बारा । मुलुकमा भ्रष्टाचार मौलाउदै गईरहेको बेला जेएनजी पुस्ताले गरेको आन्दोलनमा लुटतन्त्र प्रवृत्तिको सरकार ढल्न पुग्यो । यस्तो परिस्थितिमा पनि बारामा खुल्ला सिमानाकाको फाइदा तस्करसंगै सुरक्षा संयन्त्रले मज्जासंगै लिईरहेको तथ्यहरु बाहिरिएका छन ।
भारतसँग टासिएको सिम्रौनगढ नगरपालिकाको कोचर्वा देखि विश्रामपुर गाउपालिकाको मुसहर्वा नाकाको करिव ४० किलो मिटरको खुल्ला सिमा नाकामा तस्करको रजाई भएको छ । तस्करी रोक्ने जिम्मेवारी पाएको सुरक्षा संयन्त्रहरु पनि रकम कमाउनमै ध्यान केन्द्रित गरेको पाईएको छ ।
देश जलिरहेको बेला खुल्ला सिमानाकाबाट अवैध रूपमा चोरी निकासीका सामानहरू मोटरसाइकल, साइकलले ओसार्ने काम भएको देखिन्छ । राजस्व चुहावट गरि चोरी निकासीका समान प्रसौनी,फेंटा, कुकरभुका, कलैया, गञ्जभवानीपुर, सिम्रौनगढ,कोल्हबी लगायतको ठाउमा जम्मा गरी भाडाको पिकअप, रात्री बसहरूमा हेटौडा काठमाडौं लगायत देशको विभिन्न ठाउमा पठाउने गरेको पाईन्छ ।
हिन्दुहरूको महान पर्व दशै नजिकिदै जादा तस्करहरूले दशैमा खेल्न, विधुतिय तास, सिगरेट, कैटवरी, डेरीमिल्क, लगायत महङ्गा चकलेटहरू तस्करी हुने गरेको छ ।
तस्करहरुले लत्ताकपडा ,काजु,भारतीय फुल , चिनी, केराउ लगायतका समानको तस्करी समेत गर्ने गरेका छन ।
दशैमा हिन्दुहरुले माछा मासु खाने भएकोले स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने ( फर्मालोनिक माछा ) रसायन मिलाएको भारतका विभिन्न ठाउँका माछाहरू समेत तस्करी हुने गरेको छ । साथै भारतमा पाइने विभिन्न प्रजातिक फुलहरू समेत चोरबाटो हुदै तस्करी भईरहेको छ ।
भारतसंग टासिएको खुला नाका कोचर्वा, घोडासहन, छौडादानो, मटिअर्वा भएर कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुर, वडा-१२ शितलपुर, धर्मनगर हुदै तस्करीका समानहरु निर्वाध रुपमा फेटाको कुकुरभुका गाउ, कलैया गाउमा स्टोर हुने गरेको छ ।
तस्करहरुले भारतीय ब्रान(धानको भुष) समेत तस्करी गरेर नेपालका विभिन्न बियर उत्पादक उद्योगहरुमा पुर्याउने गरेको एकजना व्यापारीले बताए । तस्करहरुले चाइनिज स्याउ र कस्मेटिक्सका समानका साथै गाजा समेत भारततर्फ तस्करी गर्ने गरेका छन । गाजा तस्करको लागि कबहीगोठ देखी सिम्रौनगढ सम्मको सिमानाका सुरक्षित मानिएको स्वयं एकजना कारोबारीले बताए ।
तस्करहरुसंग सशस्त्र र नेपाल प्रहरीका जिल्ला प्रमुखहरुको पैसा स्थानीय युनिट ईन्चार्जहरुले मासिक रुपमा उठाएर बुझाउने गरेको स्रोतले दाबी गरेको छ । बिचौलियाको माध्यमले सशस्त्र र नेपाल प्रहरीका जिल्ला प्रमुख र प्रदेश प्रमुखहरूले पैसा उठाउने गरेको आरोप लाग्दै आएको छ । तस्करी नियन्त्रण गर्न नव नियुक्त गृहमन्त्रीलाई चुनौतीको विषय रहेको जानकारहरु बताउछन् ।
छोडादानो, कवहीगोठबाट पटक पटक फर्मालिन ग्यास भएको माछा, फुलहरूको तस्करी गरे वापत विगतमा प्रहरीले पिकअप सहित समातेर छोडेको प्रहरी माथि आरोप समेत लाग्दै आएको थियो । प्रहरी प्रमुख परिवर्तन सहित ति तस्कर पुन सक्रिय भएका छन् ।
माथिल्लो निकाय र मातहतका प्रहरी युनिटहरूमा मोटो नजराना बुझाएकोले नै तस्करहरूको मनोवल बढेको बुझिन्छ । ति तस्करले तल देखि माथि सम्म सेटिङ्ग कै अधारमा लाखौ रुपैया लगानी गरेको दावी गर्छन ।
सिमानाकाको सुरक्षाको लागि खटेका शसस्त्र प्रहरी, नेपाल प्रहरी ईमानदार भईदिए खुल्ला सिमाना सुरक्षित हुने नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास बताउछन् । निम्नस्तरका जिवन यापन गर्न दैनिक उपभोग्य वस्तु किनमेल गर्न जादा रोक्ने, तर रातिको समयमा ट्रक, मोटरसाइकलले समान ओसार्ने प्रवृत्तिले सिमानाकामा तैनाथ सुरक्षाकर्मीको ड्युटीमा प्रश्न चिन्ह खडा गरेको दास बताउछन् ।
माथिल्लो निकायको आदेश मान्नको लागि नाकामा खटेका सिपाहीहरू २० रुपैया उठाउन पनि पछि नहटेको दासले बताए ।
नाकामा सुरक्षाकर्मीको बावजुद तस्करले माछा, फुल, चकलेट, कपडा लगायतका समान राजस्व चुहावट रोक्न किन नसकेको विषयमा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जेएनजीको आन्दोलनले नाकामा तैनाथी कडा गरेको बताए । आफु स्वयम प्रत्येक खुल्ला सिमानामा गएर निरक्षण गरेको उनले दावी गरेको छन् । चोर बाटो खेतको बाटो भएर ल्याएको हुन सक्ने पौडेलले बताए ।
चोरी पैठारी पुर्णरूपमा रोक्नलाई त प्रत्येक खुल्ला सिमा नाकामा सिसिटिभी राखे पुर्ण रुपमा बन्देज गर्न सक्ने उनले भने । सिसिटिभी लगाउनु ठुलो कुरा नभएको, यसको मोनिटरिंग काकाबाट गर्ने विषयमा स्थानीय निकायसँग छलफलको विषय रहेको प्रमुख जिल्ला अधिकारीले बताए । सिमानाका शसस्त्र, नेपाल प्रहरीको निगरानी कडा पार्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
खुल्ला सिमानाकामा तस्करी नियन्त्रण गर्न कोचर्वा देखि मुसहर्वा सम्म सिमानाका जोडिएको प्रहरी चौकीहरू करिव १५ रहेको छ भने सशस्त्र प्रहरीको १२ वटा युनिटहरू रहेको छ । तब पनि लाखौको राजस्व संकलन गर्न असर्मथ देखिएको छ ।






