पोखराको होटल क्षेत्रमा मात्रै ३ अर्बको क्षति

पोखरा । जेनजी आन्दोलनका क्रममा पोखराका होटल क्षेत्रमा मात्र ३ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

गत मंगलबार जेन–जी आन्दोलनमा हिंसात्मक घटनाका कारण पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका विभिन्न होटल तथा रिसोर्टमा तोडफोड तथा आगजनी गरिएको थियो । जसबाट होटल सरोवर, होटल एडम्, होटल पोखरा गुडविल, वरपीपल रिसोर्ट, बगैंचा रिसोर्ट एण्ड स्पा लगायत अन्य प्रतिष्ठानमा ठूलो क्षति पुगेको छ ।

होटल संघ पोखरा नेपालले समग्रमा पोखराका होटल क्षेत्रमा मात्र ३ अर्ब बराबरको क्षतिको अनुमान गरिएको जनाएको छ । संघका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले शुक्रबार विज्ञप्ति जारी गर्दै आगजनीका कारण प्रतिष्ठानबाट सेवा लिँदै गरेका पर्यटकसमेत प्रभावित हुन पुगेको र त्यस बराबरको क्षति भएको जनाएका हुन् ।

पर्यटकीय प्रतिष्ठानमाथि भएका घटनाको निष्पक्ष छानविन गरी उचित क्षतिपूर्ति दिलाउन सरकार लगायत इन्स्यारेन्स कम्पनी र सम्बन्धित सरोकारवाला पक्षसँग संघले अपिलसमेत गरेको छ । शक्तिशाली अधिकारप्राप्त न्यायिक समिति गठन र आक्रमणकारीको पहिचान गरी कारबाहीसहित उचित क्षतिपूर्ति दिलाई प्रभावित होटलहरूको मर्मत–सम्भार तथा पुनर्निर्माणका लागि सरकार, इन्स्योरेन्स, बैंक तथा वित्तीय संस्थाहरुसँग समन्वय गर्ने कार्यमा सदैव साथ र सहयोग रहने विश्वास समेत संघले दिलाएको छ ।

बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा, ऋण तिर्न पनि व्यवसायीहरु असमर्थ हुने अवस्था आएको जनाउँदै संघले व्यावसायिक सुरक्षा कायम राख्न सरकारसँग माग गरेको छ ।

पोखरा र यस आसपासमा हाल १२ सय होटल संचालित छन् । पर्यटकीयस्तरका मात्रै ७ सय छन् । तीमध्ये करिब साढे ४ सय संघमा आबद्ध छन् । जेनजी आन्दोलनका क्रममा पोखराका अधिकांश सरकारी कार्यालय तथा केही व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनी गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 316 times, 1 visits today)

epaper

ताजा समाचार

नेपालतर्फको हिमनदी भत्किँदा विपत्ति आएको होः चिनियाँ विदेश मन्त्रालय