दोस्रो उपत्यकाव्यापी गोदावरी मेयर कपमा १३ टिम

ललितपुर । गोदावरी नगरपालिकाको आयोजनामा दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा १३ वटा टोलीको सहभागिता रहने भएको छ ।

सहभागी भएका १३ वटा पालिकाका टोलीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता गराइने प्रतियोगिताका संयोजक निरोज बज्राचार्यले जानकारी दिए ।

बुधबार नगरपालिकामा आयोजित टाइसिट ड्र पछि बोल्दै नगरपालिकाका खेलकुद संयोजक समेत रहेका उनले समूह एमा ४ टोली र समूह बि, सि र डिमा ३–३ वटा टोली रहने जानकारी दिए ।

यही शनिबारबाट सुरु हुने प्रतियोगिताका खेलहरु नगरपालिकाको वडा नं १० टाहाखेल–झ्यालुन्टारमा अवस्थित गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार खेल मैदानमा हुनेछ ।

गोदावरी मेयर कपमा काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौं जिल्लाबाट ६ , ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिकाको सहभागिता रहनेछ ।

काठमाडौं जिल्लाका काठमाडौ महानगरपालिकासहित कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, दक्षिणकाली नगरपालिका,कागेश्वरी मनहरा नगरपालिका र तारकेश्वर नगरपालिकाले खेल्ने छन् ।

यसैगरी ललितपुर जिल्लाका आयोजक गोदावरी सहित ललितपुर महानगरपालिका , महालक्ष्मी नगरपालिका , बाग्मती गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाले सहभागिता जनाएका छन् ।

यसैगरी भक्तपुर जिल्लाबाट चाँगुनारायण नगरपालिका र मध्यपुर ठिमी नगरपालिकाले सहभागीता जनाएका छन् ।

चाँगुनारायण र कागेश्वरी मनोहरा पहिलोपल्ट खेल्दै
अघिल्लो पटक सहभागी भएका नागार्जुन नगरपालिका , टोखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिका यसपटक सहभागी छैनन् भने चाँगुनारायण र कागेश्वरी मनोहराले पहिलो पल्ट सहभागिता जनाउँदैछन् । ४ वटा समूहका समूहविजेताले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।

ललितपुरका ४ पालिका एकै समूहमा
ललितपुरका ४ वटा पालिका एकै समूहमा परेका छन् । महालक्ष्मी नगरपालिका , गोदावरी नगरपालिका , ललितपुर महानगरपालिका र बाग्मती गाउँपालिका समूह ए मा परेका हुन् ।

समूह बि मा भक्तपुरका दुबै पालिका परेका छन् । ३ टिम रहेको समूहमा मध्यपुर ठिमी र चाँगुनारायणसँगै काठमाडौँ महानगरपालिका रहेका छन् ।

ऋघिल्लो संस्करणमा विजेता काठमाडौं महानगर हो भने मध्यपुर उपविजेता हो । समूहबाट एउटा टोली मात्रै सेमिफाइनलमा पुग्ने हुँदा यसपटक गत संस्करणको एउटा फाइनलिष्ट टोली मात्रै अगाडी बढ्ने निश्चित छ ।

समूह सि मा कागेश्वरी मनोहरा , दक्षिणकाली र चन्द्रागिरी परेका छन् । समूह डिमा कीर्तिपुर , तारकेश्वर र कोन्ज्योसोम गाउँपालिका रहेका छन् ।

उद्घाटन खेलमा गोदावरी र महालक्ष्मी भिड्ने
शनिबार दिउँसो साढे ३ बजे हुने उद्घाटन खेलमा आयोजक गोदावरी र महालक्ष्मी भिड्नेछन् ।

अघिल्लो संस्करणमा पनि सहभागी नभएका शंकरापुर नगरपालिका, गोकर्णेश्वर नगरपालिका र महांकाल गाउँपालिकाले यसपटक पनि भाग लिएका छैनन् । यस्तै भक्तपुरका भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका पनि सहभागी छैनन् ।

प्रतियोगिताको विजेता टिमलाई ५ लाख र उपविजेतालाई ३ लाख रुपियाँसहित ट्रफि पुरस्कार प्रदान गरिनेछ ।

अनुशासित टिमलाई ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर , फर्वाड, सर्बाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपियाँ प्रदान गरिनेछ ।

नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले उपत्यकामा नयाँ खेलाडी उत्पादन र फुटबलको विकास गर्ने उदेश्यले उपत्यकाब्यापी अन्तर नगरपालिका फुटबलको आयोजना गरिएको बताए ।

वडा नम्बर १० का वडा अध्यक्ष शेखर न्यौपानेले पसल र पार्किङको लागी पनि छुट्टै तयारी भएको बताए । उनले पसल राख्न चाहनेले मैदानको पार्किङलाई असर नपर्ने गरी पसल राख्न अनुरोध गरे ।

तपाइको प्रतिक्रिया
(Visited 81 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ