हामी २५ वर्षमा टेक्यौं

आजबाट हामी २४ वर्ष पूरा गरी २५औं वर्षमा प्रवेश गरेका छौं । यो हाम्रो रजत जयन्ती वर्ष पनि हो । तत्कालीन तीनदिने राजा दीपेन्द्रको देहावसान भएर नयाँ राजा ज्ञानेन्द्र शाहले राज्यारोहण गरेको दिन अर्थात् २२ जेठ २०५८ मा राजधानीको पहिलो व्यावसायिक अंक बजारमा आएको हो ।

अनौठो कौतूहल, उत्सुकता र अलमलका बीच जनता निरन्तर नौलो सूचनाको खोजीमा थिए । त्यो दुःखद् दुर्घटना राजधानीका लागि अवसर बन्यो । कुनै पनि नयाँ उत्पादन वा प्रकाशनले अनिवार्य रूपमा गुज्रनैपर्ने प्रारम्भिक परिचयात्मक दौडबाट राजधानी गुज्रनुपरेन । बजारमा देखापरेको पहिलो दिन नै राजधानीको माग उच्चतम विन्दुमा पुग्यो । परिणामतः बिस्तारै उकालो चढेर चुचुरोमा पुग्ने स्वाभाविक नियमका विपरीतको अवस्था आइप¥यो, राजधानीका लागि । यसले एकैपटक चुचुरोमा अनि बिस्तारै झरेर स्वाभाविक स्थिरताको बाटो समात्यो । जेसुकै भए पनि अत्यन्तै छोटो समयमा राजधानी दैनिकले स्थापित एवं विश्वसनीय छापा सञ्चारमाध्यमका रूपमा आफ्नो पहिचान बनायो ।

तर, राजधानी दैनिकले प्रारम्भिक वर्षहरू पार गर्दा नगर्दै नै अर्थात् शैशवकाल पनि पूरा नहुँदै बजारको क्रूर यथार्थ र अत्यन्तै निकृष्ट एवं फोहोरी प्रतिस्पर्धात्मक अवस्थाको सामना गर्नुप¥यो । ‘सूचना र समाचार लगभग सित्तैमा पाउनुपर्छ’ भन्ने मानसिकता बोकेका पाठक, उपभोक्ता, कर्तव्यप्रति पुरै उदासीन तर अधिकारप्रति अति सजग समाचार उत्पादक र विज्ञापन भनेको विज्ञापनदाताको आवश्यकता नभई सञ्चारमाध्यमलाई चन्दा हो भन्ने बुझाइ एवं त्यस्तो चन्दा उपलब्ध गराएबापत अत्यधिक असुली आफ्नो हक ठान्ने संयन्त्र सञ्चालकहरूको स्थापित प्रवृत्तिले समग्र सञ्चार उद्योग सबै तिरबाट निसासिँदो घेराबन्दीमा प¥यो । यसबाट राजधानी मात्र अछुतो रहने सम्भावना थिएन र छैन । अझ छापा सञ्चारको कुरो गर्ने हो भने त जिम्मेवारीविहीन पटके र चटके झिल्के मिडियाको मादक उदय एवं बोलवालाले गर्दा यसको प्रासंगिकता पुरै हराएको प्रतीत हुन थालेको छ । यदि, सान्दर्भिकता छ भने पनि अत्यन्तै सानो विशेष समूहका बीच मात्र बाँकी छ ।

राजधानीले त थप पीडा बेहोर्नुप-यो । अत्यन्तै नाजुक परिस्थितिमा पनि राजधानीलाई माऊले चल्ला छोपेझैं बचाएर राख्ने संस्थापक अध्यक्ष महेन्द्र शेरचनको बरद छायाँ हट्न पुग्यो । त्यसपछि त रक्षकको भूमिकामा रहनुपर्ने व्यक्तित्वहरू स्वयं नै राजधानीलाई विघटन गर्नेतर्फ उद्यत हुन थालेको व्यवहारसमेत देखियो । व्यावसायिक पत्रकार भनिएका केही तŒवसमेत बाँडिचुँडी खाने खेलमा संलग्न भएको अनुभव हुन थाल्यो । संस्थालाई कसरी जोगाउने भन्दा कसरी भत्काउने भन्ने खेल चल्न थाल्यो ।

यस्तो विषम परिस्थितिमा राजधानीले २५औं वर्षमा पाइला टेक्नु आफैंमा अभूतपूर्व विषय हो । यो आफैंमा ठूलो उपलब्धि हो भन्दा फरक नपर्ला । तर, अझै कति अगाडि जाला वा अस्तित्व नै कायम नरहने पो हो कि ? भन्ने प्रश्नचाहिँ ज्यूँका त्यूँ छ । स्वस्थ, सही एवं तथ्यपरक सूचना प्रवाह गर्ने दायित्व एकातिर छ भने कसैको डर, धाक र धम्कीसामु झुक्न नहुने अडान पनि छ । यी सबका बीच व्यावसायिक रूपमा बाँच्नेसम्मको स्रोत सुनिश्चित गर्नुपर्ने बाध्यता पनि छ । लगभग शून्य बनेको पाठक बजार र संवेदनहीन विज्ञापन बजारबाट कति दोहन गर्न सकिन्छ ? यस प्रश्नको उत्साहप्रद जवाफ दिनसक्ने कोही पनि छजस्तो लाग्दैन ।

हामी आधारभूत मूल्य र मान्यतामा सम्झौता नगरी खडा रहने प्रयासमा छौं । यसक्रममा थरीथरीका कोसिस, प्रयास र प्रयोग हुनु अस्वाभाविक होइन । यी कुनै पनि प्रयोगको परिणाम कस्तो आउँछ त भन्ने कुराले नै भविष्यको बाटो निर्धारण गर्ने हो । हामी सकेसम्म नथाक्ने वाचासम्म गर्न सक्छौं । प्रयोग वा प्रयासका उपायहरू फेरिन पनि सक्छ । अब हातै उठाउनुपर्ने भयो भन्ने अवस्था नआउन्जेल निरन्तर लागिरहने प्रण गर्दछौं ।

राजधानी दैनिक प्रकाशनलाई यस स्थितिसम्म ल्याइपु¥याउन अनगिन्ती व्यक्तिहरूको श्रम पसिना लागेको छ । धेरै जना वरिष्ठ–कनिष्ठ लेखक पत्रकारहरूले यस प्रकाशनलाई अत्यधिक माया देखाउनुभएको छ । उहाँहरूको शारीरिक एवं मानसिक योगदानलाई द्रव्यमा तौलिन सकिँदैन । समस्त विज्ञापनदाता एवं एजेन्सीहरूको सहयोग नभएको भए बाँच्न सम्भवै थिएन । वितरक, बिक्रेताहरूको भूमिका उल्लेखनीय छ । विगतको कुनै कालखण्डमा वा वर्तमानमा कार्यरत राजधानीसँग आबद्ध सबै पत्रकार, कर्मचारी एवं श्रमिकहरूको अनवरत सेवा अमूल्य छ । अन्य सामान्य पाठक एवं शुभेच्छुक त सबैभन्दा अग्रस्थानमा पर्छन् । यी सबैलाई आजसम्मको सहयोगका लागि मुरीमुरी धन्यवाद दिँदै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं ।

सचिन शेरचन
अध्यक्ष

तपाइको प्रतिक्रिया
(Visited 274 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ