नयाँ दिल्ली । हाल भारतको औपचारिक भ्रमणमा रहनुभएकी परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेको जलवायु परिवर्तनको असर लगायतका विविध साझा समस्याहरूको संयुक्त रूपमा अनुसन्धान गरी समाधानका उपायहरू सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरूलाई आग्रह गरेकी छन् ।
आज नयाँ दिल्लीमा उनीसँग शिष्टाचार भेटका लागि पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उनले सो आग्रह गरेकी हुन् ।
अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री डा राणाले भनिन् “जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो । त्यस्तै अरू पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन् । ती समस्याको समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरूले संयुक्त रूपमा अनुसन्धान उपायहरू सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ ।”
त्यस अवसरमा सो विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापहरूका ’boutमा जानकारी गराउँदै यस अन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गरेका छन् । सो विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कका सदस्य राष्ट्रहरूको सहभागितामा सञ्चालित छ । सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वविद्यालयको पदेन चान्सलर रहने व्यवस्था पनि छ ।
गत आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेश मन्त्री एस.जय शङ्करसँग द्विपक्षीय वार्ता गरेकी थिइन। भारतीय विदेश मन्त्री एस. जय शङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँ दिल्ली पुगेकी मन्त्री डा राणा आज अपराह्न स्वदेश फर्कँदै छन् ।






