भारतीय सीमानजिकै अब सेनाले पनि गस्ती गर्ने, मुख्य भूमिकामा भने सशस्त्र र नेपाल प्रहरी नै

काठमाडौं । कोरोना संक्रमणको त्रासबीच छिमेकी मुलुकसँगको नाकामा कडाइ गर्दै आइरहेको सरकारले सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि आक्रमण हुन थालेपछि सेनालाई गस्तीमा खटाउन सक्ने गरी आवश्यक निर्देशन दिएको छ ।
सीमा नाकाबाट हुने अवैध प्रवेश रोक्दा सुरक्षाकर्मीमाथि नै आक्रमण हुन थालेपछि गृह मन्त्रालयले सीमा क्षेत्रदेखि ५ किलोमिटरको दूरीमा रहने गरी सेनालाई गस्तीमा खटाउन निर्देशन दिएको हो । गृहले त्यसका लागि जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहने सुरक्षा समितिलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जिल्ला सुरक्षा समितिलाई आवश्यकताका आधारमा सुरक्षा व्यवस्थापन गर्न सक्ने गरी निर्देशन दिइएको बताए ।
‘सेनालाई नै सीमाको सुरक्षामा खटाउने भन्ने होइन । केही जिल्लामा हिंसात्मक गतिविधि हुन थालेपछि आवश्यकताका आधारमा सुरक्षा समितिलाई सुरक्षा व्यवस्थापन गर्न निर्देशन भएको हो । सुरक्षा समितिमा सेना, प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि रहने हुँदा आवश्यकताका आधारमा निर्णय हुन सक्छ,’ गृह प्रवक्ता शर्माले राजधानीसँग भने ।
गृह प्रवक्ता शर्माका अनुसार जिल्ला सुरक्षा समितिहरूले आवश्यकताका आधारमा सेनालाई गस्तीमा खटाए पनि पहिलो प्राथमिकतामा नेपाल प्रहरी र सशस्त्र प्रहरी नै रहनेछन् । सेना सीमा क्षेत्रमा पुग्नेछैन ।
गत सोमबार झापाको झापा गाउँपालिकाअन्तर्गत पर्ने सीमा नाकाबाट नेपाल प्रवेश गर्न लागेका भारतीय नागरिकले सशस्त्र प्रहरीलाई आक्रमणको प्रयास गरेका थिए । सो बखत मोटरसाइकलमा आएका दुई जना भारतीयलाई प्रहरीले झापा गाउँपालिका प्रवेशमा रोकेको थियो । त्यसलगत्तै ठूलो समूहले सोही स्थानमा सशस्त्र प्रहरीमाथि नै आक्रमणको प्रयास गरेको थियो भने सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको थियो ।
सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि अवैध प्रवेश रोक्दा दुवैतिरका नागरिकले आक्रमण र हुलहुज्जत गर्ने, लकडाउन उल्लंघन गर्नेलगायतका घटना हुन थालेपछि गृहमन्त्रीस्तरीय निर्णयमार्फत मन्त्रालयले सुरक्षा समितिलाई आवश्यकताअनुसार सेनालाई खटाउने गरी निर्देशन दिएको हो ।
स्थानीय प्रशासन ऐन २०२८ को परिच्छेद ३ मा प्रमुख जिल्ला अधिकारीलाई स्थानीय शान्ति सुरक्षा, दंगा नियन्त्रण, निषेधाज्ञा, कफ्र्यु आदेश जारी गर्ने र यसका लागि अन्य सुरक्षा निकायले परिस्थिति नियन्त्रण गर्न नसकेको अवस्थामा पछिल्लो भूमिकामा सेनालाई खटाउन सक्ने अधिकार दिइएको छ ।
नेपालतर्फ २३ जिल्लाका विभिन्न क्षेत्र गरी कुल १ हजार ८ सय ८० किलोमिटर क्षेत्र भारतका विभिन्न भूभागसँग जोडिएका छन् । नेपालमा लकडाउन सुरु भएयता सीमा नाकामा कडाइ गर्न भन्दै सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो जनशक्ति सीमा नाकामा खटाउँदै आइरहेको छ ।
हाल भारततर्फ सशस्त्र प्रहरीका १ हजार २ सय १३ र नेपाल प्रहरीका ४ सय ७० स्थानमा चेक प्वाइन्ट खडा गरिएका छन् । सशस्त्र प्रहरीका १ सय २० स्थायी बीओपीसमेत सीमा सुरक्षामा खटिएका छन् ।
गृहमन्त्री रामबहादुर थापाले गत सोमबार सीमा नाकामा खटाइएका १ सय २० वटा बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी)लाई बढाएर ५ सय पु¥याउने बताएका थिए । त्यसका लागि कार्ययोजना पेस गर्न सशस्त्र प्रहरीलाई गृहमन्त्रीले निर्देशन दिइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

epaper

ताजा समाचार

सुनकोशीमा कारसहित बेपत्ता तीन जनाको खोजीका लागि बिहानैबाट गोताखोरसहितका सुरक्षाकर्मी परिचालन