दर्शन शब्दको उत्पत्ति देख्नु भन्ने शब्दबाट भएको हो । ‘दृष्यते अनेन इति दर्शनम्’ भन्ने अर्थमा देख्नु नै दर्शनको मुख्य सार हो । अंग्रेजी भाषामा दर्शनलाई फिलोसफी भनिन्छ यहाँ फिलोस र सफियाको अर्थ ज्ञान भन्ने बुझिन्छ । ज्ञानको अनुराग भन्ने अर्थ बुझिन्छ । पश्चिमी दर्शनको पनि अन्तिम आधार ज्ञान नै हो र परमतत्व वा परम सत्यलाई जान्नु नै दर्शन भनिएको छ । दर्शनशास्त्र गहन वौद्धिक शास्त्र हो । यसबाट मानिसले सम्पूर्ण विश्वज्ञानलाई समष्टिगत रूपमा एकैपटक बुझ्न पाउँछ । सोसियो साइन्सबाट यो शब्द निर्माण भएको र यसको अर्थ जान्नु हो । विज्ञानको अर्थ ठीक ठीक ज्ञान प्राप्त गर्नु हो । दर्शनको उद्देश्य पनि ज्ञान प्राप्त गर्ने नै हो । फरक यति हो, विज्ञानबाट भौतिक लाभ र दर्शनबाट आध्यात्मिक लाभ प्राप्त हुन्छ । डा. राधाकृष्णका अनुसार धर्मको उद्देश्य आत्माको शक्ति हो र दर्शनको उद्धेश्य सत्यको खोजी हो । धर्मको उद्देश्य सत्यको खोजी हो । धर्मको उद्देश्य ज्ञान प्राप्ति पनि हो । धर्मको स्वरूप भने सेवा र पूजा हो । पूर्वीय दर्शनका विभिन्न स्वरूपहरू छन् । जस्तै ‘सांख्यदर्शन, योगदर्शन, न्याय दर्शन, वैशेषिक दर्शन, मिमांसा दर्शन, वेदान्त दर्शन’ यी त भए सबै आस्तिक (ईश्वर मान्ने) दर्शन । नास्तिक दर्शन (ईश्वर नमान्ने) पनि हाम्रो पूर्वीय दर्शनमा छन् । ती हुन् चार्वाक दर्शन, बौद्ध दर्शन र जैन दर्शन । यहाँ पूर्वीय दर्शनभित्रका तीज संस्कृतिलाई उजागर गर्ने प्रयास गरिएको छ ।
जीवन दर्शनमा संस्कृति र संस्कार हुन्छ । संस्कृति मान्छेको धुकधुकी हो, राष्ट्रको प्राण हो । थरीथरीका संस्कृति हाम्रो वर्षभरि आइरहन्छन् । हाम्रो संस्कृति र संस्कारको स्रोत पुराण हो, धर्म शास्त्र हो र हामी यसैले विश्वमा धनी भएका छौं । तीज संस्कृति भविष्य पुराणमा आधारित छ । शिव पति पाउने इराधाले पार्वतीले तीन अञ्जुली जल पिएर व्रत बसिन्, त्यसमा हामी सात्विक आहार गर्न सक्छौं जो केही समयका लागि आडिलो होस्, दरिलो होस्, दरिलो खाना दर हो र व्रत बस्ने अघिल्लो रातमा खाने हो । हिजोआज समाजमा विकृति आएको छ । कुनै दार्शनिक महापुरुषहरूको जन्मदिन दुई महिनाअघिदेखि हामी मान्दैनौं तर तीजलाई भड्किलो बनाइएको छ । यो आफैं भड्किलो बनेको होइन, बनाइएको हो । गरिष्ठ पदार्थको बिक्री वितरणबाट राज्यले भन्सार, कर, अन्तःशुल्क लिन सक्छ, राज्यको ढुकुटी बढ्छ होला र राज्य आपैंm धर्मनिरपेक्ष भएको र हरेक व्यक्तिको खानासँग प्रहरी प्रशासन उपस्थित हुन नसक्ने भएर होला राज्य नियन्त्रित छैन, तीज र अन्य चाडबाड पनि । खानु वैयक्तिक स्वतन्त्रता होला, तर जुन जे कार्यका लागि जसको आरम्भ भयो त्यसको मौलिकता मर्न गयो भने संस्कृति वा संस्कार बोझ हुन्छ, भारी हुन्छ र पछिकाले त्यसलाई बिर्सन सक्छन् । त्यसैले, हाम्रो पुस्ताले बढी ध्यान दिनुपर्छ । शक्तिबिना शिव शव हुन्छन्, त्यसैले नारीहरूले शक्ति प्राप्तिका लागि तीजको व्रत राख्नु राम्रो हो । शिवालयहरूमा धेरै भीड लाग्छ यस दिन । एक स्त्री घरमा अनुशासित हुँदा १० जनाको परिवारलाई ठीक ठाउँमा राख्न सक्छिन् । स्त्री त धर्ती हुन्, सिर्जनाकी स्रोत हुन्, पहिलो पूजा नारीकै त हुन्छ र मनुस्मृतिले नारीको खुसीमा देवत्व हुन्छ भनेको छ ।
भोलिपल्ट अगस्त्य ऋषि र लोपामुद्राको पूजा गरी पारायणपछि तुलसीको पात केरामा राखी भोजन वा जल आहार सुरु गर्नुपर्ने पद्धति हो, मान्यता हो र त्यसैदिन गणेशको जन्म दिन पनि हो । कुन आमाहरूले सिद्धि गणेशको सेवा नगरी रहन सक्लान्, हाम्रो नेपाली समाजमा ? भोलिपल्ट नक्त भोजन गर्नुपर्छ, एक छाक खाने र बिहानै नदीमा विशेष स्नान गर्नुपर्ने हुन्छ । दतिवन विशेष वनस्पति जसलाई अपामार्ग भनिन्छ, ३ सय ६५ वटा डाँठ र पातले शरीर चोख्याउनुपर्ने हुन्छ । रजस्वला दोष निवारण होस् भन्दै ऋषि पञ्चमी पूजा र कथा श्रवण गर्नुपर्ने हुन्छ, समूहमा आबद्ध भएर । साथी संगिनीसँगको भेटघाट, काठमाडौंको पचलीमा रहेका सप्तर्षि स्थानको दर्शन अनि नाच गान, हाम्रो परपूर्वको संस्कार हो । सक्नेले यहाँ जान्छन्, नसक्नेले नदी जलाशयमा पूजा गर्छन्, राजधानीबाहिर हुनेले पनि यथासम्भव शिवालय जाने वा घरैमा पूजाआजा गर्ने हाम्रो परम्परा हो । तीज पर्व बाबुको मुख हेरेर सुरु हुन्छ औंसी पछि । यो करिब पाँच दिनको हुन्छ । औंसीअघिको दर खाने वा पर्व मनाउने शास्त्रीय मान्यता छैन । त्यो भोज भतेर हुन्छ, सात्विक आहारले शरीर शुद्ध हुन्छ, मन, वचन पनि र उसले समाजमा गर्ने कार्य पनि राम्रो हुन्छ । खानामा अशुद्धी हुनासाथ व्यक्तिको कार्यमा अशुद्धी हुने हुन्छ र समाजमा देखिएका विकराल स्वरूप त्यसैको परिणति हो ।
शिव पति पाउने इराधाले पार्वतीले तीन अञ्जुली जल पिएर व्रत बसिन्, त्यसमा हामी सात्विक आहार गर्न सक्छौं
हामी हिन्दूमार्गीहरूका लागि कुसेऔंसीपछिको चाड महिलाहरूको एकलौटी पर्व हरितालिका भनौं तीज र त्यसकै भोलिपल्ट व्रत पारायण गर्दै अगस्ती अर्घ दिने, सोही दिन गणेश चतुर्थी पर्व भोलि २२ भदौमा परेको छ भने तीज समापन पर्व ऋषिपञ्चमी व्रत भने त्यसको पनि भोलिपल्ट सप्तर्षिपूजा पर्सि २३ भदौमा परेको छ । जुन दिन बिहानै आप्mनो मासिक धर्म, रजस्वलामा भएको अञ्जान स्पर्श दोषबाट जोगिन बिहानै नदीमा स्नान गर्ने, ३ सय ६५ अपामार्ग प्रयोग गर्ने, दिउँसो समूह मिली पूजा गर्ने र खानामा चोखो गर्दै एक छाक मात्रै खाने गरिन्छ । जुनसुकै कामको थालनीपूर्व पनि श्रीगणेशको सम्झना जरुरी छ । गणेश पूजाका अग्राधिकारी नै हुन्, उनको जन्मतिथिलाई गणेश चौथीका नामले चिनिन्छ । गणेश उपासनाको मूल मन्त्र यस्तो छ–
ॐ एक दन्ताय विद्महे बक्रतुण्डाय धीमहिः तन्नो दन्ती प्रचोेदयात् ।
सजिलो मन्त्र– ॐ गं गणपतये नमः
तनाव, क्रोध, आवेग एवं रक्तचाप र अशान्ति, कलहका कारक मंगलग्रहको दोष निवारण गर्नु छ भने पनि श्रीगणेशको उपासना गर्नुपर्ने हुन्छ । २१ वटा मंगलबारको व्रतले मंगल दोष निवारण हुन्छ । ज्योतिष शास्त्रानुसार जन्म कुण्डलीमा मंगलदोष, बालग्रह, अरिष्ट शान्ति, त्रिभागी एवं योगिनी दशा शान्ति गर्न पनि मंगलबार श्रीगणेशको विशेष पूजा आराधना गर्नुपर्ने हुन्छ । २१ वटा दुबो, २१ वटा लड्डु, रातो वस्त्र, रातो पूmलसहित गणेशजीको उपासना गर्नाले मानिसको स्थूल शरीर र यसैको सूक्ष्म शरीर मनको विकार नाश हुन्छ । व्रतमा गहुँको परिकार र सक्खरको सेवन राम्रो मानिन्छ । यसो गर्दा शरीरका विकार नाश भई तेज वृद्धि हुन्छ । आयुर्वेद शास्त्रको पनि यही मत छ । तमाम बिघ्न बाधा हटाई आपूmले सम्मान चाहनेले श्रीगणेशको हरदम आराधना गर्नुपर्छ ।
बालकहरूलाई सर्वप्रथम शिक्षा आरम्भ गर्दा श्रीगणेशाय नमः भनी सरस्वतीको पूजासाथ अध्ययन सुरु गराइन्छ भने गणेशको पूजामा बेलपत्र अर्पणलाई निषेध मानिएको छ ।
विध्नेश, हेरम्ब, गजानन, सुर्पकर्ण, विनायक, लम्बोदर, एकदन्त र गणेश गरी गणेश भगवान्का ८ नाम मुख्य छन् भने गणेशका हजार नाम लिई मन्त्र जप र हवन कार्य गर्नाले जुनसुकै कडा रोग पनि निको हुने विश्वास गरिन्छ । सबैजसो पूजामा अग्रपूजाका अधिकारी श्रीगणेशलाई नै बनाउने त स्वयं शंकर नै हुन्, जसलाई महादेव भनिन्छ भनौं ठूला देव । जीवनमा सुख, सौभाग्य, कीर्ति, यश, पराक्रम, धन र मनोबल प्राप्त गर्न गणेशकै आशीर्वाद आवश्यक हुन्छ । मानिसको शरीर भनेको पञ्चतत्वको जड पिण्ड हो । चित्त शक्ति आत्माको प्रवेशले यसलाई चलायमान गरेको हुन्छ । प्रकृतिका पाँच तत्वले बनेको शरीर संरक्षणमा पाञ्चायन देवता शिव–विष्णु–देवी–सूर्य र गणेशको प्रमुख देन रहेको हुन्छ । शिव ज्ञानका प्रतीक, विष्णु शरीर सञ्चालनका प्रतीक, देवी शक्तिको प्रतीक, सूर्य आत्माको प्रतीक र गणेश वाक् शुद्धी भनौं वाणीका प्रतीक हुन् । मानवले कोमल हृदय र मधुर वाणीका लागि गणेशको सेवा गर्नुपर्ने शास्त्रकारहरूको तर्क छ । सबै हिन्दु आमा, दिदीबहिनीहरूमा तीज पर्वको शुभकामना !






