काठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन व्यवस्थापन तथा सहजीकरणको लागि सातै प्रदेशमा निर्वाचन संयोजक तोकेको छ।
केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले सात जना वरिष्ठ अधिवक्तालाई प्रदेशगत निर्वाचन संयोजकको जिम्मेवारी प्रदान गरेको जानकारी दिएका छन्।
समितिका अनुसार कोशी प्रदेशको निर्वाचन संयोजकमा डिल्लीबहादुर कार्की, मधेश प्रदेशमा बलराम सुवेदी, बागमती प्रदेशमा कृष्ण अर्याल तथा गण्डकी प्रदेशमा जगन्नाथ ढकाललाई जिम्मेवारी दिइएको छ।
त्यस्तै लुम्बिनी प्रदेशमा दीपकुमार रेग्मी, कर्णाली प्रदेशमा उत्तम आचार्य र सुदूरपश्चिम प्रदेशमा गंगाराम पाध्यायलाई निर्वाचन संयोजक तोकिएको छ।
महाधिवेशनको कार्यतालिका अनुसार वडा तहदेखि विभिन्न तहका अधिवेशन समयमै सम्पन्न गराउन केन्द्रीय निर्वाचन समितिले पार्टीका स्थानीय संरचनालाई आवश्यक समन्वय गर्न निर्देशनसमेत दिएको छ। केन्द्रबाट खटाइएका निर्वाचन अधिकृतसँग समन्वय गरी निर्धारित मितिमा अधिवेशन सम्पन्न गर्न वडा, स्थानीय तह तथा जिल्ला तहका पार्टी संरचनालाई पत्राचार गरिएको खड्काले बताएका छन्।
केन्द्रीय निर्वाचन समितिले असोज ३ र ४ गते गाउँ तथा नगर वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। स्थानीय परिस्थितिअनुसार तोकिएको अवधिभित्र वडा अधिवेशन सम्पन्न गर्न सकिने समितिले जनाएको छ।
त्यसपछि असोज ७ गते गाउँ तथा नगर अधिवेशन तथा असोज १० गते प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ।
नेपाली काँग्रेसले असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ।
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका हकमा भने स्थानीय अवस्थालाई ध्यानमा राखेर केन्द्रबाट खटाइएका निर्वाचन अधिकृत र पार्टीका स्थानीय संरचनाबीच समन्वय गरी अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ।
काँग्रेसले जिल्ला अधिवेशन र प्रदेश अधिवेशन भने १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि गर्ने जनाएको छ।
सम्बन्धित समाचार
प्रधानमन्त्री शाह र अष्ट्रेलियाका समकक्षी अल्बानिजबीच टेलिफोन वार्ता
प्रचण्डले भने– राज्यका निकायहरू अन्योलमा छन्, सरकारको लक्षण राम्रो छैन
उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
प्रभावित क्षेत्रमा पुनर्निर्माणको महाअभियान चलाउँछौँः अर्थमन्त्री वाग्ले
चौधरी ग्रुप र नबिलले गरे बाढीग्रस्त क्षेत्रमा १५ करोडको राहत तथा पुनर्स्थापना योजना घोषणा
देशैभरी मध्यम तथा भारी बर्षा हुने
सांसद आशिका तामाङ र वडाध्यक्षबीच किन भयो भनाभन ?
भोटेकोशी बाढीमा ७८८ शव फेला, दुई हजार ७४२ जनाको उद्धार






