दिनेश अधिकारीको पानीको परेड लोकार्पित

काठमाडौं । कवि दिनेश अधिकारीको नयाँ कवितासंग्रह पानीको परेड पाठकमाझ आएको छ । काठमाडौँमा एक समारोहबिच कवि अधिकारीले आफूभन्दा पछिल्लो पुस्ताका कविहरू मोमिला र नवराज लम्साललाई पानीको परेड पुस्तक उपहार दिएर पुस्तक लोकार्पण गरे ।

आमा कविता वाचनबाट आफ्नो मन्तव्य सुरु गरेका अधिकारीले श्रीमती उषा अधिकारीलाई पनि मञ्चमा बोलाएर यो पुस्तक उपहार दिए । विमोचन समारोहमा अधिकारीले भने,‘२०३२ चैतमा रत्नश्रीमा मेरा दुइटा कविता छापिएपछि मेरो काव्यिक परेड सुरु भएको थियो । पुस्तकका रूपमा अन्तरका छिटा देखि आज पानीको परेडसम्म आइपुगेको छु,’

कवि सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन, वासु शशीको घरलाई प्रमुख काव्यिक गन्तव्य बनाएर आफूले काव्य यात्रा अघि बढाएको कवि अधिकारीले बताए । २०३६ सालमा अभिव्यक्ति स्वतन्त्रता, प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर अग्रज कविहरू मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेहरूका साथमा आन्दोलनमा होमिएको स्मरण गर्दै अधिकारीले त्यति बेला आफ्नो जागिर संयोगले जोगिएको पनि स्मरण गरे ।

‘कहिले लाग्छ, कविता जीवनको कलात्मक मन्तव्य हो । कहिले लाग्छ, जीवनको विद्रोही वक्तव्य हो,’ कवि दिने अधिकारीले विमोचन कार्यक्रममा भने, ‘कविता शिल्प र कल्पनाको अंगालो त हो नै; यो भावना र विचारको भंगालो पनि हो । समयको छाप सँगसँगै संवेदनाको एकालाप पनि हो, कविता ।’

कविता संग्रह पानीको परेडमा कवि अधिकारीले पछिल्लो १५ वर्षयता लेखेका धेरै कविताबाट छानेर ७७ वटा कविता समेटेका छन् । यसमा जीवनको ज्वार, आस्थाको आकाश, वक्र–वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्डमा ७७ कविता छन् ।

अतिरिक्त अभिलेख कविता संग्रहबाट मदन पुरस्कार प्राप्त कवि अधिकारी अन्तर्राष्ट्रिय स्तरका कवि भएको अर्का कवि नवराज लम्सालले विमोचन समारोहमा बताए । अधिकारीका कविताहरूमा बिम्बको सशक्त प्रयोग हुने गरेकाले उनका कविताहरू प्रभावशाली बन्ने गरेको पनि लम्सालले बताए ।

कार्यक्रममा पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यले भने, ‘कवि दिनेश अधिकारी अनुभूतिको तीव्र प्रवाहलाई स्वाभाविक–सुललित रूपमा पस्किनुहुन्छ, जसले पाठकको हृदयलाई सहज स्पन्दन गर्छ,’ कवि अधिकारीको कविता छापिन थालेको ५० वर्षको अवसर पारेर पब्लिकेशन नेपालयले यो पुस्तक प्रकाशन गरेको आचार्यले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 51 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ