‘मृत्यु प्रदर्शनी’ गर्न चाहँदैनथे गणेश रसिक

काठमाडौं । अगाडि सर्जक गणेश रसिक चीर निन्द्रामा थिए । अग्रज गायक सूर्य थुलुङ, संगीतकार संघ नेपालका पदाधिकारी तथा कलाकारहरू अष्ट लामा, दीपक शर्मा, राजेन्द्र बजगाईं, योगेन्द्र उपाध्यायसहित विभिन्न कलाकार रसिककै गीतबाट उनलाई अन्तिम बिदाइ गर्दै थिए । बिदाइ संगीत प्रस्तुतिका लागि सँगै रहेका अग्रज संगीतकार शम्भूजीत बासकोटा सुझाव दिँदै थिए । सोहीक्रममा प्रत्यक्ष वाद्यवादनसहित रसिकको संगीतमा रहेको राष्ट्रिय भावको गीत प्रस्तुत गरे ः

मागी मिठो खाँदैन, चोली राम्रो लाउँदैन
सधैं आफ्नो पाखुरीमा खान्छ सितो पिठो
यो नेपाली ठिटो, यो नेपाली ठिटो…

नेपालीको बहादुरी र प्रशंसा गरिएको यही गीतबाट स्रष्टाहरूले आफ्ना अग्रज संगीतकर्मी गणेश रसिकलाई मंगलबार बिहान बिदाइ गरे । बुबाको अन्त्येष्टिका लागि बेलायतबाट आएकी छोरी निरजा राईले यो गीत प्रस्तुतिको क्रममा आफूलाई सम्हाल्न सकिनन् । सोहीक्रममा रसिकका आफन्त तथा शुभचिन्तकले आँसु थाम्न सकेनन् । रसिक आम मान्छेका सर्जक थिए । गीत र अरू लेखनमा उनी सर्वसाधारणकै भोगाइसँगै मिल्दाजुल्दा अनुभव अभिव्यक्त गर्थे ।

उनको गायनमा त्यही प्रतिबिम्बित हुनेगथ्र्यो । उनको जीवन पनि त्यस्तै थियो । रत्न रेकर्डिङ, सांस्कृतिक संस्थान र साझा प्रकाशनका महाप्रबन्धक, नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव भइसकेका उनको व्यक्तित्वमा ती पदले दिने आडम्बरको छनक ‘लेस’ मात्र पनि पाइँदैनथ्यो ।

त्यही भएर ‘मेरो शव प्रज्ञा प्रतिष्ठानतिर प्रदर्शन नगर्नु’ भनेर परिवार र शुभेच्छुकमाझ अन्तिम इच्छा व्यक्त गरेका थिए । लामो समयदेखि क्यान्सरपीडित रसिकको आइतबार बिहान उपचारक्रममा निधन भएको थियो । उनी आफ्नो मृत्युलाई प्रदर्शन गर्न चाहँदैन थिए । सरल व्यक्तित्वका कारण उनी सबैमाझ लोकप्रिय थिए ।

हरेक क्षेत्र, पेसा–व्यवसायका मानिस उनका प्रशंसक थिए । त्यसको झलक उनको अन्त्येष्टिमा पनि देखियो । सोही कारण अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर नाट्य संगीत एकेडेमीमा नराखेर मंगलबार बिहान पाशुपत क्षेत्रको विद्युत् शवदाह गृह प्रांगणमा राखिएको थियो । उनलाई श्रद्धाञ्जली अर्पण गर्न त्यहाँ पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलगायत पुगेका थिए ।

भोजपुरको राई परिवारमा जेठा छोरा भएर जन्मेका उनले आफूलाई ‘रसिक’ उपनाम दिए पनि उनी दुःखहरूको पहाड बोकेर बाँचिरहेका थिए । संयोग भनौँ वा नियति, उनले परिवार र व्यवसाय दुबैमा कटु अनुभव नै गर्नुप¥यो । आफ्नो बुबाआमा मात्र होइन, दुई जना भाइलाई पनि उनैले बिदा गर्नुपयो । त्यति मात्र कहाँ हो र, छोरालाई समेत कालले असमय नै लग्यो । चार वर्षअघि श्रीमतीको पनि निधन भयो । यीलगायतका अन्य पीडाको गाथा उनको संस्मरणात्मक कृति ‘दशगजामा उभिएर’ मा पढ्न पाइन्छ । यो पद्मश्री साहित्य पुरस्कार प्राप्त गर्ने पहिलो कृतिसमेत बनेको थियो ।

रसिक आफैं संगीत सृजना गर्थे । आफैँ गीत लेख्थे र गाउँथे । उनका गीतहरू लोकशैलीमा आधारित हुन्थे । आफू लेकाली समूहका भएर पनि उनी लोकलयमै बढी रुचि राख्थे । उनका चर्चित गीतहरू ‘रातो भाले क्वाँया क्वाँया’, ‘ओ याङ्जी नाना’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’ पूर्वेली लोकलयमै आधारित छन् ।

‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘ओ शून्यता’ जस्ता थुप्रै गीतहरू लोक आधुनिक शैलीका छन् । उनले कैयौँ कालजयी गीतहरू आफ्नो स्वरमा ल्याएका थिए । आफ्ना धेरैजसो गीतका उनी रचनासँगै संगीतकार पनि थिए ।

२०४६ सालसम्म ‘महेन्द्र माला’ किताबको अन्तिम पातामा उनकै रचनाको कक्षागत गीतहरू रहने गरेका थिए । ‘तराई हेर कति राम्रो’, ‘हट्ने हैन डटी लड्ने’जस्ता थुप्रै कक्षागत गीतका कारण पनि उनी त्यतिबेला लोकप्रिय थिए । सोही कारणले पनि २०४६ सालभन्दा अघि स्कुल पढेका विद्यार्थीहरूले उनलाई रचनाकारको रूपमा चिन्ने गरेका थिए । उनी साहित्य लेखनमा पनि त्यत्तिकै लोकप्रिय थिए । रसिकका आधा दर्जन कृतिहरू प्रकाशित छन् । उनलाई नजिकबाट चिन्नेहरू ‘रसिक साहित्यिक मनको असल स्रष्टा हुन्’ भन्ने गर्थे ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशन रोक्ने देउवा र खड्काको छुट्टाछुट्टै रिट अध्ययनकै क्रममा