता विराज भट्टले पनि आफ्ना छोरा समिर भट्टराई अभिनेताको रुपमा नेपाली चलचित्रमा ल्याएका छन् । समिरको चलचित्र ‘१२ गाउँ’ यही २४ असोज फुलपातिमा रिलिज हुने भएको छ ।

हुन त समिरले निर्देशक सन्तोष सेन ठकुरीको चलचित्र ‘बलिदान’बाट नायकको रुपमा नेपाली चलचित्र उद्योगमा डेब्यु गर्न लागेका थिए । सो चलचित्रको छायाँकन दशैंपछिबाट सुरु हुने भएपछि समिरलाई बुबा बिराजले आफ्नै चलचित्र १२ गाउँबाट डेब्यु गराएका हुन् । यो चलचित्रको निर्माता र निर्देशक पनि बिराज नै हुन् । करिब डेढ दशक भोजपुरी चलचित्रमा राज गरेका बिराजले छोराको यो चलचित्र नेपालीसँगै हिन्दी, तमिलसहित विभिन्न भाषामा निर्माण गरिरहेका छन् । चलचित्रमा छोरासँगै बिराज आफैं पनि शिर्ष भूमिकामा छन् ।
मुम्बई र दक्षिण भारतमा केही वर्ष अभिनय–एक्सन–फिटनेश प्रशिक्षणसँगै नायक बन्नको लागि सबै तयारी गरेर समिर चलचित्रमा आएका हुन् । उनी आफ्नो बुबा विराजकै हुलियासँग मेलखाने देखिन्छन् । भारतमा अभिनय पढेका छोरालाई नेपाली चलचित्रमै नायक बनाउनुको कारण’bout बिराजले भने,‘समिरलाई भारतमै पनि चलचित्रबाट प्रस्ताव आएको थियो । तर उसको चाहना नेपाली चलचित्र भएकाले १२ गाउँबाट डेब्यु गराउन लागेको हुँ ।’ बिराजले भने ।
चलचित्र १२ गाउँको टिजर तीन दिन अघि रिलिज भएसँगै समीरको एक्सनका कारण उनको चर्चा यतिबेला चलचित्र उद्योगमा चुलिएको छ । उनलाई सिनेकर्मीदेखि दर्शकसम्मले आशालाग्दो नायकको रुपमा लिएको टिजरमा प्रतिक्रिया दिएका छन् ।

समीर उदयमान अभिनेता भए पनि नेपाली चलचित्रमा राज गर्ने अभिनेताको छोरा पुस्ताको कुरा गर्दा भुवन केसीका छोरा अनमोल केसी पर्छन । अनमोलले चलचित्र होस्टेलबाट नायकको रुपमा नेपाली चलचित्र उद्योगमा डेब्यु गरेका थिए । यी अभिनेताले यो एक दशकमा १० वटा चलचित्रमा अभिनय गरिसकेका छन् । बुबा भुवन केसीले २०३६ सालबाट नेपाली चलिचत्र उद्योगमा बनाएको बिरासतलाई छोरा अनमोलले ७१ सालबाट अघि बढाएका छन् ।
१० वर्षमा आफुले खेलेका १० चलचित्र मध्य उनले एउटा मात्र चलचित्र छड्के २ मा असफलता भोग्नु प-यो । दुई चलचित्र क्याप्टेन र कृले केही मुनाफा कमाए पनि उनका बाँकी ७ चलचित्र उद्योगमा हिट सावित भए । यसरी नेपाली चलचित्र उद्योगमा बुबाको बिरासत थाम्दै सफल चलचित्र दिने अभिनेताको रुपमा रजगज गर्न सफल अनमोल अब्बल स्थानमा छन् । यतिबेला यी अभिनेता ११ औं चलचित्र ‘जेरी अनटप’को छायाँकन तयारीमा छन् ।

बुबा अभिनेता तथा निर्देशक शोभित बस्नेतको बिँडो थाम्दै नायकको रुपमा नेपाली चलचित्रमा आएका छोरा पुस्ताका अर्का अभिनेता सलोन बस्नेत हुन् । उनले पनि अनमोल केसीसँगै चलचित्र होस्टेलबाटै चलचित्र उद्योगमा डेब्यु गरेका थिए । यी अभिनेता चलचित्रमा प्राय अनमोल केसीको सहयोगी नायकको रुपमा प्रस्तुत हुँदै आएका छन् ।
उनी मुख्य अभिनेता भन्दा पनि सह अभिनेताका रुपमा सफल कहलिएका छन् । आफुले शिर्ष भूमिका निर्वाह गरेका केही चलचित्र व्यबसायिक असफल भएपछि सलोनले प्रदीप खड्का, अनमोल केसीदेखि अन्य अभिनेतासँग सहकार्य गर्दै आएका छन् ।

अभिनेता टिका पहारीका छोरा गौरव पहारी पनि बुबाको विरासत थाम्न अभिनेताको रुपमा नेपाली चलचित्र उद्योगमा छन् । टिकाको भनाईमा छोराले चलचित्रमा अभिनय गर्ने चाहना व्यक्त गरेपछि गौरवलाई उनले अभियन प्रशिक्षणका लागि मुम्बई पठाए । त्यही अभिनयसम्बन्धि शिक्षा लिएपछि नेपाल फर्किएका गौरवले चलचित्र ‘मञ्जरी’बाट डेब्यु गरे । आफ्नो पहिलो चलचित्र नै हिट भएपछि उनी खालिबस्नु परेको छैन ।
उनी केही चलचित्रमा शिर्ष भूमिकामा र केहीमा सहयोगी नायकको भूमिकामा प्रस्तुत हुँदै आएका छन् । उनले यो एक दशकमा एक दर्जन भन्दा बढी चलचित्रमा सफल अभिनय गरिसकेका छन् । बुबाले अँगालेको कला यात्रालाई अघि बढाउने छोरा पुस्तामा गौरव पनि सार्थक देखिएका छन् । यसरी नेपाली चलचित्र उद्योगमा अभिनेताको छोरा पुस्ताले पनि बिस्तारै अभिनेताकै रुपमा राज गर्न थालेका छन् । यसलाई अग्रज अभिनेता टिका पहारी सुखद पक्ष मान्छन् ।






