भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका किसानलाई पक्की सिँचाइ कुलो निर्माण भएपछि सहजता भएको छ । यस क्षेत्रमा निर्माण थालिएका आठवटा सिँचाइ कुलोमध्ये चारवटा सम्पन्न भएर सञ्चालनमा आएपछि किसानलाई राहत मिलेको हो ।
अरुण गाउँपालिकामा साना सिँचाइ कार्यक्रममार्फत स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, स्वीस सरकार र स्थानीयवासीको जनसहभागितामा सिँचाइ कुलो निर्माणको काम भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीले जानकारी दिए ।
स्वीस सरकारको ३० प्रतिशत, स्थानीय सरकार, प्रदेश, केन्द्र सरकारको २०–२० प्रतिशत र स्थानीयको १० प्रतिशत जनश्रमदानसहित साझेदारीमा सिँचाइ कुलो निर्माणको काम भइरहेको प्रशासकीय अधिकृत जिमीले बताए ।
‘लागत साझेदारीमा सिँचाइ कुलो निर्माण गरिरहेका छौं,’ प्रशासकीय अधिकृत जिमीले भने, ‘सिँचाइका माध्यमबाट कृषिमा प्रोत्साहन गर्ने हाम्रो लक्ष्य छ, सिँचाइको राम्रो व्यवस्था भएपछि धान, मकैलगायत बालीसँगै किसानलाई तरकारी तथा फलफूल खेतीमा लाग्न सहयोग पुग्नेछ ।’
सबै सिँचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारी मात्र ७१ लाख रुपैयाँ विनियोजन भएको उनको भनाइ छ । पक्की कुलो निर्माण भएपछि पानीको चुहावट हुने समस्याबाट किसानमुक्त भएको उनले जानकारी दिए ।
अरुण गाउँपालिका–७ मा हंग्रायो खोला बाह्रसिंगे सिँचाइ आयोजना सम्पन्न भएर सञ्चालन आएपछि किसानलाई राहत मिलेको वडाध्यक्ष कुमार थापाले बताए । यसले सुक्खा क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उनको भनाइ छ ।
‘हंग्रायो खोला बाह्रसिंगे सिँचाइ आयोजना सम्पन्न भएर सञ्चालनमा आएको छ,’ वडाध्यक्ष थापाले भने, ‘कुलो निर्माणले यहाँका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको छ, यस कुलोले सुक्खा क्षेत्रमा सुविधा पुग्नेछ ।’
वडाले पनि सुक्खा क्षेत्रमा पानी सञ्चित पोखरी निर्माण गरेर सिँचाइका लागि कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ ।
हंग्रायो खोला बाह्रसिंगे सिँचाइ आयोजना स्वीस सरकार, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार र स्थानीयको जनश्रमदानसहित २६ लाख ७० हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको वरिष्ठ प्राविधिक अधिकृत सुस्मिता लाप्चाले जानकारी दिइन् । यो सिँचाइ आयोजनाले यस क्षेत्रका १ सय रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्ने तथ्यांक रहेको उनको भनाइ छ ।
यसै वर्ष वडा नं ४ मा २७ लाख ८५ हजार रुपैयाँ लागतमा मामालुङ माथिल्लो कुलो, वडा नं ६ मा १४ लाख ४ हजार रुपैयाँ लागतमा कुताङ कुलो र वडा नं २ मा ९१ लाख १९ हजार रुपैयाँ लागतमा ज्यामिरे कुलो निर्माण सम्पन्न भएको लाप्चाले जानकारी दिइन् ।
प्रशस्त मात्रामा खेतीयोग्य जमिन भए पनि सिँचाइ अभावमा समस्या भएपछि सुक्खा ग्रस्त क्षेत्रमा सिँचाइ कुलो निर्माणको काम अघि बढाइएको अरुण गाउँपालिका अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए ।
सिँचाइ व्यवस्थासँगै किसानलाई व्यावसायिक खेती प्रणालीमा लाग्न गाउँपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष खत्रीको भनाइ छ । आफ्नो कार्यकालमा १६ वटा सिँचाइ कुलो निर्माण भएको अध्यक्ष खत्रीले बताए । यसले बाँझो भएका खेतबारी प्रयोगमा ल्याउन सहयोग पुग्ने अध्यक्ष खत्रीको भनाइ छ ।
‘अरुण गाउँपालिकामा धेरै खेतीयोग्य भूमि छन्,’ अध्यक्ष खत्रीले भने, ‘पर्याप्त सिँचाइ सुविधा नहुँदा किसानलाई समस्या छ, यहाँका सुक्खा क्षेत्रमा सिँचाइ सुविधा विस्तारका लागि काम गरिरहेका छौं, सिँचाइको सुविधा विस्तारपछि यहाँका बाँझो जमिन प्रयोगमा आउने अपेक्षा लिएका छौं ।’






