खोटाङमा डेंगु संक्रमण बढेपछि लामखुट्टे नियन्त्रण अभियान सुरु

खोटाङमा संञ्चालन गरिएको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सहभागी सरोकारवालाहरु । तस्बिरः जिल्ला प्रहरी कार्यालय खोटाङको फेसबुक पेज

खोटाङ । पछिल्लो एक महिनाको अवधिमा जिल्ला अस्पताल खोटाङमा भर्ना भएका बिरामीमध्ये १२ जनामा डेंगुको संक्रमण देखिएपछि खोटाङमा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको छ । स्वास्थ्य कार्यालय खोटाङको नेतृत्वमा सञ्चालन भइरहेको अभियानमा जिल्लाका सबै निकायहरूको सहभागिता रहेको छ ।

अभियानको पहिलो दिन सोमबार दिक्तेल बजारका विभिन्न चोकमा सञ्चालित ग्यारेजहरूमा पुगेर लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गरिएको छ । दिक्तेलस्थित अस्पताल चोकबाट सुरु भएको अभियान अल्छेढुंगा हुँदै किरात चोक आसपासका ग्यारेज तथा बजार क्षेत्रमा सरसफाइ गर्दै हाटडाँडामा पुगेर समापन गरिएको छ ।

लार्भा नष्ट गर्ने यस अभियानमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, उद्योग वाणिज्य संघ, होटल व्यवसायी र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो । अभियानका क्रममा स्थानीयवासी तथा व्यवसायीहरूलाई डेंगुको प्रभाव, सर्ने तरिका तथा बच्ने उपायका ’boutमा जानकारी दिइएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन चौलागाईंले जानकारी दिए ।

खोटाङमा संञ्चालन गरिएको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सहभागी सरोकारवालाहरु । तस्बिरः जिल्ला प्रहरी कार्यालय खोटाङको फेसबुक पेज

जिल्लामा डेंगुको संक्रमण बढ्न थालेपछि स्वास्थ्य कार्यालय खोटाङले आइतबार जिल्लास्थित सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । डेंगु रोग नियन्त्रणका लागि लामखुट्टे फैलन नदिनु नै सबैभन्दा प्रभावकारी उपाय भएकाले जिल्लाभर लामखुट्टेको लार्भा नष्ट अभियान सञ्चालन गर्ने निर्णय गरिएको थियो ।

स्वास्थ्य कार्यालय खोटाङले सुरु गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान जिल्लाका दश वटै स्थानीय तहमा सञ्चालन गर्न पत्राचार गरिसकेको जनाइएको छ । डेंगुको संक्रमण भएका व्यक्तिमा आँखाको पछाडिको भाग दुख्नु, वाकवाकी लाग्नु, मांसपेशी हड्डी तथा जोर्नी दुख्नु, शरीरका ग्रन्थीहरू सुन्निनु, छाला रातो हुनुका साथै छालामा डाबर आउनु जस्ता लक्षणहरू देखिने स्वास्थ्यकर्मीहरूले बताएका छन् । डेंगु रोगको संक्रमण नियन्त्रण गर्न खास उपचार नभएकाले आफै सचेत रहनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।

डेंगु रोगको संक्रमण भएमा प्रशस्त पानी र तरल पदार्थ पिउन, सकेसम्म धेरै आराम गर्न र ज्वरो नियन्त्रण गर्नका लागि सिटामोल प्रयोग गर्न स्वास्थ्यकर्मीहरूको सुझाव छ । जिल्लामा १४ जना बिरामीमा स्क्रबटाइफसका संक्रमण समेत भेटिएको स्वास्थ्य कार्यालय प्रमुख चौलागाईंले जानकारी दिए । डेंगु र स्क्रबटाइफसका संक्रमण देखिएका बिरामीमध्ये दुई दुई जनाको जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौँ रिफर गरिएको जनाइएको छ । स्क्रबटाइफसको संक्रमणले टाउको दुख्ने, ज्वरो आउने, हात खुट्टा र शरीर दुख्ने जस्ता भाइरल ज्वरोसँग मिल्दोजुल्दो लक्षणहरू देखिने जनाइएको छ ।

स्क्रबटाइफस माइट किराको टोकाइबाट सर्ने र उपचारमा ढिला भएको खण्डमा जोखिम हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् । अस्पतालका प्रमुख डा. रुपेश संग्रौलाका अनुसार जिल्ला अस्पताल खोटाङमा पछिल्लो समय विभिन्न समस्या लिएर दैनिक १५० देखि २०० जनासम्म बिरामी उपचारका लागि आउने गरेको छ । उपचारमा आउने बिरामीहरूका लागि अस्पतालमा आवश्यक उपकरण र शैयाको अभाव हुँदा उपचारमा समस्या हुने गरेको उहाँको भनाई छ ।

खोटाङमा संञ्चालन गरिएको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सहभागी सरोकारवालाहरु । तस्बिरः जिल्ला प्रहरी कार्यालय खोटाङको फेसबुक पेज

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ