दैलेख । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग पाँच दिन पछि सञ्चालनमा आएको छ । राजमार्गका विभिन्न ठाउँको पहिरो पन्छयाएपछि आईतबार बेलुका ६ बजेदेखी राजमार्गमा सञ्चालनमा आएको हो ।
भदौं १२ गते राती परेको अविरल बर्षातले राजमार्गको गगनेखोला, दही खोला, माल चौरलगायतका दर्जनौं ठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
अवरुद्ध राजमार्ग पहिरो हटाएपछि राजमार्गको बिच बाटोमा रोकिएका सवारी साधन आईतबार बेलुका नै गतब्यतिर लागेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रवक्ता एवं प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए । उनले भने, ‘कर्णाली राजमार्गको दैलेख–कालीकोटका अधिकांश स्थानहरूमा सडक अवरुद्ध भएपछि जुम्लाबाट बेच्नका लागि छुटेका स्याउका करिब ४५ ट्रक ५ दिनदेखि अलपत्र परेका थिए । राजमार्ग सञ्चालनमा आएसँगै गन्तब्यतिर लागेका छन् ।’
जुम्लाबाट बजारमा पठाउनका लागि आएका स्याउका ४५ ट्रक अर्थात्, १०७ टन (करिब सात करोड मूल्य बराबर) को स्याउ कालिकोटको खाडाँचक्र नगरपालिका–३ मा कर्णाली राजमार्ग अन्तरगत ताडी बसपार्कमा रोकिएका थिए ।
यस्तै, सडक डिभिजन जुम्लाले अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जनाएको छ। कार्यालय प्रमुख इन्जिनियर चेतनकुमार मण्डलले अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको जानकारी दिए । ‘अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सुचारु भएको सम्पूर्ण यात्रु महानुभावहरूमा जानकारी गराउन चाहान्छु । यो बर्षातको समयमा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रात्रीको समयमा यात्रा नगर्नुहुन अनुरोध गरे ।
चारदिनसम्म लागेर सडक डिभिजन कार्यालय जुम्लाले हेभी इक्वीपमेन्टहरूको प्रयोग गरेर बाटो खुलाएको हो । यता जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरिक्षक सुनिल दाहलले कर्णाली राजमार्ग अन्तरगतको दैलेख खण्डमा भएको सडक अवरुद्ध सबै क्लियर पारिसकिएको र सवारी अवातजावत भइसकेको जानकारी दिए ।






