आजबाट चलचित्र घर सञ्चालनमा, आन्दोलनबाट १७ करोड क्षति

काठमाडौं । ‘जेनजी’ पुस्ताको आन्दोलनका कारण २४ भदौ सोमबार बेलुकाबाट बन्द रहेका नेपाल भरका चलचित्र प्रदर्शन घरहरू आज सोमबारबाट खुल्ने भएका छन् । बन्द भएको एक सातापछि चलचित्र घर खुल्न लगेका हुन् ।

चलचित्र घर सञ्चालकहरूको छाता संस्था नेपाल चलचित्र संघले मुलुक भरका चलचित्र घर सोमबारबाट खोल्ने निर्णय आइतबार गरेको हो । संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार आइतबारबाट मुलुकको जनजीवन सामान्य हुन थालेपछि सोमबारबाट मुलुक भरका चलचित्र घर खुल्न लगेका हुन् । जसका लागि चलचित्र घरहरूले आइतबार बेलुकाबाटै अग्रिम टिकट बुकिङ खोलेका छन् ।

मुलुक भर अहिले १७२ वटा चलचित्र घरहरू सञ्चालनमा छन् । जस मध्य केही चलचित्र घरमा ‘जेनजी’ आन्दोलनका कारण आगलागी भएर क्षति पुगेको छ । केही चलचित्र घरका टिकट काउन्टर तोडफोड गर्नुका साथै जलाइएको छ । ती चलचित्र घरबाहेक सुरक्षित अवस्थामा रहेको बाँकी चलचित्र घर सोमबारबाट सञ्चालनमा आउने पनि अध्यक्ष महर्जनले बताएका छन् ।

बिहानबाट चलचित्र घर खोले पनि अहिलेको अवस्था सामान्य नभएसम्मका लागि आफ्नो चलचित्र घर बेलुका १० बजे भित्र बन्द गरिसक्न पनि नेपाल चलचित्र संघले चलचित्र घर सञ्चालकहरूलाई आग्रह गरेको छ । कतिपय स्थानमा प्रहरी चौकी समेत जलेर सुरक्षा व्यवस्था राम्रो नभएकाले राती १० बजेपछि चलचित्र घर बन्द गर्नै पर्ने निर्देशन संघले दिएको छ ।

जेनजी आन्दोलनका कारण गत शुक्रबार रिलिज हुने ‘अभिमन्यु ः चप्टर १’ र संविधान दिवसको अवसर पारेर ३ असोजमा रिलिज हुने नेपाली चलचित्र ‘जारी २’को प्रदर्शन स्थगित गरिएको छ । अब आगामी १३ असोजमा दसैँको अवसर पारेर मात्र नेपाली चलचित्र रिलिज हुने छन् । त्यति बेलासम्म चलचित्र घरमा यस अघि रिलिज भएका चलचित्र नै प्रदर्शन हुने पनि संघले जनाएको छ । यस अघि चलचित्र घरमा रिलिज भएका नेपाली चलचित्र ‘माग्ने बुढा’ ‘कोशेढुंगा’ र ‘मोहर’ अब नियमित प्रदर्शन हुनेछन् ।

यस्तै रिलिज भएको तीन दिनमै रोकिएको दयाहाङ राई र रिश्मा गुरुङको अभिनय रहेको नेपाली चलचित्र ‘रिमै’ पनि आजबाट नियमित रूपमा प्रदर्शन हुने यसका निर्माता बिरबल गुरुङले जानकारी गराएका छन् । यी सँगै गत साताबाट प्रदर्शनमा आएको बलिउड चलचित्र ‘बाघी ४’ पनि आजबाट नियमित रूपमा प्रदर्शन हुने यस चलचित्रका वितरण पक्षले जनाएको छ ।

यसैबिच नेपाली चलचित्र संघले ‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा क्षति भएका चलचित्र घरको विवरण र आर्थिक क्षतिको रिपोर्ट पनि सार्वजनिक गरेको छ । संघका अध्यक्ष नरेन्द्र महर्जनका अनुसार यो आन्दोलनमा सबैभन्दा ठुलो क्षति विराटनगरको भाटभटेनीमा रहेको ‘क्यूएफएक्स चलचित्र घर’मा भएको छ । भाटभटेनीमा आगजनी गर्दा यो चलचित्र घर जलेर पूर्ण रूपमा ध्वस्त भएको छ । जसबाट सञ्चालकलाई १५ करोड रुपैयाँ क्षति भएको चलचित्र संघले जनाएको छ ।

मुलुकका विभिन्न चलचित्र घरको टिकट बिक्री काउन्टर तोडफोड एवम् जलाइएको छ । जसबाट कुल १७ करोड रुपैयाँ बराबरको क्षति चलचित्र घरमा भएको पनि चलचित्र संघले जनाएको छ । गोंगबुस्थित ल्होत्से मलको भुइँतलामा रहेको आइएनआईको मल्टिप्लेक्सको टिकट काउन्टर, भक्तपुरको भाटभटेनीमा रहेको क्यूएफएक्स र बुटवलको भाटभटेनीमा रहेको क्युएफएक्स चलचित्र घरको बाहिर रहेका टिकट काउन्टर पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

epaper

ताजा समाचार

सुन्दरहरैँचामा ८६ सिटी सफारी चालकलाई नम्बरसहितको सुरक्षित ज्याकेट