भित्री सूचनाका आधारमा सेयरबाट सम्पत्ति आर्जन गर्नु अपराधः विशेष अदालत

काठमाडौं । विशेष अदालतले भित्री सूचनाका आधारमा सेयरबाट सम्पत्ति कमाउनुलाई सम्पत्ति शुद्धीकरणको कसुर मान्नुपर्ने व्याख्या गरेको छ । रिडी हाइड्रोपावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सो व्याख्या गरेको हो ।

विशेष अदालतले गुरु न्यौपानेको चार जनाको परिवार रहेको र उनीहरू आश्रित रहेको भन्दै १ वर्ष मात्रै कैद फैसला सुनाएको हो । विशेषले उनलाई ३ करोड ९८ लाख रुपैयाँ जरिमाना हुने ठहर गर्दै उनको सम्पत्तिबाट थप १ करोड ९९ लाख रुपैयाँ जफत गर्न आदेशसमेत दिएको छ ।

विशेष अदालतले फैसलामा भनेको छ, ‘जुन व्यक्ति कम्पनीको जिम्मेवारी बहन गर्ने दायित्वमा रहेको छ, त्यस्तो व्यक्तिले प्राप्त गरेको सूचनाको दुरुपयोग गरी छलकपटपूर्ण ढंगले सम्पत्ति प्राप्त गरेको छ भने त्यस्तो कार्य दुरुपयोगको सिद्धान्तनुसार हेर्नुपर्छ ।’ विशेष अदालतले कतिपय अवस्थामा गैरकानुनी सम्पत्ति आर्जन गर्ने उद्देश्यले कानुनविपरीतकै काम गर्नु मूल अपराध हुने भन्दै त्यसबाट सम्पत्ति आर्जन गरेमा सम्बद्ध कसुर हुने भनी ठह¥याएको छ । जलविद्युत् कम्पनीको अध्यक्ष भएको व्यक्तिले भित्री सूचनामा पकड राखी सेयर किनबेचबाट लाभ लिएको भन्दै विशेष अदालतले फैसलामा भनेको छ, ‘मुनाफा आर्जन गर्ने उद्देश्यले निजले सो सेयर खरिद गरी बिक्री गरेको र करिब २ करोड रुपैयाँ मुनाफा लिएको देखिँदा आरोपित कसुर पुष्टि हुन आउँछ ।’

पदीय हैसियतमा रहने व्यक्तिमा कानुन र वित्तीय सुशासनप्रतिको उत्तरदायित्व एवं जवाफदेहिताप्रतिको चेतनाको अभावमा यस्ता कसुरका घटना हुने फैसलाको पूर्णपाठमा भनिएको छ । ‘भित्री कारोबार आकारमा सानै भए पनि खराब नतिजा ल्याउँछ भने ठूलो मात्रामा हुन थालेमा राष्ट्रिय अर्थतन्त्रमा नै विचलन सिर्जना हुन पुग्छ,’ फैसलामा भनिएको छ ।

रिडी हाइड्रोपावर कम्पनीको अध्यक्ष भएका न्यौपानेले भित्री सूचनाका आधारमा सेयर कारोबार गरेका थिए । अध्यक्षजस्तो महŒवपूर्ण जिम्मेवारीमा रहेका उनले भित्री सूचनाको दुरुपयोग गरेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको हो ।

‘जुन सूचनाले सेयरको मूल्य तलमाथि हुन्छ, तिनलाई मूल्य संवेदनशील सूचना भनिन्छ, यस्ता सूचनामा पहुँच हुनेले आफूले वा इष्टमित्रमार्फत गर्ने सेयर कारोबार नै भित्री कारोबार हो,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘प्रतिवादी गुरुप्रसाद न्यौपानेले गल्ती भएको भनी बयानमै उल्लेख गरेका हुँदा भित्री कारोबार गरेको तथ्य स्थापित हुनआएको छ ।’

कम्पनीको भित्री सूचनाका आधारमा सेयर खरिद–बिक्री गरी गैरकानुनी लाभ लिएको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निजी क्षेत्रका ऊर्जा उत्पादक न्यौपानेविरुद्ध मुद्दा दायर गरेको थियो । विभागले उनीमाथि १ करोड ९९ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो ।

२०५६ सालदेखि नै रिडी हाइड्रोपावरका संस्थापक, प्रवर्धक र प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपाने १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म सो संस्थाको अध्यक्ष थिए । उनी अध्यक्ष भएकै बेला ४ जेठ २०७८ मा रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको थियो ।

निर्णय हुनुभन्दा डेढ महिनाअघि न्यौपानेले रिडीको सेयर किनेको भेटिएको थियो । त्यतिबेला उनले रिडी हाइड्रोपावरको करिब ३० हजार कित्ता सेयर २ सय ३ देखि २ सय १२ रुपैयाँका दरले किनेका थिए । पछि आफूसँगै भएको समेत गरी उनले करिब ४० हजार कित्ता सेयर बेचे । उनले सो सेयर प्रतिसेयर ५ सय ९१ देखि ७ सय ३१ रुपैयाँका दरले बेचेको खुलेको थियो ।

धितोपत्र बोर्डले भित्री सूचनाबिना खरिद–बिक्रीको कामलाई संयोग मात्रै भन्न नसकिने निष्कर्षका साथ उनीमाथि मुद्दा चलाउन राय पठाएको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार न्यौपानेले १९ चैत २०७७ देखि २४ साउन २०७८ सम्म रिडी हाइड्रोपावरको सेयर १४ पटक खरिद र १२ पटक बिक्री गरेका थिए । आफू मात्रै नभई उनले श्रीमती सुमित्रादेवी न्यौपाने, छोराहरू सञ्जीव न्यौपाने, सतिश न्यौपाने, बुहारीहरू सलिना नेपाल र सिर्जना खड्काका नाममा रहेको सेयर पनि खरिद–बिक्री गरेका थिए ।

जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन
धितोपत्र बोर्डको अनुसन्धानबाट भित्री कारोबार भएको भेटिएपछि न्यौपानेलाई बोर्डले ७५ हजार रुपैयाँ जरिमाना गराएको थियो । अनि १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक र व्यवस्थापक हुन नपाउनेगरी प्रतिबन्धसमेत लगाएको थियो । भित्री कारोबारमार्फत सेयर बेचेर ३ करोड २३ लाख ९७ हजार रुपैयाँ आर्जन गरेको आरोपमा दायर भएको मुद्दा अहिले पनि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९१ मा कुनै व्यक्तिले धितोपत्रको मूल्यमा असर पार्नसक्ने भित्री सूचना वा जानकारीका आधारमा कारोबार गरेमा वा सूचना चुहाएमा भित्री कारोबार गरेको मानिने भन्ने व्यवस्था छ । त्यसको पुष्टि भएमा बिगोबमोजिम जरिमाना, १ वर्ष कैद वा दुवै सजाय हुनसक्छ ।

न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले अवैध रूपमा सेयर कारोबार गरेको ठहरसहित धितोपत्र बोर्डले गत २४ मंसिर २०७९ मा दुवै जनालाई कारबाही गर्ने निर्णय गरेको थियो । न्यौपानेविरुद्ध मुद्दा चलाएपछि प्रधानको हकमा भने अरू कारबाही भएन ।

न्यौपाने यसअघि पनि कारबाहीमा परिसकेका व्यक्ति हुन् । जनता बैंकको सञ्चालक हुँदा पत्नी सुमित्रादेवी न्यौपानेका नाममा ५२ हजार ४ सय ७० कित्ता सेयर किनेको भेटिएपछि राष्ट्र बैंकले त्यो सेयर जफत गर्न निर्देशन दिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 301 times, 1 visits today)

epaper

ताजा समाचार

पर्सामा पनि हटाइयो निषेधाज्ञा