नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा रहेको एक मात्र सरकारी अस्पताल पाल्ही आधारभूत अस्पताल २ वर्षदेखि चिकित्सकविहीन अवस्थामा सञ्चालन भइरहेको छ । दुई जना मेडिकल अधिकृतको दरबन्दी कायम भए पनि कुनै पनि चिकित्सक नहुँदा अस्पताल अस्तव्यस्त बनेको छ ।
सरकारी अस्पताल भए पनि उपचारका लागि आउने बिरामीहरूले अहेव स्वास्थ्यकर्मीको भरमा सामान्य सल्लाह मात्र पाउँदै आएका छन् । आपत्कालीन अवस्था, शल्यक्रिया वा सुत्केरी सेवाजस्ता अत्यावश्यक उपचारका लागि बिरामीहरूलाई करिब ७ किलोमिटर टाढा परासी जानुपर्ने बाध्यता छ ।
अस्पताल भवन चम्किलो, सेवा भने सुनसान रहेको छ । करोडौंको लागतमा निर्माण गरिएको आधुनिक अस्पताल भवन भौतिक हिसाबले आकर्षक देखिए पनि स्वास्थ्य सेवा भने कागजमै सीमित छ । बिरामी जाँच, औषधि वितरण, आपत्कालीन उपचार सबै कार्यहरू चिकित्सक नभएका कारण प्रभावित बन्न पुगेको छ ।
विगतमा पालिकाले आफ्नो आन्तरिक बजेटबाट डा. राजकुमार गुप्तालाई करारमा नियुक्त गरेको थियो । ३ वर्षसम्म सेवा दिएका डा. गुप्ताले थप अध्ययनका लागि राजीनामा दिएपछि हालसम्म पालिकाले नयाँ नियुक्तिका लागि विज्ञापनसमेत खोलेको छैन । उनी गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताका आफ्नै भाइ हुन् ।
डा. गुप्ता हुँदा अस्पतालमा दिनहुँ हजारौंको संख्यामा भारत र नेपालका गरी सेवाग्राहीहरू आउने गर्थे । तर, हाल कुनै पनि डाक्टर नहुँदा अस्पतालमा भने सेवाग्राहीको संख्या न्यून भएको छ ।
स्थानीय नागरिकहरू भन्छन्, ‘हामीलाई अस्पतालका नाममा धोका दिइएको छ, डाक्टर नभएपछि अस्पतालको भवनले मात्रै सेवा दिँदैन ।’
गर्भवती महिला, दीर्घरोगी, वृद्धवृद्धा र सुत्केरी महिलाहरूका लागि यो अवस्था अत्यन्तै जोखिमपूर्ण बनेको छ ।
पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताका अनुसार गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश सरकारलाई पटकपटक जानकारीसँगै माग गर्दा पनि हालसम्म कुनै ठोस पहल देखिएको छैन । आधारभूत र जिल्ला अस्पताललगायतको स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथमिकतामा पर्ने विषय हो, तर पाल्हीनन्दनमा यसको ठिक विपरीत अवस्था देखिएको छ ।
गाउँ गाउँसम्म स्वास्थ्य सेवा पु¥याउने सरकारी घोषणा पाल्हीनन्दनको उदाहरणले खारेज गरिदिएको छ । कमिसनका लागि भवन मात्र निर्माण गर्ने प्रवृत्ति बढेसँगै यस्ता समस्या विगतका दिनजस्तै यथावत् रहेको छ । चिकित्सकविहीन अस्पतालले केवल एक गाउँपालिकाको समस्या मात्र होइन, राज्यको नीतिगत कमजोरी र जनतालाई हेर्ने दृष्टिकोणको उदाहरण प्रस्तुत गरेको छ ।






