‘ओभरस्पिड’ले प्रदेश १ मा ९ जनाको निधन

सांकेतिक तस्वीर

इटहरी । लकडाउनमा प्रदेश १ का विभिन्न ठाउँमा भएको दुर्घटनामा ९ जनाले ज्यान गुमाएका छन् । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ का प्रमुख प्रहरी उपरीक्षक (एसपी) भीम बहादुर दाहालका अनुसार लकडाउनको अवधिमा प्रदेश १ का विभिन्न ठाउँमा भएको सवारी दुर्घटनामा ९ जनाले ज्यान गुमाएका हुन् ।

आइतबार साँझ धरान–११ दुर्गाचोकमा ‘ओभर स्पिड’ का कारण विशाल घिसिङको ज्यान गयो । को ३४ प १०३९ नम्बरको मोटरसाइकल ओभर स्पिड हुँदा अनियन्त्रित भई दुर्घटना भएको एसपी दाहालले बताए । उनका अनुसार प्रदेश १ का सुनसरी, मोरङ, झापा, ओखलढुङ्गा र ताप्लेजुङमा दुर्घटनाका कारण ९ जनाले ज्यान गुमाएका हुन् ।

लकडाउनको अवधिमा सुनसरीमा ४ जनाले ज्यान गुमाएका छन् । सुनसरीमा गत चैत १५ गते इनरुवा–७ स्थित पूर्वपश्चिम लोकमार्गमा मे ९ प १८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलमा सवार इनरुवा–६ का ५० वर्षीय रघुवीर कटुवालको मृत्यु भयो । चैत १९ गते इनरुवा–६ मै को १ च ९६०५ नम्बरको एम्बुलेन्सको ठक्करबाट को १६ प २०६४ नम्बरको स्कुटीमा सवार इनरुवा–६ मधेशाकी स्वास्थ्यकर्मी रत्ना श्रेष्ठको मृत्यु भयो ।

त्यस्तै, चैत २१ गते वराहक्षेत्र–२ मा को २ त १८३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकबाट ३५ फिट तल खस्दा सहचालक हरि थापाको घटनास्थलमै मृत्यु भएको थियो । त्यस्तै, चैत ११ गते झापाको कमल गाउँपालिका–५ को भित्रीसडक खण्डमा मे १० प ७२३० नम्बरको मोटरसाइकलले पहिचान नखुलेको करिब ६०–६५ वर्षका वृद्धलाई ठक्कर दिएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको थियो । ती वृद्धको हालसम्म पहिचान खुलेको छैन । त्यस्तै, चैत २० गते कमल गाउँपालिका–४ मा नै केकुन सवारी साधनले ठक्कर दिँदा सिराहा सुखीपुर नगरपालिका–१ का ४५ वर्षीय पानो मण्डलको उपचारको क्रममा निधन भएको थियो ।

त्यस्तै, मोरङमा चैत ११ बेलबारी–१० मा पहिचान नखुलेको करिब ४०–४५ वर्षका व्यक्तिलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा सवारीसमेत पहिचान हुन नसकेको दाहालले बताए ।

त्यस्तै, ओखलढुङ्गामा चैत ११ गते नै मानेभञ्ज्याङ गाउँपालिका–५ केरुङस्थित सिद्धिचरण लोकमार्गमा बा ६३ प ९३५५ नम्बरको मोटरसाइकलले ना ६ त ६३६० को ट्याक्टरमा ठक्कर हुँदा मोटरसाइकलमा सवार पवित्रा राईको उपचारको क्रममा निधन भएको थियो । त्यस्तै, ताप्लेजुङमा चैत २३ गते फक्तालुङ गाउँपालिका–६ मा सुख्खा पहिरोका कारण स्काभेटर सडकबाट १ सय मिटर तल तमोर नदीमा खस्दा चितवन सौराहाका २७ वर्षीय चालक चित्रकुमार गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।

‘यो समयमा अन्य सवारी साधन नचल्ने र अधिक स्पिडमा सवारी चलाउँनेहरु दुर्घटनामा परेको देखिन्छ,’ एसपी दाहालले भने, ‘लकडाउनमा विभिन्न बहाना बनाएर सवारी चलाउँने र ओभर स्पिड चलाउँने भएका कारण अनियन्त्रित भएर सवारी दुर्घटना हुने गरेको छ ।’

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन