काठमाडौं । यस अघि एउटा मात्र प्रदर्शन घर रहेको कीर्तिपुरको ‘कीर्तिपुर सिनेप्लेक्स’ ले दोस्रो चलचित्र घर (हल) बिहीबारबाट सञ्चालनमा ल्याएको छ ।
सो नयाँ चलचित्र घरको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले बिहीबार उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालमा हाल १६८ वटा चलचित्र घरहरू सञ्चालनमा रहेको र अबको एक वर्षभित्र यो संख्या बढाएर २०० भन्दा बढी पु¥याउने पनि उनले बताए । धेरै ठाउँमा बन्द भएका पुराना चलचित्र घरलाई सञ्चालनको लागि बोर्डले मद्दत गर्दै विभिन्न सुविधाको प्याकेज पनि ल्याएको डिसीले बताए । यस्तै नयाँ सहरमा नयाँ चलचित्र घर खोल्न पनि बोर्डले विभिन्न सुविधा प्रदान गर्ने उनले जानकारी गराए ।
सो चलचित्र घरका सञ्चालक नरेन्द्र महर्जनले आफ्नो यो नयाँ चलचित्र घर १०१ सिट क्षमताको भएको जानकारी गराए । यो चलचित्र घरमा बार्को प्रोजेक्टर, पल्सको ७.१ पद्धतीको ध्वानी प्रणाली, सुविधायुक्त सिटहरू सहित थ्रीडी प्रविधि समेत जडान गरिएको पनि महर्जनले बताए ।
सञ्चालक महर्जनका अनुसार ‘कीर्तिपुर सिनेप्लेक्स’को पहिलो हलमा २८५ वटा सिट थियो । अब यो नयाँ थपिएपछि कीर्तिपुर सिनेप्लेक्ससँग ३८६ सिट संख्या एको छ । यो चलचित्र घर शुक्रवारबाट नयाँ चलचित्र ‘रिमै’को प्रदर्शनसँगै सर्वसाधारणका लागि खुला गरिने पनि उनले जानकारी गराए । सो उद्घाटन कार्यक्रममा बोल्दै महर्जनले व्यापार मात्र नभएर चलचित्र क्षेत्रको विकासको लागि पनि दोस्रो चलचित्र घर थप गरिएको बताए ।






