नेपालको सन्दर्भमा द्रुत गतिमा विकास भएको क्षेत्रमध्ये सञ्चार जगत पनि हो । नेपालका गाउँगाउँमा इन्टरनेटको सञ्जाल फैलिएको छ । हरेक मानिसका हातमा ‘स्मार्ट फोन’ छन् । अभिभावक आफू सामान्य ‘फिचर मोबाइल’मा चित्त बुझाएर भए पनि छोराछोरीलाई ‘स्मार्ट मोबाइल’ दिइरहेका छन् । आफ्नो गच्छेअनुसार ‘स्मार्ट मोबाइल’ र ‘आइफोन’समेत किनिदिएको पाइन्छ ।
बहरी क्षेत्रमा मात्र नभएर दूरदराजमा समेत किशोरकिशोरी इन्टरनेटभित्रको सञ्जालमा चुर्लुम्म डुबेका छन् । डिजिटल मनोरञ्जनमा रमाएका छन् । त्यसो त, कतिपयले इन्टरनेट सदुपयोग पनि गरेका छन् । अनुसन्धानले सामाजिक सञ्जाल उचित उपयोगभन्दा बढी दुरुपयोग भएको देखाएको छ ।
त्यसो त, विद्यार्थी जीवनलाई ‘सुनौलो समय’ भन्ने गरिन्छ । यही सुनौलो समय पढ्ने, लेख्ने, डिग्री हासिल गर्ने र भविष्य निर्माणको बाटो तय गर्ने आधारशीला निर्माण हुन्छ । विद्यार्थी जीवन सफल हुन सकेन भने सुन्दर भविष्य निर्माण गर्न सहज हुँदैन । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं अब्बल पढाइलेखाइ भएका बालबालिका नै भोलिका देशलाई आवश्यक पर्ने जनशक्ति हुन् । भविष्यका लेखक, पत्रकार, शिक्षक, प्राध्यापक, वकिल, डाक्टर, इन्जिनियर, शासक, प्रशासक आजका विद्यार्थी हुन् । यस कोणबाट हेर्दा विद्यार्थी जीवन व्यक्तिको भविष्यको राजमार्ग हो । समाज र देशको आधार हो ।
पछिल्लो समय विद्यार्थीको रुची पढाइलेखाइभन्दा मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालमा अल्मलिने गरेको अभिभावकको गुनासो तथा शिक्षकको बुझाइ छ । समाजमा साइबर अपराध पनि बढिरहेको तथ्यांक छ । बालबालिका इन्टरनेटका वेबसाइटमा राखिने अनेक प्रकारका विषयवस्तुमा रमाउने गरेकाले बालमस्तिष्कमा नकारात्मक प्रभाव परेको बालमनोविज्ञको बुझाइ छ । हाम्रो देशका सन्दर्भमा बाल्यकालदेखि नै मोबाइल हातमा दिएर बालबालिका हुर्कारहेका छौं, पढाइरहेका छांै ।
मोबाइल, ल्यापटप वा इन्टरनेटभित्रको सञ्जाल पूर्णतया खराब होइनन् । विद्यार्थी जीवनमा इन्टरनेटका धेरै फाइदा छन् । तथापि, यसको दुरुपयोग हुन पुग्यो भने नकरात्मक प्रभाव भयावह हुनपुग्छ । यसकोणबाट हेर्दा विद्यार्थीलाई सामाजिक सञ्जाल सदुपयोग र दुरुपयोग’bout प्रशिक्षित गराउन जरुरी देखिन्छ । इन्टरनेट कम्प्युटरभित्रको एउटा चामत्कारिक उपलब्धि हो ।
इन्टरनेटभित्रको गुगललाई ‘गुरुको पनि गुरु’ मानिन्छ । गुगल सदुपयोग गर्दा अथाह ज्ञान आर्जन गर्न सकिन्छ । विद्यार्थीका लागि पनि गुगलभित्रको ज्ञान आवश्यक हुन्छ । गुगलभित्रका आवश्यक वेबसाइट खोजी, अनुसन्धान र अध्ययन गर्ने बानी विकास हुनसक्दा यसबाट धेरै फाइदा हुनसक्छ । गुगललगायत युट्युब पनि आवश्यक ज्ञान तथा सीप आर्जन गर्ने ठूलो ‘प्लेटफर्म’ हो ।
इन्टरनेटभित्रका सञ्जालबाट आजको दुनियाँ सञ्चालित छ । इन्टरनेटबाट सूचनालाई बिजुलीको गतिमा विभिन्न प्रकारका समाचार एक महाद्वीपबाट अर्को महाद्वीपमा वा एकठाउँबाट अर्को ठाउँमा तत्कालै पु¥याउन सकिन्छ । इन्टरनेट सुविधाका कारण विश्वजगत्का गतिविधि जान्न, बुभ्mन वा सूचित हुन सकिने भएको छ ।
इन्टरनेटमा व्यापार, मनोरञ्जन, शिक्षा, कला, साहित्य, संगीत, इमेल, रेडियो, भिडियो, प्mयाक्स, खेल, ई–पुस्तकालय, ई–डिस्नेरी, ई–बैंकिङ, अनलाइन व्यापारलगायत पढ्ने र पढाउने तरिका, सिक्ने सिकाउने विधि इत्यादि उपलब्ध छन् । ‘सोसियल मिडिया’ आजको आवश्यकता भइसकेको छ । पढाइलेखाइको एउटा चरण सकिसकेका शिक्षित जमातले इन्टरनेटस“ग जोडिएका सामाजिक सञ्जालबाट प्रशस्त फाइदा पनि लिइरहेका छन् । टिकटकमा ‘लाइभ’ बसेर मनग्य आम्दानी गरेका समाचार पनि सुन्ने गरिन्छ । अनलाइनबाट बन्द व्यापार गर्न सहज पनि भएको छ ।
अहिले ठूलो संख्यामा युवापुस्ता विदेशमा छन् । सामाजिक सञ्जालकै सुविधाबाट घरपरिवारका सदस्यस“ग ‘भिडियो कल’ गर्ने, पैसा पठाउनेलगायत सुविधा छन् । यस सन्दर्भमा सामाजिक सञ्जाल आधुनिक जीवन शैलीको महŒवपूर्ण पाटो मात्र होइन, आम्दानी गर्ने माध्यम पनि बनेको छ ।
विद्यार्थीको रुची पढाइलेखाइभन्दा मोबाइल, इन्टरनेट तथा सामाजिक सञ्जालमा अलमलिने गरेको अभिभावकको गुनासो तथा शिक्षकको बुझाइ छ । समाजमा साइबर अपराध पनि बढिरहेको तथ्यांक छ । बालबालिका इन्टरनेटका वेबसाइटमा राखिने अनेक प्रकारका विषयवस्तुमा रमाउने गरेकाले बालमस्तिष्कमा नकारात्मक प्रभाव परेको बालमनोविज्ञको बुझाइ छ
नेपाली समाज सामाजिक रूपान्तरण सँघारमा छ । समाजमा अग्रज पुस्ता र नयाँ पुस्ताबीच आपसी सिकाइ अनिवार्य भएको छ । पुरानो पुस्तास“ग ज्ञान र अनुभव छ । नयाँ पुस्तास“ग डिजिटल शिक्षा छ । अग्रजले नयाँ पुस्तालाई सामाजिक, मूल्य, मान्यता, संस्कृति, संस्कार तथा कर्तव्य कार्यान्वयन क्षेत्रमा नयाँ ज्ञान तथा अभ्यास पुस्तान्तरण गर्न जरुरी छ भने अहिलेको पुस्तामा भएको डिजिटल ज्ञान तथा सीप अग्रज पुस्ताले सिक्नुपर्ने भएको छ । समाज रूपान्तरण क्रममा देखिएका कतिपय रूढीवादी परम्परा, अन्धविश्वास, कुरीति, सामाजिक अन्याय, विभेदजस्ता चेतनामा पुरानोभन्दा नयाँ पुस्ताको चिन्तन अग्रगामी रहेको देखिन्छ । समाज रूपान्तरणको सहयात्रामा समाजका परम्परागत संस्कृति र सांस्कारिक अभ्यास खराब छैनन् र आधुनिक समाजको नाममा देखापरेका कतिपय पश्चिमा संस्कृति अभ्यास पनि हाम्रो समाजको सन्दर्भमा उपयुक्त हुँदैनन् भन्ने वैज्ञानिक तर्कका आधारमा ज्ञान पुस्तान्तरण समयको माग हो ।
डिजिटल शिक्षा अहिलेको समयको माग हो । तथापि, अनावश्यक रूपमा डिजिटल कुलतमा फस्नु भनेको जीवनको बर्बादी हो । अभिभावकले सामाजिक वातावरणमा हुर्किरहेका आप्mना छोराछोरीलाई खान, लगाउन र विद्यालयमा चाहिने सामग्री व्यवस्था गरिदिएर मात्र पुग्दैन । अभिभावकले छोराछोरी विद्यालय गएका छन्, पढेका छन् भनेर मात्र सन्तोष लिने अवस्था छैन । उनीहरूले विद्यालयमा ‘के कसरी पढाइलेखाइ गरिरहेका छन् ? कस्तो आचरण निर्माण गरिरहेका छन् ? उनीहरूको चालचलन कसरी विकसित भइरहेको छ ?’ घरपरिवार, विद्यालय र विद्याार्थीबीच भइरहेका क्रियाकलाप बुभ्mन, जानकारी लिन र समस्या समाधानका लागि अभिभावकले प्रभावकारी भूमिका खेल्नुपर्छ ।
विद्यार्थीमा पढ्ने संस्कृतिमा ह्रास आइरहेको अभिभावक र शिक्षकको बुझाइ छ । विद्यार्थीमा पढाइलेखाइप्रति रुची कम हुँदै जानुमा सामाजिक सञ्जाल अनियन्त्रित प्रयोग हो । एकातिर किशोरकिशोरीमा ‘डिजिटल लत’ लाग्दै गइरहेको छ भने अर्कोतिर राज्यले विद्यार्थीलाई पास गराउने नीति लिएको देखिन्छ । विद्यार्थीको उत्तीर्ण संख्या बढाएर शिक्षाको गुणस्तरमा वृद्धि हुन सक्दैन ।
हरेक विषयमा २५ नम्बरको प्रयोगात्मक परीक्षाका नाममा विद्यालयले नम्बर पठाउँदा पनि लिखित परीक्षामा ठूलो संख्यामा विद्यार्थी असफल हुने गरेका छन् । शिक्षाको गुणस्तरलाई उकास्न समयसापेक्ष पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षण सिकाइ, विद्यार्थीको क्षमता अभिवृद्धिजस्ता विषय आवश्यक पर्छ । राज्यले विद्यार्थीलाई प्रमाणपत्र प्रदान गर्ने मोडेलको शिक्षा नीति बनाउनुहुँदैन ।
विद्यार्थीमा समयसँगै विकसित भई अभ्यासमा रहेको सामाजिक सञ्जालको लत समस्याका रूपमा देखिन्छ भने अर्कोतिर विद्यालयभित्र विद्यार्थी विभिन्न प्रकारका समस्यामा परिरहेका हुन्छन् । माथिल्लो उमेर समूहका विद्यार्थीले साना विद्यार्थीलाई गर्ने बुलिङ, अध्ययनमा आइपर्ने कठिनाइ, उमेरअनुसार शारीरिक, मानसिक तथा संवेगात्मक विकास र यसको प्रभाव, डरत्रास, घात–आघात, रिस, आवेग, उत्तेजनाजस्ता समस्याले विद्यार्थी सताइएका हुन सक्छन् । कतिपय समस्या उनीहरूले न अभिभावकलाई भन्न सक्छन्, न त शिक्षकलाई नै । यस अर्थमा शिक्षकले शिक्षणसँगै मनोवैज्ञानिक कर्ताको भूमिका पनि निर्वाह गर्नुपर्छ । विद्यार्थीमा रहेका समस्या खोज, अनुसन्धान गरी समाधानका उपाय अबलम्बन गर्नुपर्छ । विद्यार्थीका समस्या बेवास्ता गर्दै गरिएको शिक्षण प्रभावकारी हुँदैन ।
सामाजिक सञ्जाल प्रयोग विशेष गरेर विद्यालय शिक्षासम्म अध्ययन गर्ने ‘टिन एजर्स’का लागि फाइदाभन्दा बेफाइदा बढी भएको अभिभावकको कथन छ । मोबाइल अत्यधिक प्रयोगका कारण विद्यार्थीको पढाइलेखाइमा रुची घटेको शिक्षकशिक्षिका स्वयं बताउने गर्छन् ।
इन्टरनेट वा यसभित्रका सञ्जाल मोबाइल, ल्यापटप, कम्प्युटर वा जुनसुकै ग्याजेट प्रयोग गरे पनि यसका सकारात्मक सिकाइ गर्नुपर्छ । अहिलेको युगमा बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग नै गर्न दिनु हुँदैन भन्ने बुझाइ वैज्ञानिक होइन । बरु, ‘कुन समय के प्रयोजनका लागि सामाजिक सञ्जाल प्रयोग गरिन्छ ?’ भन्ने विषयले अर्थ राख्छ । सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धमा विद्यार्थीलाई अभिभावक, शिक्षक तथा शैक्षिक संस्थाले राम्ररी बुझाउनुपर्छ । बालबालिकालाई ‘डिजिटल कुलत’बाट बचाउँदै सही उपयोग गर्न सचेत बनाऔं । मार्गनिर्देश गरौं ।






