काठमाडौं । आज शुक्रवारबाट देशभरका चलचित्र घरमा नेपाली चलचित्र ‘रियाल रिंगेट’ रिलिज भएको छ । तीन साता पछि बल्ल चलचित्र घरमा आजबाट नेपाली चलचित्र रिलिज भएको हो । यो चलचित्र मुलुकका एक सय भन्दा बढी चलचित्र घरमा रिलिज भएको निर्माण पक्षले जनाएको छ ।
चलचित्र ‘रियाल रिंगेट’मा प्रमोद चौलागाईं र निता ढुंगाना मुख्य भूमिकामा प्रस्तुत भएका छन् । यी दुई कलाकारसँगै छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापालगायतको अभिनय यसमा रहेको छ । यो चलचित्रलाई विभोर पोखरेलले निर्देशन गरेका हुन् । जसमा गगनलाल प्रधान निर्माता रहेका छन् ।
चलचित्रका लेखक प्रदीप भारद्वाज हुन् । वैदेशिक रोजगारमा गएका नेपालीहरू मध्यपूर्व एसियामा तथा रुस लगायत अन्य देशमा अपहरणमा परेर आतंकाकारीबाट ज्यान गुमाउन बाध्य हुने गरेको कथालाई आफूले चलचित्रमा उठाएको यसका लेखक प्रदीपले राजधानीलाई बताए ।े यसका लेखक प्रदीपले राजधानीलाई बताए ।
चलचित्रले इराकमा बन्धक बनाई हत्या गरिएका १२ नेपालीको घटनालाई समेत एक पटक फेरी दर्शकलाई सम्झना गराउँछ । त्यो सँग मिल्दो यथार्थपरक र सशक्त दृश्यहरू यो चलचित्रमा प्रस्तुत गरिएको छ ।
चलचित्रको छायांकन भारतको राजस्थान, चितवन, काठमाडौं र लेटाङमा गरिएको थियो । चलचित्रको द्वन्द्व निर्देशकमा रोशन श्रेष्ठले, छायांकारमा हरि घले, सम्पादकमा विपिन मल्ल, पृष्ठभूमि संगीतमा किरण तुलाधर, संगीतकारमा रामचन्द्र काफ्ले, किरण तुलाधर र चन्दन ध्वज केसी रहेका छन् । चलचित्रको गीतको भिडियोमा राजीव समरको कोरियोग्राफी रहेको छ । यो चलचित्रलाई काफिया फिल्म्सले देशव्यापी रूपमा वितरण गरेको हो ।
बैदेशिक रोजगारका लागि खाडी मुलुकमा गएका नेपालीहरूको पीडालाई चलचित्रको कथामा प्रस्तुत गरिएको छ । चलचित्रको नाममै कतार र साउदी अरेबियाको मुद्रा ‘रियाल’ र मलेसियाको ‘रिंगेट’ समेटेर त्यसको सांकेतिक रूपमा दर्साउन ‘रियाल रिंगेट’ राखिएको यसका निर्देशक विभोर पोखरेलले बताए ।
रिलिज अघि यो चलचित्रको बुधवार बेलुका काठमाडौँमा प्रिमियर शो गरिएको थियो । प्रिमियर समारोहमा चलचित्र युनिटका सदस्यहरू देखि विभिन्न कलाकारहरू, सञ्चारकर्मीहरूले चलचित्र हेरेर प्रतिक्रिया दिए । प्रिमियरमा उपस्थित धेरैले चलचित्र हेरेपछि आफू भावुक भएको प्रतिक्रिया दिए ।
चलचित्रले प्रवासी श्रमिकहरूको कथालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास आफूहरूले यो चलचित्र मार्फत गर्न लागेको निर्माता गगनलाल प्रधानले प्रिमियरका क्रममा बताए । यसका निर्देशक पोखरेलले प्रवासी नेपालीहरूको जीवनका पीडादायी पानाहरूलाई पर्दामा ल्याउने ‘रियाल रिंगेट’ केवल एउटा चलचित्र मात्र नभई लाखौँ नेपालीहरूको अन्तर्मनको कथा भएको जिकिर गरे ।
प्रिमियर समारोहमा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले यो चलचित्र हेरेपछि आफू अत्यन्त भावुक भएको खुलाउँदै चलचित्र’bout सञ्चारकर्मीसँग भने, ‘यो चलचित्र हेर्दा देश दुख्ने रहेछ । इराकमा १२ नेपाली मारिएको दिन म स्टेज कार्यक्रममा थिएँ, त्यो पीडा दर्शकहरूलाई देखाउन सकेको थिइन’, तर यति बेला यो चलचित्रले त्यो दिन सम्झाएको र त्यो पीडा दर्शाएको उनले बताए ।
अग्रज गायक प्रेमराजा महतले पनि प्रिमियर समारोहमा हेरेपछि यो चलचित्रको प्रशंसा गर्दै कार्यक्रममा भने, ‘धेरैपछि यसरी कुनै नेपाली चलचित्र हेरेँ, जसको कथा, अभिनय र संगीतले मेरो मन छोयो । राजनीतिज्ञहरूले पनि यो चलचित्र हेर्नुपर्छ भन्ने मेरो सुझाव रहेको छ ।’






