काठमाडौं । यतिबेला प्रदर्शन भइरहेको चलचित्र लाज शरणम्को प्रोमोसनको लागि भनेर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको स्वरमा नयाँ गीत नेपाल हासेको… दुई साता अघि सार्वजनिक गरियो । यो गीत सार्वजनिक गरिएको १६ घण्टामै युट्युब ट्रेन्डिङमा पनि उक्लिएको थियो ।
लाज शरणम्को प्रोमोसनको लागि यो गीत तयार गरिएको भए पनि गीतका कारण चलचित्रको भने त्यति राम्रो प्रोमोसन हुन सकेन । यो गीत छोटो समयमा ट्रेन्डिङमा परेका कारण चलचित्रले पनि बक्स अफिसमा बम्बर व्यापार गर्ने विश्वास निर्माण पक्षको थियो । तर चलचित्रको व्यापार यतिबेला औसत रहेकको छ ।
लाज शरणम्को लागि मात्र हैन, धेरै चलचित्रको प्रोमोसनको लागि गीत बनाउने लहर नै चलेको छ । चलचित्रको प्रोमोसनकै लागि भनेर यस्ता गीतहरूमा प्रशस्त लगानी पनि गरिन्छ । तर गीतले चलचित्रको प्रोमोसन भने सोचे अनुसारको गर्न सकेको देखिँदैन ।

तीन साता अघि रिलिज भएको नेपाली चलचित्र ममीमा पनि निर्देशक समर निरौलाले एउटा प्रोमोसनल गीत राखेका थिए । म त यसै नक्कली…बोलको यो प्रोमोसनल गीतमा अभिनेत्री प्रियंका कार्की र दिया मास्केको अभिनय थियो । यो चलचित्रमा राम्रो गीत नभएकै कारण चलचित्रको प्रचार प्रसारमा मद्दत पुग्ने विश्वास सहित निर्देशक निरौलाले यो गीत बनाएका थिए । यो गीतलाई चलचित्र सकिएपछि अन्तिममा राखिएको छ । तर यो गीतले चलचित्रलाई सफल बनाउन सकेन । ममी पनि व्यावसायिक रूपमा असफल साबित भयो ।
दुई वर्ष अघि निर्माण भएको चलचित्र राधाको लागि पनि प्रोमोशनल गीतको रूपमा तीज गीत तयार गरिएको थियो । तिजको अबसरमा चलचित्र राधा रिलिज हुन लागेका कारण यसको प्रोमोसनको लागि तिज गीत पाउमा पाउजु…बनाईएको थियो । गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र सृष्टी श्रेष्ठले नृत्य गरेकी थिइन् । त्यति बेला यो गीत युट्युब ट्रेन्डिङमा प¥यो । गीत भाइरल पनि भयो । तर चलचित्र व्यावसायिक रूपमा असफल भयो । यो गीतलाई पनि चलचित्रको समापनमा कास्टिङसँगै राखिएको थियो ।

तर चलचित्रको प्रचारमा प्रयोग गरिएको सबै गीतले चलचित्रलाई घाटा मात्र तुल्याएका छैनन् । यस्तो प्रोमोसनल केही गीतले चलचित्रलाई फाइदा नपु¥याएका हैनन् । सुलक्षण भारतीको निर्देशनमा गत वर्ष रिलिज भएको नेपाली चलचित्र बोक्सीको घरमा पनि प्रोमोसनल गीत राखिएको थियो । बुझिन मैले बुझाइदेऊ कसैले…बोलको यो गीत समीक्षा अधिकारीको स्वरमा थियो । चलचित्रको यो प्रोमेशनल गीत आफैंमा सर्वाधिक सफल भयो । चार करोड ३४ लाख पटक युट्युवमा हेरिसकिएको यो गीतलाई प्रकाश सपुतले संगीत गरेका थिए ।
चलचित्र बोक्सीको घरका निर्देशक सुलक्षण भारतीका अनुसार यो चलचित्र त्यतिबेला हिट हुनुमा बुझिन मैले गीतको ठुलो हात रहेको छ । यो गीत एकाएक भाइरल भएपछि विशेष गरेर महिला दर्शकहरू बोक्सीको घर हेर्नकै लागि हलमा उत्रिएको यी निर्देशक सहजै स्विकार्छन । यो गीतमा अभिनेत्री केकी अधिकारीको नृत्य र अभिनय पनि त्यत्तिकै उत्कृष्ट थियो ।
चलचित्रलाई प्रचार प्रसार गर्न र सफल तुल्याएन प्रोमोसनल गीतको महत्त्वपूर्ण योगदान हुनेकुरा चलचित्र निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला पनि स्विकार्छिन् । उनले पाँच वर्ष अघि निर्माण गरेको चलचित्र छ माया छपक्कैको लागि पनि यस्तै एउटा प्रोमोसनल गीत बजारमा ल्याइएको थियो । त्यति बेला दुर्गेश थापाको स्वरमा तीज गीत बिच्च बिच्चमा…निकै हिट भएको थियो । सोही क्रममा दसैँमा रिलिज हुन लागेको चलचित्र छ माया छपक्कैको प्रचार प्रसारको लागि बिच्च बिच्चमा…बोलको प्रमोशनल गीत निर्माण टिमले बनाएको थियो । यो प्रामोसलन गीतमा दुर्गेश थापासँगै चलचित्र छ माया छपक्कैका कलाकारहरुले अभिनय गरेका थिए । चलचित्र छ माया छपक्कैले बक्स अफिसमा सुपर हिट व्यापार गरेको थियो । त्यति बेला तयार गरिएको यो प्रोमोशनल गीतले चलचित्रको प्रचार प्रसारमा राम्रो साथ दिएको यो चलचित्रकी निर्माता दीपाश्री निरौलाको कथन छ ।

यस्तै दीपाश्रीको भनाईमा छक्का पन्जा ४ को लागि पनि दुई वर्ष अघि टुकुर टुकुर…बोलको प्रोमोसनल गीत बनाईएको थियो । यो चलचित्रका कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) र अन्य कलाकारको स्वरमा बनाईएको यो प्यारोडी शैलीको प्रोमोशनल गीत पनि युट्युब ट्रेन्डिङमा पुगेको थियो । चलचित्र छक्का पन्जा ४ को प्रचार प्रसारमा यो प्रोमोसनल गीतले पनि निकै सघाउ पु¥याएको यसकी निर्माता दीपाश्रीले बताएकी छिन् ।
नेपाली चलचित्रको प्रचार प्रसारको लागि यसरी प्रोमोसनल गीत बजारमा ल्याउने क्रममा निकै बढेको छ । तर आफूहरूले प्रोमोसनल रूपमा रेकर्ड गरेको गीतलाई चलचित्रमा नराखेर प्रचार प्रचारमा मात्र प्रयोग गरेको दीपाले बताएकी छिन् ।






