‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयन, ‘वान्तवा भाषा पाठ्यक्रम’ निर्माण हुँदै

इलाम । ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषा र आधारभूत तहमा ‘स्थानीय पाठ्यक्रम’ र ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयनमा ल्याएकोे माङसेबुङ गाउँपालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ निर्माण गर्ने तयारी थालेको छ ।

लिम्बू समुदायको बाहुल्य रहेको माङसेबुङ गाउँपालिका–५, लारूम्बामा सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषा कार्यान्वयनमा छ भने माङसेबुङको आधारभूत तहमा ‘लिम्बू भाषा पाठ्यक्रम’ कार्यान्वयन भईरहँदा पालिकाले ‘वान्तवा भाषा पाठ्यक्रम’ त्याउने तयारी थालेको हो । त्यसका लागि माङसेबुङले ‘वान्तवा भाषा पाठ्यक्रम’ निर्माण गर्न कार्यदल गठन गरिसकेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताए ।

अध्यक्ष राईका अनुसार कार्यदलमा जीवनज्योति माविका प्रधानाध्यापक मदनकुमार राईको संयोजकत्वमा शिक्षक उदय राई, सकुन्ताला राई, अम्बिकाप्रसाद राई, पूर्व शिक्षक गुञ्जकुमार राई र शिक्षा अधिकृत (छैठौं) युवराज खनाल रहेका छन् ।

कार्यदललाई भदौ मसान्तसम्ममा पाठ्यक्रम निर्माण गरिसक्न निर्देशन दिइएको अध्यक्ष राईले बताए । पाठ्यक्रम निर्माणको सम्पूर्ण जिम्मेवारी कार्यदललाई दिइएको अध्यक्ष राईको भनाई छ । कार्यदलले पाठ्यक्रम तयार गरेपछि कार्यपालिकाबाट स्वीकृत गरेर कार्यान्वयनमा लैजाने अध्यक्ष राईले बताए ।

यसअघि माङसेबुङ गाउँपालिकाले आधारभूत तह (कक्षा १–८) सम्म स्थानीय पाठ्यक्रम ‘हाम्रो माङसेबुङ’ निर्माण गरी ऐच्छिक विषयका रुपमा सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन गर्दै आएको छ । त्यस्तै, आधारभूत तह (कक्षा १–५) सम्म लिम्बू भाषाको पाठ्यक्रम निर्माण गरी चारवटा विद्यालयमा पठनपाठन गर्दै आएको छ ।

माङसेबुङले वडा नं. ३ स्थित पवित्रा आधारभूत विद्यालय, वडा नं. ५ स्थित सरस्वती माध्यमिक विद्यालय, साम्जिक मुन्धुम आधारभूत विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पाठ्यक्रम पठनपाठन गर्दै आएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले बताए ।

माङसेबुङमा सामुदायिकतर्फ माध्यमिक विद्यालय (कक्षा १–१२) तीनवटा, माध्यमिक विद्यालय कक्षा (१–१०) सातवटा, आधारभूत विद्यालय (कक्षा १–८) १६ वटा, र आधारभूत विद्यालय (कक्षा १–५) सम्मका चारवटा विद्यालय छन् । संस्थागततर्फ माध्यमिक विद्यालय कक्षा (१–१०) दुई र आधारभूत विद्यालय (कक्षा १–८) का दुईवटा विद्यालय छन् ।

तपाइको प्रतिक्रिया
(Visited 88 times, 1 visits today)

epaper

ताजा समाचार

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन