काठमाडौं । छायांकार शैलेन्द्र ध्वज कार्कीले आफ्नो निर्माण निर्देशन र छायांकनमा नयाँ चलचित्र ‘पोखरेली मसिनो’ सुरु गरेका छन् । यो चलचित्रको सोमबार ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मुहूर्त गरियो ।
चलचित्रको छायांकनको लागि आफ्नो टिम मंगलवार पोखरा लाग्ने निर्देशक शैलेन्द्रले राजधानीलाई जानकारी गराए । यो चलचित्रको बुधवारबाट पोखरा र आसपासको क्षेत्रमा छायांकन सुरु हुने छ ।
‘पोखरेली मसिनो’ मा प्रविण खतिवडा, अनिल सुब्बा, माओत्से गुरुङ, टिका पहाडी, परीक्षा लिम्बु, हिउँवाला गौतम, अविरल प्रताप अधिकारी, अंकित खड्का, अभय बराल, साजन थापा मगरलगायतका कलाकार रहेका छन् ।
यो चलचित्रमा शैलेन्द्रसँग उनकी पत्नी एवम् अभिनेत्री शान्ति गिरी निर्देशक रहेकी छिन् । यस अघि फिटकीरी, मनसरा जस्ता चलचित्रको अभिनेत्री रहेकी उनी नाट्यकर्मी पनि हुन् । यस पटक भने आफू र श्रीमती मिलेर चलचित्र निर्देशन गर्न लागेको पनि शैलेन्द्रले जानकारी गराए ।
शैलेन्द्रका अनुसार यो चलचित्रमा बाउ र छोरीको संघर्षको कथा देखाइने छ । जु अन्तर्गत हरेक बाउ आमाको छोरा छोरी प्रतिको दायित्वको कथा यो चलचित्रमा प्रस्तुत गरिने जानकारी दिँदै उनले भने, ‘मेरो छोरा छोरीले सधैँ पोखरेली मसिनो चामलको भात खान पाउन् भन्ने चाहना हरेक नेपाली आमा बुबाको हुन्छ । सोही चाहना अनुसारको कथा यो चलचित्रमा रहेको छ ।’
थ्रिलर जनराको यो चलचित्रमा सामाजिक कथा रहने उनले बताए । ३० दिनमा छायांकन सक्ने लक्ष्य रहेको यो चलचित्रलाई आउँदो वर्षमा रिलिज गर्ने पनि निर्देशक शैलेन्द्रले जानकारी दिए ।






