काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । परियार काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेकै बेला सम्पादित कार्यमा ४ करोडभन्दा बढी रकम अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
परियार ५ माघ २०८० देखि २७ भदौ २०८१ सम्म काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुशी कोरिडोरअन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । परियार हाल सूचना तथा प्रसारण विभागको महानिर्देशक छन् ।
उनीसँगै मुद्दा दायर हुनेहरूमा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल, जनार्दन गिरी र उत्तम दाहाल रहेका छन् । सो ठेक्का प्रक्रियामा समानान्तर निर्माण सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३ सय २५ रुपैयाँ ६३ पैसा कबोल गरेको थियो भने कल्पवृक्ष कोहिनुर जेभीले २२ करोड ४० लाख ९४ हजार ६ सय १२ रुपैयाँ ९५ पैसा कबोल गरेको थियो ।
सो प्रक्रियामा ४ करोड ३१ लाख ७२ हजार २ सय ३७ रुपैयाँ ३२ पैसा दुरुपयोग गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । कम कबोल गरेको समानान्तर निर्माण सेवा प्रालिलाई सो ठेक्का नदिई कल्पवृक्षलाई दिएको भन्दै उजुरी परेको थियो । सो उजुरीउपर अनुसन्धान अघि बढाएको अख्तियारले बुधबार परियारसहित ७ जनालाई मुद्दा दायर गरेको हो ।






