काठमाडौं । नवनियुक्त गभर्नर प्रा डा. विश्वनाथ पौडेलले बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा उनले पाँच सय र १ हजार दरका नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरे ।
सो निर्णय नै नवनियुक्त गर्भनर पौडेलको पहिलो निर्णय भएको छ । राष्ट्र बैंकका सबै कर्मचारीहरुबीच भएको पदभार ग्रहणपछि उनले राष्ट्र बैंक भित्रका कर्मचारीहरुलाई कसैलाई काखा र कसैलाई पाखा नगर्ने बताए । उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने ।
बुधबार बिहान सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट पद तथा गोपनीयताको शपथ लिएर अर्थ मन्त्रालय पुगेका गभर्नर पौडेलले त्यसपछि राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटार पुगेर पदभार ग्रहण गरेका हुन् । राष्ट्र बैंक पुग्नुअघि नवनियुक्त गभर्नर पौडेलले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका थिए । नवनियुक्त गभर्नर पौडेललाई राष्ट्र बैंकका उच्चपदस्थ अधिकारीसहित कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदभार ग्रहण कार्यक्रममा सरकारले आफूले ठूलो जिम्मेवारी दिएर पठाएको भन्दै उनले राष्ट्र बैंक एक ढिक्का बनेर अघि बढ्ने बताए ।
आफुले यस जिम्मेवारीमा रहेर काम गर्दा नियमन भन्दा पनि सुपरिवेक्षणमा ध्यान दिने भन्दै उनले आजको भोली कानुन बनाएर सबैलाई कार्यान्वयन गर भन्ने गरी अघि नबढ्ने बताए । पदभार ग्रहण गरेपछि राष्ट्र बैंकका कर्मचारीहरुले सभा हलमा स्वागत गरेका थिए । सो कार्यक्रममा २ जना डेपुटी गभर्नर र कर्मचारी ट्रेड युनियनका नेताहरुले नवनियुक्त गभर्नर पौडेललाई स्वागत गर्दै आ–आफ्ना धारणा राखेका थिए ।
सो कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुङगाना तिमलसीनाले गभर्नर पौडेलसँग सहकार्य गर्दै अघिबढ्ने बनाइन् । यसैगरी, अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले नवनियुक्त गभर्नरसँग मिलेर काम गर्न उत्सुक भएको बताएका थिए ।
राष्ट्र बैंक कर्मचारी युनियनका प्रतिनीधीहरुले पनि नवनियुक्त गभर्नर पौडेललाई कुनै पनि कर्मचारीहरु कसैलाई काखा र कसैलाई पाखा भयो भने काम गर्न अप्ठ्यारो बताएका थिए । कार्यक्रममा विषेशगरी नेकपा एमाले र नेकपा माओवादी निकट कर्मचारी युनियनहरुले कर्मचारीहरुलाई समान नजरले हेर्न आग्रह गरेका थिए । नेपाली काँग्रेस निकट युनियनले भने नवनियुक्त गभर्नर पौडेल र राष्ट्र बैंकलाई सफल बनाउन आफुहरु तयार रहेको बताएका थिए ।






