जनकपुरधाम । धनुषामा गत चैत २४ गतेदेखि क्वारेन्टाइनमा रहेका एक वडा अध्यक्षको आरडीटी टेष्टको रिपोर्ट पोजेटिभ आएको छ ।
चैत २२ गते भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिकाका एक जना वडा अध्यक्षलाई २४ गतेदेखि क्वारेन्टाइनमा राखिएको र आज आरडीटी परिक्षण गर्दा पोजेटिभ रिजल्ट आएको हो । १४ दिन क्वारेन्टाइनमा राखिएपछि उनको आरडीटी जाँच गर्दा पोजेटिभ देखिएको इलाका प्रहरी कार्यालय खजुरीका इन्जार्च प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले जानकारी दिएका छन् ।
उनका अनुसार क्वारेन्टाइनमा राखिएका नौ जनाको जाँच गर्दा ८ जनाको नेगेटिभ देखिएको र ववडा अध्यक्षको रयापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण गर्दा एन्टीबडी पोजेटिभ देखिएको छ ।
एक महिना भारतको मधुवनी बसेर चैत २२ गते दिउँसो घर फर्केपछि स्थानीयको दवावमा उनलाई क्वारेन्टाइनमा राखिएको थियो । इलाका प्रहरी कार्यालय खजुरीमा स्थानीयले वडा अध्यक्षलाई भारतबाट आएको जानकारी गराएपछि प्रहरीको सक्रियतामा उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।
उनलाई सोहि गाउँपालिका वडा नं.४ स्थित उच्च माध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो । उनलाई थ्रोट स्वाब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ ।






