रौतहट । रौतहटको मौलापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष रामप्रवेश यादवले आफ्नो जिम्मेवारी पुरा नगरेको र नगरलाई कमाजोर एवं प्रभावहीन बनाउँन खोजेको आरोप सहित कारवाही गर्न माग गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचित वडा अध्यक्ष यादवले गैरजिम्मेवार ढंगले प्रस्तुत भई कोरोना भाइरसको संक्रमण बिरुद्धको लडाईमा गैरजिम्मेवार तरिकाले प्रस्तुत भएपछि पार्टीकै नेताले उनलाई कारवाही गर्न आज माग गरेका छन् ।
नेकपा वडा कमिटीका संयोजक एवं पुर्व जिल्ला कमिटी सदस्य रामविश्वास ठाकुर, पुर्व जिल्ला कमिटी सदस्य भोला पाण्डेय, पुर्व गाविस अध्यक्ष एवं नेकपा नेता नागेन्द्र यादव, नगरकमिटी सदस्य ओमनारायण महतो, नवलकिशोरप्रसाद यादव, नेकपा वडा कमिटीका सदस्य तथा नेताहरु जितन मुखिया विन, रामदेव महतो, हरिशंकर कुशवाहा, मनोज कुमार जयसवाल, बालाशंकर कुशवाहा, गणेश पाण्डेय सहित दर्जनौ नेताहरुले लिखित रुपमा नेकपा मौलापुर नगरकमिटीसंग यादवलाई पदमुक्त गर्न माग गरेका छन् ।
‘वडाध्यक्षले गर्नुपर्ने कार्यहरु न गर्दा यस वार्डमा कोरोना संक्रमित व्यक्तिको पहिचानमा कठिनाइ भएको, खाद्ययान लगायतका अतिआवश्यक आपूर्तिमा असहजता एवं मुख्यतः श्रममा आश्रित गरीब असाहय परिवारले राहत पाऊनबाट वंचित हुनुपरेको जस्ता अमानवीय सङ्कट खडा भएको छ’ उनीहरुले कारवाही गर्न माग गर्दै लेखेको निबेदनमा उल्लेख गरिएको छ ।
आफ्नो जिम्मेवारी पुरा नगर्ने, नगरपालिकालाई वदनाम गर्नुका साथै वडा अध्यक्ष यादवले गैरकानूनी एवं अमानवीय काम गरी पार्टीलाई नै बदनाम गरेकाले उनलाई तत्काल पदमुक्त गर्न माग गरिएको छ ।
यस्तो संकटमा पनि वडा समितिको बैठक नबोलाएको, कोरोना संक्रमण नियन्त्रणमा सम्बन्धित वडाले गर्नुपर्ने कार्यमा पुरै उदासीन रहेको, राहत वितरणको लागि बैठक नै नबसी आफुखुशी नक्कली नामावली नगरपालिकामा बुझाएको, प्रदेश र नगरपालिकाको निर्देशनसमेत निरन्तर उलंघन गरेको, जनतालाई विधि सम्वत ढंगले गर्नुपर्ने सिफारिस समेत नगरेको, जनताको सेवा गर्नुको सटा फुटाउन र लडाउनमा उद्दत रहेको, पार्टीको निर्देशन र परामर्शलाई पुरै वेवास्ता गरेको, राहत वितरण एवम् बजेटमा निहित स्वार्थ पूरा नभएपछि नगरपालिकालाई बदनाम गर्न वडा अध्यक्ष यादव उद्दत रहेको आरोप लगेको छ ।






