मुम्बई । भारतीय फिल्म ‘बाहुबली’ बनाएर चर्चा कमाएका निर्देशक एसएस राजामौलीले अहिलेसम्मकै भारतको सबैभन्दा महँगो लागतमा फिल्म अर्को फिल्म ‘आरआरआर’ निर्माण निर्देशन गरेका छन् । यो फिल्मको निर्माणमा ४ सय करोड भारतीय रुपैयाँ लाग्ने भएको छ ।
यो फिल्मको लागत महँगो हुनुको कारण यसमा महँगा कलाकार राखिएको पनि यी निर्देशकको भनाइ छ । फिल्म आरआरआरमा साउथ इन्डियन मेघा स्टार रामचरण, साउथ इन्डियन स्टार जुनियर एनटीआर र बलिउड स्टार अजय देवगन गरेका छन् । यो फिल्ममा नायिकाकी रूपमा आलिया भट्ट छिन् ।
यी तीन स्टार कलाकारको चरित्र प्रतिस्पर्धाले आरआरआर एक्सन जनराको फिल्म रुचाउनेहरूका लागि प्रतीक्षारत फिल्म बनेको छ । तीनवटै स्टारका आआफ्ना फ्यान रहेकाले यो फिल्मले बाहुबलीको रेकर्ड तोड्ने विश्वास निर्देशक राजामौलीको छ ।
अभिनेता अजय देवगनसँग पहिलोपटक काम गरेका राजामौलीले उनको अभिनयको खुलेर प्रशंसा गरेका छन् । उनले एक सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूले खोजेको जस्तो अभिनेता अजय देवगन भएको बताएका छन् । ‘मलाई आरआरआरका लागि एक यस्ता अभिनेताको आवश्यकता थियो, जसको मुहारसँगै हरेक शब्दमा इमानदारिता र निष्ठा झल्किएको होस् । यो सबै कुरा मैले अभिनेता अजय देवगनमा पाएको छु,’ उनले अगाडि थपे, ‘एकसाथ अरू पनि फिल्ममा व्यस्त रहेका अजयले मेरो प्रस्तावलाई एकैपटकमा स्वीकार गरेर यो फिल्म खेल्न तयार हुँदा म साह्रै खुसी भएँ । फिल्मको रोललाई मैले सोचेको भन्दा अझ राम्ररी निर्वाह गर्दा मलाई झनै खुसी लागेको छ ।’
यस्तै, यी निर्देशकले अभिनेत्री आलिया भट्टको कामको पनि प्रशंसा गरेका छन् । आलियालाई फिल्ममा चयन गर्नुको कारण फिल्मको कथाले मागेअनुसारको एउटा निर्दोष मुहार देखिने नायिका उनलाई चाहिएको थियो । त्यो निर्दोश मुहार आफूले आलियामा पाएपछि आरआरआरमा लिएको पनि यी निर्देशकले बताएका छन् । रामचरण र जुनियर एनटीआरको सामु सशक्त अभिनेत्री पनि हुनुपर्ने भएकाले यो भूमिकाका लागि आलिया नै ठीक भएको पनि यी निर्देशकको कथन छ ।
यही मेमा रिलिज हुने भनिएको यो फिल्मको रिलिज अब आगामी जनवरीको पहिलो साता पुगेको छ ।
विश्वभर फैलिएको कोरोना संक्रमण र यसले भारतमा समेत पारेको प्रभावका कारण भारत ४२ दिनसम्म लकडाउनको अवस्थामा रहेको छ । जसका कारण आफ्नो सिनेमाको छायांकन नै सम्पन्न हुन नसकेको यी निर्देशकले बताएका छन् । यसरी आफ्नो सिनेमाको रिलिज उनले सन २०२१ लाई सारेका हुन् । अब जनवरी ८ मा रिलिज हुने यो फिल्मलाई हिन्दीसहित अन्य १० भाषामा तयार गरेर रिलिज गरिने भएको छ । यो फिल्मको कथा भारतका स्वतन्त्र सेनानी अल्लुरी सीताराम राजु र कोमाराम भीमको जीवनमा आधारित रहेको छ ।






