चलचित्रमा झुमाको रैथाने गायनमा जोड

काठमाडौं । तप्लेजुङको ढुँगेसाँघुमा जन्मिएकी झुमा लिम्बुको बास्तविक परिचय रैथाने गायिका हो । उनी पछिल्लो समय चलचित्रमा पनि रैथाने भाकाका प्रवर्धनमा व्यस्त छिन् । चलचित्रको गीतमा प्रस्ताव आउँदा एक समय उनी अस्विकार गर्थिन ।

आफु रैथाने भाकाको गायिका भएकाले चलचित्रका ब्यबसायिक गीतका लागि अरु नै गायिका राख्न उनले सुझाब दिने गर्थिन् । यिनै गायिकालाई यतिबेला चलचित्र गायनमा भ्याईन नभ्याई छ ।

गायनको कुरा गर्दा स्कुले जीवनबाटै पालाममार्फत उनी गायनमा आकर्षित भएकी थिईन् । गायिका बन्नकै लागि काठमाडौं आएपछि दिग्गत संगीतकार अम्बर गुरुङसँग उनको भेटघाट भयो । लामो समय गुरुङको चेली भएर संगीतमा लागेपछि उनी लोकसँगै आधुनिक भाकातर्फ आकर्षित भईन् ।

२०६२ तिर झुमाले पहिलो गीतिसँग्रह ‘ए साईला’ श्रोतामाझ ल्याएकी थिईन् । उनको यो पहिलो गीतिसँग्रहमा लोक तथा लोक आधुनिक गीतहरु सँग्रहित थिए । रैथाने लोक भाका तथा कला संस्कृति नै हाम्रो चिनारी भएकाले रैथाने गीत संगीतमा लाग्न उनलाई गुरु अम्बर गुरुङले सुझाब दिए । सोही सुझाबलाई शिरोधारण गर्दै उनी लोक र पारम्पारिक संगीततर्फ आकर्षित भएकी रहिछन् ।

रैथाने भाका प्रति लगावकै कारण झुमा अनलाईन खबरको यो वर्षको उत्कृष्ट ५० महिला भित्र परेकी छिन् । पारम्पारिक तथा रैथाने संगीत सृजनामा उनले लाखौं रुपैयाँ खर्चेकी छिन् । उनको महत्व पूर्ण सृजनाको रुपमा ‘साउन्ड्स अफ मुन्धुम’लाई मानिन्छ,‘करिब एक दशक लामो स्थलगत अध्ययन पछि मैले लिम्बु समुदायको मुन्धुमलाई गीतिकथाको रुपमा साउन्ड्स अफ मुन्धुम तयार गरेँ । यो सँगीतिक सँग्रह तयार गर्दा मेरो ३० लाख रुपैयाँ भन्दा बढी खर्च भएको थियो ।’ लिम्बु समुदायमा यसलाई मुन्धुमको एउटा ऐतिहाँसिक साँगीतिक सृजनाको रुपमा स्थान दिएकोमा उनी पुलकित छिन् ।

लोक र पारम्पारिक भाकालाई मिश्रित गरेर अघि बढाउने क्रममा उनले एक दशक अघि ‘रैथाने संगीत’ नामाकरण गरिन् । त्यसपछिबाट उनी रैथाने संगीतमै सक्रिय छिन् । यही क्रममा उनले चलचित्रमा रैथाने गीत गाउने अबसर पाएकी हुन् । निर्देशक अनुप बरालले २०७४ तिर चलचित्र दोखको निर्माण घोषणा गरे । राई सांस्कृतिमा आधारित यो चलचित्रको राई गाउँमै गाउँमा छायाँकन गर्नु पर्ने भो । चलचित्रको लागि राई समुदायको स्थानीय गीतको माग अनुपले गरेपछि उनले राईहरुको पारम्पारिक (रैथाने) भाका ‘हियारी’ मा रैथाने गीत ‘रातैले बुन्छ आकाशमा रुमाल…’ बनाईन् । झुमाले आफ्नो स्वर र संगीतमा तयार गरेको यो गीतलाई श्रोताले मन पराए । त्यसपछि चलचित्रमा रैथाने गीत पस्कने अभियानमा उनी लागेकी हुन् ।

यसपछि लगत्तै उनलाई चलचित्र हुर्रेको मरे नी पश्पति, बाँचेनी पश्पति…गीतको प्रस्ताव आयो । कालिप्रसाद बासकोटाको संगीतमा यो लोक फ्युजन शैलीको गीत थियो । जसमा अभिनत्री निता ढुँगानाले नृत्य गरेकी थिईन् । यसलाई पनि दर्शकले निकै मन पराए । यसरी आफ्नो स्वरमा दुई वटा रैथाने गीत श्रोताले रुचाएपछि चलचित्र गायनलाई अघि बढाउको झुमाले बताईन् ।

‘नेपाली चलचित्र पनि फरक समुदायका कथामा निर्माण हुन थालेपछि ती समुदायको रैथाने भाकालाई समेट्न थालियो । यसरी चलचित्रमा रैथाने भाकालाई स्थान दिन थालेपछि मैले चलचित्र गायनलाई पनि अघि बढाएको हुँ ।’ उनले अगाडि थपिन्,‘यस्तै लिम्बु संस्कृतिमा आधारित रहेर निर्देशक उपेन्द्र सुब्बाले चलचित्र जारी निर्देशन निर्माण गर्ने भएपछि उहाँले मलाई पालाम गीत तयार गर्न भन्नु भयो । सो क्रममा मैले अर्को रैथाने पालाम गीत चलचित्र जारीको लागि तयार गरेँ ।’ झुमाले गाएको जारीको पालाम पनि निके लोकप्रिय भयो ।

चलचित्रकै कुरा गर्दा तीन वर्ष अघि निर्माण भएको चलचित्र राधामा पनि रैथाने तिज भाका प्रस्तुत गरिन् । यो चलचित्र राधा पियारी…को गायिका झुमा हुन् । जसमा कालिप्रसाद बासकोटाले संगीत गरेका थिए । यो पनि रैथाने तिज भाकामा केन्द्रित थियो । यसपछि झुमाले रामबाबु गुरुङ निर्देशित चलचित्र डिग्री माईलाको सवारी मेरो रेलैमा…, उपेन्द्र सुब्बाको अर्को चलचित्र मनसाराको झ्याल…जस्ता लोकफ्युजन गीत गाईसकेकी छिन् ।

यतिबेला उनी पाँच वटा नयाँ चलचित्रमा जोडिएकी छिन् । जस मध्य नयाँ चलचित्र उनीको स्विटरको पाँचथरमा छायाँकन भईरहेको छ । यो चलचित्रमा पनि उनले आफ्नो स्वर र सँगीतमा एउटा गीत तयार गरेकी छिन् । काफ्ले…बोलको यो गीत स्थानीय पूर्वेली लोकलयमा आधारित रहेको उनले बताएकी छिन् ।

यस्तै चलचित्र जार, जुगिना, बसन्त र सोल्टिनीमा पनि संगीत सृजनासँगै गायनमा व्यस्त छिन्,‘जारमा आफ्नै संगीतमा तीन वटा गीत तयार गरेको छु । यस्तै जुगिनामा एउटा गीत र प्रकाश सपुतको चलचित्र बसन्तमा यानीमायाँ गीत रेकर्ड गरेको छु ।’ प्रशान्त सिवाकोटीको संगीतमा चलचित्र सोल्टिीको नयाँ रैथाने लोकभाको गीत पनि हालैमात्र आफुले रेकर्ड गरेको उनले बताईन्,‘नेपालको सबै समुदायबाट चलचित्र निर्माण हुन थालेपछि मलाई रैथाने तथा लोकफ्युजन गीतमा प्रस्ताव आउने गरेको हो । यही क्रममा म पछिल्लो समय चलचित्र गायनमा पनि त्यत्तिकै व्यस्त हुने गरेको छु ।’ झुमाले भनिन् ।

तपाइको प्रतिक्रिया
(Visited 115 times, 1 visits today)

epaper

ताजा समाचार

‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक विमोचन