अस्पताल सञ्चालनको पर्खाइमा चन्द्रकोटबासी

‘म आफैलाई सुगर छ, नियमित चेकजाँच र औषधी लिनको लागि बुटबल जानुपर्छ ।’ चन्द्रकोट गाउँपलिका –६ हरेवाकी लिलमाया शर्माले भनिन्, ‘घरैअगाडी १५ शैयाको अस्पताल बनेको छ, संचालनमा नआउँदा सेवा लिन पाइएको छैन ।’ उनले अस्पताल बनाउने समयमा आफुहरुले गरिखाने खेत माया मारेर अस्पतालको लागि जग्गा दिए पनि अहिले संचालनमा नआउँदा दुख लागेको बताइन् ।

शर्माको घरबाट नवनिर्मित १५ शैयाको चन्द्रकोट अस्पताल पाँच मिनेटभन्दा कम दुरीमा छ । तर निर्माण सम्पन्न भएपछि आफुहरु अस्पताल संचालनकै पर्खाइमा हुँदा शर्माले त्यसको उपभोग गर्न पाएकी छैनन् । उनले नजिकैको अस्पताल संचालनमा आए आफुजस्ता अन्यलाई पनि औषधी लिनको लागि बुटबलसम्म जाने–आउने समय र पैसाको बचत हुने बताइन् । ‘अस्पताल बनेपछि गाउँ नै उज्यालो बनेको छ ।’ उनले भनिन्, ‘अब सकेसम्म छिटो संचालनमा आउनुपर्छ ।’ गाउँमै अस्पताल बन्ने भएपछि शर्माले निःशुल्क रुपमा चारआना जग्गा पनि प्रदान गरेकी थिइन् ।

२०७७ मंसिर १५ मा देशभरका तीन सय ९६ पालिकामा एकैसाथ पाँच, १० र १५ शैयाका आधारभूत अस्पतालको शिलन्यास गरिएको थियो । जसमा चन्द्रकोट गाउँपालिका–६ मा १५ शैयाको आधारभूत अस्पतालको तत्कालिन परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले शिलन्यास गरेका थिए । हाल अस्पताल निर्माण सम्पन्न भएपछि चन्द्रकोटबासी संचालनको पर्खाइमा रहेका छन् ।

अर्का स्थानीय कुमार बहादुर सार्कीले अस्पताल संचालन नहुँदा उपचारको लागि पाल्पा वा बुटबल धाउनुपर्ने बाध्यता रहेको सुनाए । उनले अस्पताल संचालनको लागि प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने बताए । ‘चन्द्रकोटमा मात्रै होइन, देशैभरका १५ शैयाका अस्पतालहरुको हालत यस्तै छ ।’ उनले भने, ‘यति ठूलो अस्पताल पालिका एक्लैले संचालन गर्न सक्दैन, प्रदेश र केन्द्र सरकारले पनि सहयोग गर्नुपर्छ ।’ यदि समयमै अस्पताल संचालन नगरे बनेका संरचनाहरु प्रयोग बिहीन भएर जीर्ण हुनसक्ने जोखिम रहेको उनले सुनाए । सोही वडाका पूर्व वडाध्यक्ष गोकर्ण शर्माले अस्पताल संचालनमा आएमा चन्द्रकोट गाउँपालिकाका सबै एवं छिमेकी पालिका र जिल्लाका नागरिक समेत लाभाम्बित हुने बताए । ‘छिटोभन्दा छिटो अस्पताल संचालनमा आउनुपर्छ ।’ उनले भने, ‘संविधानमा लेखिएको नागरिकको स्वास्थ्यसम्बन्धि हकको राज्यले प्रत्याभूति दिलाउनुपर्छ ।’ उनले अस्पताल छिटो संचालन हुने आशाले गर्दा नै आफुहरुले पहल गरेर जग्गा उपलब्ध गराएको स्मरण गरे ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर ६ मा तुल्सिभक्त अर्जुन व्युल्डर्स जेभी, तम्घासले भ्याटसहित १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपँैया ३३ पैसामा १५ शैयाको भवन निर्माण गरेको हो । भवनको २०७८ असार १० गते सम्झौता भई ०८१ असार १० गते सक्नुपर्ने थियो । तर एक बर्ष म्याद थप भई यही असार १० गते निर्माण व्यवसायी विजय खनालले पालिकालाई उक्त अस्पताल हस्तान्तरण गरे ।

अस्पताल निर्माणबापत व्यवसायीलाई १२ करोड ९२ लाख ३८ हजार एक सय २७ रुपैँया भुक्तानी गरिएको छ । चन्द्रकोटमा अस्पतालको साथसाथै डाक्टर बस्ने दुईतले आभास भवन पनि निर्माण गरिएको छ । त्यसरी निर्माण गरिएको अस्पताल हाल संचालनको पर्खाइमा रहेको छ ।

गाउँपालिका अध्यक्ष युवराज केसीले अस्पताल संचालनको लागि डाक्टरको विज्ञापन खुलाउने गरी बजेट स्वीकृत गरेको बताए । एउटा पालिका र अर्को प्रदेश सरकारले डाक्टरको व्यवस्थापन गर्ने गरी तयारी भइरहेको उनको भनाई छ । ‘शान्तिपुरको बर्थिङ सेन्टर, ल्याब र आयुर्वेद सेवालाई पनि १५ शैयाकै अस्पतालबाट सेवा दिने योजना छ ।’

अध्यक्ष केसीले भने, ‘त्यसको लागि शान्तिपुर बजारदेखि अस्पतालसम्म निःशुल्क यातायात सेवा संचालन गर्ने तयारी गरेका छौँ ।’ उनले नागरिकको स्वास्थ्य सेवाप्रति आफुहरु गम्भीर रहेकोले सकेसम्म छिटो अस्पताल संचालन गर्न चाहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

epaper

ताजा समाचार

एकैपटक नारायणी अस्पतालका सबै चिकित्सकले किन दिए राजीनामा ?