धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले शिक्षाको गुणस्तर सुधारका लागि बजेटको समानुपातिक तथा आवश्यकतामा आधारित वितरण गर्नुपर्ने बताएका छन् ।
वर्ल्ड भिजनको समन्वयमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको प्रदेशस्तरीय विद्यालय दिवा खाजा सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले शैक्षिक सुधारसँगै विद्यालयका भौतिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताए ।
कतिपय विद्यालयमा आवश्यकताभन्दा बढी भौतिक संरचना निर्माण हुने तर कतिपय विद्यालयमा आधारभूत पूर्वाधारसमेत अभाव रहेको उल्लेख गर्दै उनले यस्तो असमान अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । ‘कतै भवनै भवन हुने र कतै भवनको अभाव हुने गरी बजेट वितरण हुनुहुँदैन,’ उनले भने ।
मुख्यमन्त्री भट्टले प्रदेशमा विकास बजेटको प्रभावकारी कार्यान्वयनसँगै सुशासन कायम गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले नेपाल पत्रकार महासंघ र सञ्चारकर्मीलाई सुशासनका पक्षमा साथ दिन तथा सरकारका कामकारबाहीमा निरन्तर खबरदारी गर्न आग्रह गरे ।
सरकारका नीति तथा योजना अझै अपेक्षाअनुसार परिणाममुखी बन्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री भट्टले यही कमजोरीका कारण विद्यालय दिवा खाजा कार्यक्रमसमेत अपेक्षाकृत प्रभावकारी बन्न नसकेको बताए । उनले दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन आवश्यक रहेको बताए ।
‘भोको पेटले पहिले शिक्षा होइन, खाना खोज्छ,’ मुख्यमन्त्री भट्टले भने, ‘त्यसैले विद्यालयमा अध्ययन गर्ने बालबालिकाको पोषण र शिक्षालाई सँगसँगै अघि बढाउन दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउनुपर्छ ।’
राष्ट्रलाई सही दिशामा अघि बढाउन दृढ संकल्प र इच्छाशक्ति आवश्यक रहेको बताउँदै उनले प्रदेश निर्माणको अभियानमा सबैले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भएर योगदान गर्नुपर्नेमा जोड दिए ।
सुदूरपश्चिमको समग्र विकास र समृद्धिका लागि दृढ इच्छाशक्तिका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री भट्टले प्रदेश सरकारका नीति, योजना तथा कार्यक्रमलाई क्रमशः परिणाममुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित समाचार
विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई
विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिने
नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा पौडेल
नेपालमा पहिलो पटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण
विश्वविद्यालयको सयौँ बिघा जग्गा अतिक्रमणमा
बाल शल्यचिकित्सकबीच अन्तरक्रिया
सुदूरपश्चिमका ६ हजार मिटरभन्दा अग्ला हिमालको ‘पिक प्रोफाइल’ बनाउन पर्वतारोहण संघको माग
भाडामा मान्छे खोजेर श्रीमानको हत्या, टुक्राटुक्रा पारेर शव कर्णालीमा बगाइयो






