काठमाडौं । चलचित्र सम्बन्धी विभिन्न संघ संस्थाको अहिले निर्वाचनको तयारी हुँदै छ । चलचित्र घर सञ्चालकहरूको संस्था नेपाल चलचित्र संघ र चलचित्र निर्माताहरूको संस्था नेपाल चलचित्र निर्माता संघले यस अघि नै निर्वाचन सम्पन्न गरिसकेका छन् । जेठको पहिलो साता नेपाल चलचित्र निर्देशक समाज र नेपाल चलचित्र कलाकार संघको नयाँ कार्यसमिति चयनको लागि निर्वाचन हुँदै छ ।
तर यस पटक संघ संस्थाका उम्मेदवारी दस्तुर महँगिएको छ । यही कारण चलचित्र सम्बन्धी संघ संस्थामा पदाधिकारहरू एवम् सदस्य बन्न चाहने कतिपयले निर्वाचन दस्तुर महँगो भयो भन्दै उम्मेदवारी दिएका छैनन् । चलचित्र सम्बन्धी संघ संस्थाको उम्मेदवारी शुल्क यस पटक अचकाली बढाएको उनीहरूको गुनासो छ ।
नेपालमा प्रतिनिधि सभाको चुनावमा सांसदको उम्मेदवारले उम्मेदवारी दिंदा १० हजार रुपैयाँ निर्वाचन दस्तुर बुझाउनु पर्छ । तर चलचित्रका सबै संघ संस्थाका उम्मेदवारको दस्तुर सांसदको उम्मेदवार भन्दा धेरै नै महँगो छ । सोही कारण महंगो निर्वाचन दस्तुरको सबै पक्षबाट विरोध हुन थालेको हो ।
यही ५ जेठमा नेपाल चलचित्र निर्देशक समाजको नयाँ कार्यसमितिको लागि निर्वाचन हुँदै छ । जसका लागि अहिले निर्देशकहरू उम्मेदवारीको तयारी गर्दै छन् । निर्देशक समाजको अध्यक्षको उम्मेदवारले निर्वाचन दस्तुर ५१ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । जो कोही अध्यक्षमा उठ्न नसकुन् भनेर यो दस्तुर बढाएको समाजका हालका महासचिव अरुण कुमार प्रधानले राजधानीलाई बताए । अघिल्लो पटकको तुलनामा यसपटक दस्तुर बढाएर दोब्बर बनाइएको हो । निर्वाचन दस्तुर’bout अरुणले भने,‘उम्मेदवारहरूको निर्वाचन शुल्क घटाउनु पर्छ भनेर मैले बैठकमा कुरा राख्दा अध्यक्ष बन्नेहरूले ५१ हजार शुल्क बुझाउने पर्छ भनियो । म आफैँ अध्यक्षको उम्मेदवार भएकाले यो शुल्क स्विकार्न बाध्य भएँ,’ संस्था चलाउन र चुनाव गराउन महंगो शुल्क लिनु भन्दा प्रायोजक तथा दाताहरु खोल्नु पर्ने उनको सुझाब छ । महासचिव प्रधानका अनुसार निर्देशक समाजको उपाध्यक्ष र महासचिवको उम्मेदवारले २५ हजार, सचिव र कोषाध्यक्षले २० हजार, सह कोषाध्यक्षले १८ हजार र कार्यसमिति सदस्यहरूले १० हजार निर्वाचन शुल्क बुझाउनु पर्ने तय भएको छ ।
चलचित्र घर सञ्चालक तथा वितरकहरूको संस्था नेपाल चलचित्र संघका उम्मेदवारहरूको निर्वाचन शुल्क सबै भन्दा महँगो रहेको छ । केही समय अघि भएको निर्वाचन अनुसार नेपाल चलचित्र संघको अध्यक्षको निर्वाचन दस्तुर १ लाख रुपैयाँ राखिएको थियो । यो संघको कार्यसमिति सदस्यकै दस्तुर ३० हजार रुपैयाँ राखिएको छ ।
चलचित्रकर्मीहरूमा सबैभन्दा महँगो निर्वाचन शुल्क नेपाल चलचित्र निर्माता संघको रहेको छ । यो संघको केही महिना अघि सम्पन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारको निर्वाचन दस्तुर २ लाख रुपैयाँ थियो । उपाध्यक्ष, महासचिव, सचिवसहितका पदाधिकारीको निर्वाचन दस्तुर १ लाख रुपैयाँ र कार्यसमिति सदस्यको दस्तुर ५० हजार रुपैयाँ तोकिएको थियो । यो दस्तुर कार्यसमितिले तय गरेको निर्माता संघका अध्यक्ष उदय सुब्बाको कथन छ ।
यी संघ संस्थाको तुलनामा नेपाल चलचित्र कलाकार संघको चुनावी दस्तुर केही सस्तो छ । संघका वर्तमान महासचिव सविन श्रेष्ठका अनुसार कलाकार संघको अध्यक्षको चुनावी दस्तुर २० हजार रुपैयाँ रहेको छ । यस्तै उपाध्यक्ष महासचिव उम्मेदवारी दस्तुर १० हजार, त्यो भन्दा तलका पदाधिकारीहरूको ८ हजार रुपैयाँ र कार्यसमिति सदस्यको उम्मेदवारी दस्तुर ५ हजार रुपैयाँ रहेको छ । संघको विधानमै यो दस्तुर उल्लेख भएकाले संघको १० जना केन्द्रीय सदस्यको लागि यस पटक २८ जनाको उम्मेदवारी परेको अर्का अध्यक्ष उम्मेदवार उत्तम केसीले बताए । कलाकार संघको तुलनामा चलचित्रका अरू संस्थामा उम्मेदवार बन्न महँगो शुल्क तिर्नु पर्ने भएकाले धेरै उम्मेदवार दर्ता नहुने पनि उत्तमको कथन छ । कलाकार संघमा पनि विधानमा परिर्वतन गरेर निर्वाचन दस्तुर बढाउने तयार भए पनि यसपटक यो तयारी असफल भएको पनि उनले बताए ।
सम्बन्धित समाचार
जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
‘मिरा क्यान्सर समाज’ स्थापना
‘झिँगेदाउ २’ संविधान दिवसमा आउने
‘लालीबजार’ रोकेपछि चलचित्रकर्मीहरू धर्नामा उत्रिए
म नृत्यमा कमजोर छु : प्रियंका
तीन दशकअघिका विद्यार्थीले पनि मौका परीक्षा दिन पाउने
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
आज केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना






